गुट–उपगुटले थिलथिलो कांग्रेस



संसद्मा समेत जनअपेक्षा अनुरुपको भूमिका खेल्न नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले कुहिराको कागजस्तै रुमलिन पुगेको छ । लामो समय सत्ताको स्वाद चाखेको कांग्रेसले वर्तमान सरकारले गरेका जनता विरोधी कामलाई समेत मौन समर्थन मात्र गरेको छैन, संसद्मा जनताको आवाज उठाउने कामबाट पनि विमुख हुँदै गएको छ ।

यसले गर्दा जनतामा नैरास्यता छाउन थालेको छ । पार्टीभित्रको गुट–उपगुटले थिलथिलो हुँदै गएको नेपाली कांग्रेसको नेतृत्वलाई अहिले तल्लो स्तरका कार्यकर्ताले दबाब दिन थालेपछि नेतृत्व तह नै अलमलमा परेको अवस्था छ । एक महिने जागरण अभियानमा सत्ताको अवैध गतिविधिका बारेमा जनतालाई जानकारी गराउनुपर्नेमा आफ्नै पार्टीभित्रका विरोधी खेमाको विरोध गर्दै अभियान टुंगिएको छ । तीन गुटमा विभाजित कांग्रेस अहिले आफ्नै बाट पीडित बन्न पुगेको छ ।

मुलुक संघीय संरचनामा गएपछि पार्टी पद्धतिलाई पनि सोही अनुरुप लैजानुपर्ने कांग्रेसले अहिलेसम्म शुभेच्छुक र भ्रातृ संस्थालाई समेत पूर्णता दिन सकेको छैन । पार्टीका जिल्ला सभापतिहरुले नेतृत्वलाई तल्लो तहको अधिवेशन गर्न दबाब दिए पनि आफू अनुकूलको परिणाम नआउने भएपछि संस्थापन पक्ष कानमा तेल हालेर बसेको छ भने पार्टीभित्रकै प्रतिपक्षी भूमिका खेल्दै आएको समूहले पनि जिल्ला सभापतिहरुले उठाउँदै आएको मुद्दालाई सशक्त ढंगले उठाउन सकेको छैन । छिटोभन्दा छिटो अधिवेशन गरेर विधानअनुसार सबै संरचना गठन गर्न जिल्ला सभापतिहरुले नेतृत्वलाई दबाब दिएका छन् तर नेतृत्वले भने जिल्ला सभापतिहरुको आवाजलाई पूर्णरुपमा बेवास्ता गर्दै आएको छ ।

निर्वाचनमार्फत तल्लो तहको नेतृत्व चयन गर्न नसकिने तर्क केन्द्रीय तहका नेताहरुले गरेपछि तल्लो तहको नेतृत्व मनोनीत गर्ने कदम केन्द्रले चाले त्यसको सशक्त प्रतिरोध गर्ने उद्घोष जिल्ला सभापतिहरुले गरेका कारण पनि नेतृत्व नैतिक संकटमा परको छ ।

कांग्रेसले आफ्नो गुमेको साख जोगाउने हो भने अहिले नै तल्लो तहको निर्वाचनमार्फत सबै संरचना बनाउनुपर्छ । होइन भने कांग्रेसप्रति जनतामा रहेको साख नगुम्ला भन्न सकिन्न । मेरो र तेरो नभनी कांग्रेसले तल्लो तहको अधिवेशनमार्फत जनतामा आफ्नो उपस्थिति देखाउन सक्नुपर्दछ । दुई तिहाइको दम्भ बोकेको सरकारले जनअपेक्षा अनुरुपको काम गर्न नसकेका कारण सरकार अलोकप्रियताको शिखर चुम्ने तयारीमा रहेको बेला प्रमुख प्रतिपक्षी दलले नेता, कार्यकर्ताको भावनालाई समेट्नुपर्दछ । त्यसो गर्न सके मात्रै कांग्रेसले जनतामा गुम्दै गएको साख जोगाउन सक्छ । यसतर्फ कांग्रेस नेतृत्वको ध्यान जान जरुरी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्