बुटवललाई मेगासिटीका रुपमा विकास गरिने



शिवराज सुवेदी
प्रमुख, बुटवल उपमहानगरपालिका

कास्की पोखराका शिवराज सुवेदी हाल नेकपा रुपन्देहीको अध्यक्ष हुनुहुन्छ ।
सुवेदी स्थानीय तहको निर्वाचनबाट बुटवल उपमहानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको हो । सुवेदीले बुटवलको विकासका लागि आवधिक र दीर्घकालीन महत्वका योजनाहरुमार्फत बुटवलको गुरुयोजना बनाउनुभएको छ । बुटवललाई महानगर र मेगा सिटीका रुपमा विकास गर्ने लक्ष्य रहेको छ । यस्तै विषयमा केन्द्रित रही बुटवलका मेयर सुवेदीसँग नेपाल समाचारपत्र दैनिकका लागि यमलाल भुसालले गरेको कुराकानी:

–समग्र बुटवलको विकासका लागि कसरी काम अगाडि बढाउनुभएको छ ?
बुटवल उपमहानगरपालिका मुलुकको आर्थिक केन्द्र, पर्यटकीय केन्द्र, माानवसभ्यताको विकास भएको बुद्धबलीको ऐतिहासिक क्षेत्र हो बुटवल । यो बुटवललाई समृद्ध बनाउन बिभिन्न योजनाहरु बनाएर काम गरिरहेका छौं । अहिले एकीकृत शहरी विकासको गुरुयोजना बनाइएको । नीति तथा कार्यक्रम र बजेटमार्फत बुटवलको विकासका लागि योजना कार्यान्वयनको वर्षका रुपमा लिएका छौं ।

बुटवललाई आधुनिक सहरका रुपमा विकास गर्दै स्मार्ट सिटी अर्थात् मेगासिटीका रुपमा लैजान एकीकृत शहरी विकास गुरुयोजना बनाइएको छ । बुटवलको आवधिक र दीर्घकालीन योजना बनाएर अहिले तत्कालै गर्नुपर्ने कामदेखि दुई वर्षमा, तीन वर्षमा, पाँच वर्षमा र १० देखि १५ वर्षमा के–के काम गर्ने, कसरी गर्ने, स्रोतहरु कसरी जुटाउने र परिचालन गर्ने भनेर आवधिक योजनाहरु बनाएका छौं । आवधिक र दीर्घकालीन महत्वका योजनाअन्तर्गत यी काम अगाडि बढ्नेछन् । बुटवलको विकासका लागि यहाँका जनसमुदाय, निजी क्षेत्र, सामाजिक संघसंस्था र सहकारी सबैसँग सहकार्य गरिनेछ ।

–विशेष गरी कुन–कुन विषयलाई प्राथमिकतामा राखेर नगरको काम अगाडि बढाउनुभएको छ ?
बुटवलको समृद्धिका आधारहरुमा कृषि, पर्यटन, उद्योग र व्यापारलाई लिएका छौं । यहांका यी सम्भावनालाई साकार पार्नका लागि हामी प्रयत्नशील छौं । संविधानले व्यवस्था गरेअनुरुपमा अधिकार क्षेत्रमा रहेर स्थानीय तह सञ्चालनमा छन् । स्थानीय तहमाथि प्रदेश सरकार छ र त्यो भन्दा माथि संघिय सरकार रहेको छ । संविधानको संरचनाअनुसार काम भएको छ । जनताको पहिलो सरकारका रुपमा र लोकतन्त्रलाई आधारभूत तहमा पु¥याउने माध्यमका रुपमा अहिले स्थानीय तह छन् ।

योजनाबद्ध ढंगले विकास निर्माणका काममा जुटेको मैले माथि नै उल्लेख गरिसकेँ । संघीय सरकार, प्रदेश सरकार, हामी स्थानीय तहबाट आउने योजना मात्रै नभई जनतासँग मिलेर उनीहरुको सहभागितामा उहाँहरु पनि सहभागी भई बन्ने योजना, पीपीपी मोडलको योजना मात्र नभई निजी क्षेत्रलाई योजनामा प्रत्यक्ष सहभागिता गराउने काम समेत हँुदै छ ।

