विषादीको बढ्दो प्रयोग र समाधान



ज्ञानमणि नेपाल कालोटोपी
अहिले भारतबाट आयात तरकारी र फलफूलमा विषादी जाँच नगरी नेपाल आउने गरेको विषयले निकै चर्चा पाएको छ । यो अहिलेको मात्र समस्या भने होइन । लामो समयदेखि यतातिर कसैको ध्यान गएको थिएन । तर असार लागेयता यो विषय किन यति चर्चाको विषय बन्यो भन्नेमा भने भन्सारमा विषादी जाँच गर्ने निर्णय सरकारले फिर्ता लिनु नै मुख्य रहेको छ ।

यति बेला बजारमा आएका कुनै कृषि उत्पादन छैन होला, जसमा विषादी प्रयोग नगरिएको होस् । विगत २ दशकदेखि विशेष गरी तरकारीमा विषादीको प्रयोग बढेकै छ, सँगै अन्य खाद्यान्नहरुमा पनि विषादी हाल्ने क्रम रोकिएको छैन । यसले मानव स्वास्थ्यका लागि मात्र हानि गरेको छैन, ठूलो मात्रामा आर्थिक क्षति पनि गराएको छ । वातावरण प्रदूषणको मुख्य कारक तत्वको रुपमा त यो रहेकै छ । तैपनि पछिल्ला दिनहरुमा यसको प्रयोगमा न्यूनीकरण आउन सकेको छैन । न वैकल्पिक व्यवस्था नै हुन सकेको छ । जसका कारण आज किसानको खेतदेखि सर्वसाधारणको भान्सासम्म नै विषादीको प्रवेश भएको छ ।

विषादी भन्नेबित्तिकै हामीलाई लाग्छ, कुनै पनि जीवित प्राणीको लागि खतरनाक तत्व हो । यसको गलत प्रयोगले मानिस मात्र नभएर जनावर र किरा फट्यांग्रासमेतको तत्कालै मृत्युसमेत हुन्छ । यसको प्रयोग घातक हुन्छ तर पनि आवश्यकताअनुसार प्रयोग गर्नु बाध्यता पनि छ । विशेष गरी किसानले यसको प्रयोग बढाएका छन् । यो धूलो वा तरल दुवै प्रकारले बजारमा सहजै किन्न सकिन्छ ।

किन प्रयोग हुन्छ विषादी ?
परम्परागत कृषि प्रणालीले बढ्दो जनसंख्यालाई नपुग्ने भएकाले कृषकहरु कृषिमा नयाँ प्रविधि प्रयोग गर्न बाध्य छन् । नयाँ प्रविधिलाई नयाँ बीउबिजन र रासायनिक मलको प्रयोग पनि धेरै नै गर्नुपर्ने हुन्छ । हाइब्रिड जातका कृषि उत्पादनहरुले वातावरणको परिवर्तनलाई सहजै पचाउन सक्दैनन् । त्यसपछि विभिन्न प्रकारका किरा–फट्यांग्राको प्रकोपले बालीनालीनै सखाप हुनेसम्मको अवस्था आउने गरेको हामीले देखे/सुनेकै कुरा हो ।

यस्ता समस्या आएपछि कृषकहरुले विषादीको प्रयोग गर्ने गरेका छन् । हुन त प्राकृतिक तरिकाले पनि कीटाणुको न्यूनीकरण गर्न सकिन्छ तर किसानले छिट्टै उत्पादन लिन सकिने होडबाजीले गर्दा विषादी प्रयोग बढाउँदै लगेको पाइएको छ । एकातिर यस्तो अवस्था छ भने अर्कातिर विषादी प्रयोगले वातावरणलाई नै दीर्घकालीन प्रभाव पनि पार्छ । मानिसलाई लाग्ने दीर्घरोगहरु क्यान्सर, मधुमेह, श्वासप्रश्वास, मृगौला फेललगायतको मुख्य कारण पनि विषादीको प्रयोग बढ्दो भएर नै हो । तर हामीले त्यतातिर खासै ध्यान पु¥याउन सकेका छैनौं । यसले गर्दा विषादी प्रयोग आज भीमकाय समस्याका रुपमा रहेको छ ।

विषादीको स्रोत के हो ?
हामीले प्रयोग गर्ने विषादी थोरै मात्र स्वदेशमा उत्पादन हुन्छ । बहुसंख्यक विषादी विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । प्राप्त एक तथ्यांकअनुसार नेपालमा विषादी भारत, चीन, जर्मनी, अमेरिका, बंगलादेशलगायतबाट आयात हुन्छ  । यी देशहरुबाट आर्थिक वर्ष २०७०÷०७१ मा १ अर्ब ७१ करोडको विषादी आयात गरिएको थियो । यस्तै ०७१÷७२ मा २ अर्ब १ करोडको आयात गरिएकोमा वर्ष ०७२÷७३ मा आयात बढेर २ अर्ब १४ करोड रुपियाँको विषादी नेपाल आएको छ  ।

