ब्राजिललाई नवौ कोपा अमेरिका उपाधि



साओ पाओलो, (एजेन्सी)
ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगितामा नवौं पटक उपाधि उचालेको छ ।
आईतबार राति प्रतियोगिता अन्तर्गत फाइनल खेलमा पेरुलाई ३–१ गोलअन्तरले पराजित गर्दै आयोजक ब्राजिल उपाधि जित्न सफल भयो । यो प्रतियोगितामा टोलीले १२ वर्षपछि उपाधि जितेको हो । टोलीले सन् २००७ को फाइनलमा अर्जेन्टिनालाई हराएको थियोे ।

ब्राजिलले आफ्ना प्रमुख खेलाडी नेयमार विना नै उपाधि जितेको हो । खुट्टाको चोटका कारण नेयमारले प्रतियोगिता गुमाएका थिए । यसअघि नेयमारको नेतृत्वमा ब्राजिलमै सम्पन्न २०१६ को ओलम्पिक फुटबलको उपाधि जितेको थियो ।

ब्राजिललाई उपाधि दिलाउन एभर्टन, गाब्रियल जेसुस र रिचार्लिसनले गोल गरेका थिए। ब्राजिलले खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो । जेसुसको पासमा एभर्टनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा पेरुले पेनाल्टीको अवसर प्राप्त गर्यो। पाउलो गुरेरोले प्राप्त अवसरलाई सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा आर्थुरको पासमा जेसुसले गोल गर्दै ब्राजिललाई पुनः अग्रता दिलाए । ७० औं मिनेटमा जेसुसले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छोडेपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो । तर, त्यसका फाइदा पेरुले उठाउन सकेन । ९० औं मिनेटमा पेरुका डिफेन्डरले डि एरिया भित्र एभर्टनलाई लडाएपछि ब्राजिलले पेनाल्टी पायो । रिचार्लिसनले उक्त पेनाल्टीमा गोल गर्दै ब्राजिलको जित पक्का गरे ।

उपाधि विजेता ब्राजिलका गोलकिपर एलिसन बेकरले नयाँ किर्तिमान समेत बनाएका छन् । उनले एकै बर्ष तीन गोल्डेन ग्लोब्स जित्दै किर्तिमान बनाएका हुन् । यसअघि एकै बर्ष कुनै पनि गोलकिपरले तीन गोल्डेन ग्लोब्स जितेका थिएनन् । लिभरपुलबाट खेलिरहेका एलिसनले प्रिमियर लिग, च्याम्पिन्यस लिग र कोपा अमेरिकामा गोल्डेन ग्लोब्स जितेका हुन् । १२ बर्षपछि ब्राजिललाई कोपा अमेरिकाको उपाधि दिलाउने क्रममा एलिसने ६ खेलमा १ गोल मात्रै बेहोरेका थिए ।

कोपा अमेरिकाको उत्कृष्ट खेलाडी पनि ब्राजिलका कप्तान ड्यानी आल्भेस घोषित भए । शिर्ष गोलकर्ता ३ गोल गरेका ब्राजिलकै एभर्टन बनेका छन् । त्यस्तै फेयरप्लेको अवार्ड पनि ब्राजिलले नै प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्