तिनाउ दानव औद्योगिक करिडोर, सुखौरा खोल्सी सुधार, जितगढी किल्लाको योजनाअनुसार काम, बुटवल संग्रहालय, तीन स्थानमा खेलकुद मैदान निर्माण, श्रवणपथ, कालिकापथ बाईपास सडक निर्माण, नीजि क्षेत्रबाट बसन्तपुर र नुवाकोट डाडामा केबलकार सञ्चालन, नीजि क्षेत्रबाट फोरपिमा रही बधशाला निर्माण, ढुवानी व्यवस्थापन परियोजना, कृषि क्षेत्रको लागि बृहत्तर शित भण्डार, नरयनापुर धाम र सिमसार क्षेत्र बिकास, हिलपार्क बिकाश लगायत धेरै योजनाहरु रहेका छन् । धेरै बहुवर्षीय योजना छ । यो सबै पूरा हँुदा बुटवल नेपालकै नमुना शहर बन्नेमा दुईमत छैन् ।

अहिले स्पष्ट योजनाका साथमा स्थानीय सरकार सञ्चालन भइरहेका छन् । लामो राजनीतिक अस्थिरता र अलमलको अन्त्य भएको छ र समृद्धिको यात्रा सुरु भएको छ । जनताले मत हालेर निर्बाचित गरेका प्रतिनिधिले स्थानीय तहमा काम गरिरहेका छन् । नागरिकले आफ्ना गुनासाहरु सिधैं भन्न सक्ने अवस्था सिर्जना भएको छ । आफ्नो टोलको विकास के कसरी गर्ने र कति बजेट वा स्रोत कसरी जुटाउने भन्नेसम्मका विषयमा स्थानिय समुदायको पहुँच उपलव्ध भएको छ । यस हिसाबले पहिलेको र अहिलेको अवस्थामा धेरै नै फरक छ । हामीहरु न शासक नत प्रशासक नै हांै, हामी त जनताले चुनेर काम गर्न पठाईएका प्रतिनिधि हौं ।

–बुटवल उपमहानगरपालिकामा सञ्चालनका लागि आएका एसियाली विकास बैंकका तीनवटा परियोजना फिर्ता जानुमा नगरपालिकाको कमजोरी हो कि अरु कुनै कारण छन् ?
हामी निर्वाचित भएर आउनुभन्दा अगाडि नै यस्ता धेरै विषयमा समस्या थिए । हामी आएपछि समाधानका लागि पहल ग¥यौं, कैयौंपटक छलफल र संवाद भए । हाम्रा नगरका विकासका काममा हामी नगरबासी नै विभक्त हुने, विकासका काममा अवरोध गर्ने कुरा सुहाउने कुरा होइन भनेर हामीले सबै तहमा छलफल पनि चलायौं । तर, हामीहरुले हाम्रा विकासका कामलाई कुनै पनि बहानामा रोक्नेछैनौं रोक्न दिनेछैनौं ।

खानेपानी व्यवस्थापनलाई प्रभावकारी बनाउने, मैनाबगर नमुना अटो भिलेजलाई नमुना बनाउने र फोहोरको बहुउपयागी व्यवस्थापनका लागि नगरले आफैं योजनाबद्ध कामको थालनी गरिसकेको छ । पहिले कुनै दातृ निकायसँगका सहकार्यका काममा कहाँ कहाँ कसले कसरी अवरोध ग¥यो भनेर त्यतातिर नजाऔं म फेरि पनि स्पष्ट पार्न चाहन्छु हामी जनप्रतिनिधिका रुपमा आएपछि सहज वा अझ सहजताको वातावरण बनाएका छौं । हाम्रो नगर हामी बनाउन सक्छौं र सक्नुपर्छ । सहकार्य गर्न आउने कुनै पनि संघ संस्था वा निकायले हाम्रो आवश्यकता हाम्रै मौलिकतामा समाधान गर्ने गरी सहकार्य गर्नुपर्छ ।