अहिले भारतबाट आयात तरकारी र फलफूलमा विषादी जाँच नगरी नेपाल आउने गरेको विषयले निकै चर्चा पाएको छ । यो अहिलेको मात्र समस्या भने होइन । लामो समयदेखि यतातिर कसैको ध्यान गएको थिएन । तर असार लागेयता यो विषय किन यति चर्चाको विषय बन्यो भन्नेमा भने भन्सारमा विषादी जाँच गर्ने निर्णय सरकारले फिर्ता लिनु नै मुख्य रहेको छ ।

आर्थिक वर्ष ०७३÷७४ मा २ अर्ब ६१ करोड र गतवर्ष २ अर्ब ५१ करोड रुपियाँको विषादी आयात भएको थियो । चालू आर्थिक वर्षको हालसम्म यसको आयात र प्रयोग अस्वाभाविकरूपमा बढेको छ । तथ्यांकअनुसार यस अवधिमा २ अर्ब १५ करोड ९८ लाख रुपियाँको ४२ लाख ३४ हजार ५ सय किलो विषादी आयात भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा ८९ करोड ४६ लाख रुपियाँको ३० लाख २९ हजार ८ सय किलो मात्र आयात भएको तथ्यांक बताउँछ  । यसरी हेर्दा ५ वर्षको अवधिमा १२ अर्बभन्दा धेरैको विषादी आयात भएको देखिन्छ । विषादीले मानवस्वास्थ्यको लागि हानि गर्ने थाहा भए पनि यसको आयात र प्रयोगमा कमी आउन सकेको छैन, बरु होडबाजीजस्तै भएको छ ।

नियन्त्रणका लागि सरकारी पहल के छ ?
सरकारले पटक–पटक अर्गानिक खेतीमा जोड दिने र किसानहरुमा बढिरहेको विषादी–मोहलाई निरुत्साहित गर्ने नीति अघि सारेको निकै वर्ष भइसक्यो तर त्यसलाई कार्यान्वयन गर्न भने फलामको चिउरा चपाउनु जत्तिकै भएको छ । न यसको आयात घटेको छ, न किसानहरुले प्रयोग नै घटाएका छन् । सरकारले एक महिनाअघि मात्र भारतबाट आउने तरकारी र फलफूललगायत खाद्यान्नलाई परीक्षण गरेर मात्र भित्र्याउने निर्णय गरेको थियो । तर भारतीय दबाबका कारण आफ्नै निर्णयबाट सरकार पछि हटेपछि अहिले यो विषयले निकै चर्चा पाएको मात्र छैन सरकारको आलोचना पनि भएको छ ।

तैपनि बर्सेनि नारा भने निकै नै मीठा लगाएको सरकारले हालै मात्र अर्को एउटा निर्णय गरेको छ । उक्त निर्णयअनुसार नेपालमा प्रतिबन्धित २१ प्रकारको विषादीको आयात र प्रयोग गर्न नपाउने बताइएको छ । अबदेखि यस्ता विषादीको बिक्री वितरण गर्ने व्यक्तिले ५० हजारदेखि १ लाखसम्म जरिबाना तिर्नुपर्ने वा तीन महिनासम्म कैद वा दुवै सजायको भागीदार हुनेछन् ।

धेरैजसो विषादी खेतबारीमा कीटाणु मार्न प्रयोग गरिन्छ । अन्नबालीमा हालिएको विष बिस्तारै सर्वसाधारणको भान्सासम्म जान्छ । विषादी प्रयोगबारे पर्याप्त ज्ञान नहुँदा हामीले जानेर वा नजानेरै यसको सेवन गरिरहेका छौं । सरकारले सन् २००१ मा क्लोरोडेन, डीडीटी, डाइएल्ड्रिन, इन्ड्रिन अल्ड्रिन, हेप्टाक्लोर, माइरेक्स, टोक्साफेन, बीएचसी, लिन्डेन, फस्फामिडन, अर्गानो मर्करी कम्पाउन्डलगायतका विषादी नेपालमा प्रतिबन्धित गरेको थियो ।

त्यस्तै सन् २००७ मा मिथाइल पाराथियन, मोनोक्रोटोफस र सन् २०१४ मा इन्डोसलफान र फोरेटलगायतका २१ थरी विषादीलाई राजपत्रमा प्रकाशित गरी प्रतिबन्धित विषादीको सूचीमा सूचीकृत गरेको थियो । तर पनि यस्ता विषादीको आयात र प्रयोग अहिलेसम्म निरन्तर छ । यसले सरकारलाई चुनौती थपेपछि हालै मात्र यस्ता विषादी प्रयोगमा कडाइ गर्ने सरकारले जनाएको छ । नियन्त्रण गर्न सकिने वा नसकिने भन्ने बारे अहिले नै केही भन्न सकिने अवस्था छैन ।

नेपालमा विषादीको प्रयोग कहाँ–कहाँ उच्च छ ?
हुन त यही ठाउँमा विषादीको प्रयोग यति नै छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था त छैन, तर पनि तरकारी खेतीका लागि पकड जिल्लाका रुपमा रहेका धादिङ, काभ्रे, मकवानपुर, नुवाकोट, चितवन, सर्लाही, भक्तपुरलगायतका जिल्लामा विषादीको प्रयोग अलि धेरै देखिएको छ ।