–निर्वाचनको समयमा बुटवलको सुकुम्बासी बस्तीलाई व्यवस्थापन गरिने भनी चुनावी घोषणापत्रमा प्राथमिकताका साथ राख्नुभएको थियो, अहिलेसम्म केके गर्नुभयो, कहिलेसम्ममा सुकुम्बासी बस्तीको व्यवस्थापन हुन्छ होला ?
अव्यवस्थित बसोबासीको लगत संकलनको काम भएको छ र यसमा अनुसन्धानको काम भइरहेको छ । सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी दुवै खालका समस्याको दीर्घकालीन समाधान गरिनेछ । सुकुम्बासीलाई आवास र अव्यवस्थित बसोबासीलाई उचित व्यवस्थापन गर्दै सहरलाई व्यवस्थित बनाउने कामको थालनी गरिएको छ । साथै सार्वजनिक जग्गाको संरक्षणका लागि पनि विशेष पहलकदमीका साथ काम भइरहेका छन् ।

बुटवलमा सबै प्रकारका सम्भावना रहेका कारणले वर्षेनी जनघनत्व बढ्दै गएको छ । छिमेकका पहाडका जिल्लाबाट मात्रै होईन तराईका जिल्लाबाट पनि बुटवलमा आकर्षित भएर आउने धेरै छन् । यस हिसाबले यहा बसोबास गर्न आउने क्रम बढेको हो । प्रदेश ५ को स्थायी राजधानी तोकेपछि अझ बढी सम्भावना बोकेको शहर हुँदै छ बुटवल । शिक्षा, स्वास्थ्य, रोजगारीदेखि मुलुकको आर्थिक केन्द्रका रुपमा विकास हुदै गएका कारण बुटवल धेरैको आकर्षणमा छ । जनसंख्या बृद्धी संगै केही समस्याहरु प्नि बढदै जान्छन् । त्यसको हल पनि बिस्तारै हुदै जान्छ । यसलाई अवसरका रुपमा लिएर व्यवस्थित सहर बनाउने हो । तिनाउ र दानव नदी तटका क्षेत्रहरुमा अव्यवस्थित बसोबास साथै अतिक्रमणको चपेटा पनि छ ।

सार्वजनिक, जोखिमयुक्त क्षेत्र र नदीको पहिलेको बहाव क्षेत्रमा बस्ती नबस्न हामीले सार्वजनिक रुपमै रोक लगाएका छौं । पहिले नै बसेका बस्तीलाई पनि व्यवस्थित गर्ने तयारीमा छौं । यहाका नदी किनार, नदी उकासका जग्गामा पहिलेदेखि नै बस्ती बसेको छ । हामीहरु निर्वाचित भएर आईसकेपछि यस्ता जोखिमका ठाउँमा बस्ती बस्न रोक लगाइसकेका छौं । मानवीय क्षति निम्तिने गरी कुनै पनि बस्ती नबसोस् भन्ने हाम्रो सोच हो । समस्या समाधानका लागि हामीहरु गम्भीर छौं ।

–नगरलाई कुरुप बनाउने फोहोरमैलाको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
–फोहोरको प्रकृति छुट्टाएर घरैदेखि अलग अलग रुपमा व्यवस्थापन गर्नेगरि काम सुरु भएको छ । फोहोरलाई बहुउपयोगी बनाउनका लागि पनि यसो गरिएको हो । दैनिक रुपमा निष्कने टनका टन फोहर बिसर्जन र व्यवस्थापन अहिले मात्र होईन पहिले देखिको चुनौति हो । ल्यान्डफिल्ड साईटको अभाबमा हाम्रो उपमहानगरमा संकलन हुने फोहोर मात्र होईन छिमेकका नगरपालिकाहरुका फोहोर पनि राम्ररी ब्यबस्थापन हुन सकेको सबैका सामु छर्लंगै छ । तर हामी फोहर ब्यबस्थापनका कुरामा त्यसै पछाडि हट्दैनौ ।