अन्य जिल्लामा भने यसको कम प्रयोग पाइएको छ । यी जिल्लाहरुमा पहिले विषादी प्रयोग उच्च हुने गरेको भए पनि विगत केही वर्षयता भने वैकल्पिक प्रयोग पनि हुने गरेको छ । यी जिल्लाहरुमा दीर्घरोगका बिरामी धेरै नै देखा परेपछि किसान सचेत हुन थालेका छन् । उनीहरु विषादीको सट्टा जैविक मल, गहुँत, गाउँघरमै पाइने झारबुटीको प्रयोग गरी यस्ता हानिकारक विषादीलाई कम गराउने अभियानमा पनि छन् । पछिल्लो पटक किसानमा आएको यो परिवर्तन र चेतनालाई भने सकारात्मकरुपमै लिनुपर्ने हुन्छ ।

जानकारहरु के भन्छन् ?
विज्ञहरुका अनुसार तरकारीमा प्रयोग हुने एक प्रतिशत विषादीले किरा मार्छ । बाँकी ९९ प्रतिशत मान्छेको शरीरदेखि वातावरणमा घुलमिल हुन्छ । विषादी जसले छर्छ उसलाई अरुभन्दा चार गुना बढी असर गर्छ । दीर्घरोगका बिरामी बढाउँछ । गहिरो अध्ययन त अझै भएको छैन तर त्यसको कारण विषादीसँगै जोडिने गरेको उपचारका क्रममा डाक्टरहरुले बताउने गरेका छन् ।
नेपालको सन्दर्भमा ६ सय ३५ मेट्रिक टन विषादी हरेक वर्ष भित्रने गर्छ ।

नेपालमा १२ हजार ८ सय ८७ वटा खुद्रा पसलबाट विषादीको कारोबार भइरहेको छ । असरको अध्ययनपछि सरकारले २१ वटा विषादी प्रतिबन्ध गरिसकेको छ । ३ हजार ३५ किसिमका विषादी अहिले पनि प्रयोग भैरहेका छन् । २०१७ मा भएको एक अध्ययनले नेपालमा तरकारी खेतीमा प्रयोग हुने ८५ वटा विषादीले भने क्यान्सरसम्म हुन सक्ने देखाएको छ ।

समाधानको उपाय के छ त ?
विषादी आफैंमा समस्या होइन । समस्या त यसको व्यवस्थापन र प्रयोग गर्न नजानेरै भएको हो । अहिले पनि विषादी प्रयोग गर्दा सावधानी अपनाउने गरिएको पाइँदैन । सामान्य मास्क, पञ्जा पनि नलगाई यसको प्रयोग गर्ने किसानको संख्या धेरै छ । जसले गर्दा आँखाको रोग, छालाको रोग, फोक्सोको रोग, क्यान्सरलगायतका समस्या उनीहरुमा देखिएको छ । एकातिर यस्तो छ भने अर्कातिर कुन विषादी केमा प्रयोग गर्ने भन्ने पनि ज्ञान नभएका कारण किसानहरुले यसको प्रयोग जथाभावी गर्ने गरेका छन् । सरकारले पहिले त किसानलाई सचेत गराउन जरुरी छ ।

यसका साथै बर्सेनि अर्बौं रुपियाँ विषादी खरिदका लागि खर्च गरेको छ । यसलाई रोक्दै प्राकृतिकरुपमा कसरी कीटाणु नियन्त्रण गर्न सकिन्छ भनेर किसानलाई ज्ञान दिलाउन सके यसको प्रयोग पक्कै पनि घट्छ । किसान सचेत पनि हुन्छन् । किसानलाई पनि यसरी विषादी प्रयोग गर्न र यसका लागि थुप्रै पैसा खर्च गर्न पक्कै पनि रहर त छैन होला । अर्कातिर स्वयं किसानले पनि यसतर्फ सचेत बन्न जरुरी छ ।

कृषि उत्पादनमा अस्वस्थ प्रतिस्पर्धा गरेर विषादी प्रयोग गर्नाले कालान्तरमा आफैंलाई हानि पुग्ने रहेछ भनेर बुझ्न जरुरी छ । सरकारले पनि बाहिरबाट आउने तरकारी, फलफूल तथा अन्य खाद्यान्नमा विषादी परीक्षण गरी नेपाल भित्र्याउन जरुरी छ । साथै सरकारले आफ्नो निर्णयलाई यसरी अलोकप्रिय बनाउनुहुँदैन । यसो गर्न सकियो भने विषादीबाट हुने हानि पक्कै रोक्न सकिन्छ । वातावरण प्रदूषण हुने खतरा पनि कम हुन्छ । यसकै लागि बर्सेनि बाहिरिने अर्बौं रुपियाँ पनि बचत हुन्छ । सबैको साथ र सहयोग भयो भने असम्भव पनि केही छैन ।

 

प्रतिक्रिया दिनुहोस्