बैकल्पिक ऊर्जा कार्यक्रमसँग मिलेर फोहोरबाट मोहर बनाउने काममा हामी लाग्छौ । पुनः प्रयोग हुने र प्रयोग नहुने फोहोरलाई कसरी संकलन गर्ने र ब्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा हामी ब्यापक रुपमा जनचेतना, तालिम प्रशिक्षण नगरबासीलाई दिन्छौ, घरबाटै कम फोहर निकाल्न सक्ने कसरी फोहोर कम गर्न सकिन्छ भन्ने विषयमा जानकार भए पनि धेरै फोहोर कम हुन्छ । यसका साथै स्थायी रुपमा फोहरमैला ब्यबस्थापनका लागी छिमेकी नगरपालिकाहरु संग हामी सहकार्य गरी अघि बढाउँछौ । छिमेकी नगरको सामुहिक ल्यान्डफिल्ट साईट बनाउने तयारीमा हामी जुटेका छौ र जग्गाको ब्यबस्था पनि भैसकेको छ ।

–सिस्ने खानेपानी आयोजना के भइरहेको छ कहिलेसम्ममा उक्त परियोजनाको पानी बुटवलबासीले खान पाउलान्, अथवा परियोजना फेल भएको हो ?
–बुटवलमा पानीका प्राकृतिक स्रोतहरु र मुहानको कमी छ । पानीका प्राकृतिक स्रोतहरु कम हुनु र जमिनमुनि रहेको पानी पनि कम हुँदै र भासिँदै जानुले यहाँ मात्रै होइन तराईका कैयन क्षेत्रमा पिउने पानीको अभाव छ । पिउने पानी जस्तो संवेदनशील विषयमा हामीहरु गम्भीर भएर लागेका छौं ।

जमिनमुनिको पानीलाई रिचार्ज गर्नेदेखि प्राकृतिक स्रोतहरु जोगाउने मुहानहरु बचाउने र बढाउनेसम्मका कामहरु गर्नुपर्ने छ । तिनाउ र आसपासका स्रोतहरुले मात्रै बुटवललाई आवश्यक पिउने पानीको माग थेग्न सक्तैन् । समुदाय स्तरमा सञ्चालित पिउनेपानीका आयोजनादेखि सबै पिउनेपानीसँग सम्बन्धित निकायलाई एउटै बोर्डमा राखेर त्यहाँबाट विद्यमान समस्याहरुलाई दीर्घकालिन रुपमा समाधान गर्नेगरी योजना बनाएका छौं ।
एकीकृत खानेपानी व्यवस्थापन गुरुयोजना र विस्तृत डीपीआर तयार पारेर कार्यान्वयनमा जोड दिएका छौं । साना सहरी र स्थानीय आयोजनाहरु सञ्चालनमा ल्याइएको छ । वडा नं. १४–१९ मा स्थानीय तथा साना सहरी खानेपानी आयोजनाहरु लगभग पूरा हुनेक्रममा छन् ।

त्यस्तै वडा नं. २ मा पनि ओभरहेड टंकीमार्फत पिउनेपानी वितरण सुरु भएको छ । जमिन मुनीको पानीको स्रोतलाई बढाउन र रिचार्ज गर्न र मुहान बचाउन चुरेअन्तर्गत रहेका सामुदायिक वनहरुमा पोखरी निर्माणको योजनालाई हामीले यसपालीको बजेटमा अनुदानको व्यवस्थासहित समावेश गरेका छौं र आउने आर्थिक बर्षमा पनि निरन्तरता दिन्छौ । वाटर रिचार्जसिस्टममा टेवा पु¥याउन सकियो भने पिउनेपानीका प्राकृतिक स्रोतहरु बढ्दै जान्छन् । यो काममा बुटवल उप–महानगरपालिकाले प्रदेश सरकारसमक्ष पनि सहकार्य गर्नेगरी योजना बनाइरहेको छ । खानेपानीसंग सम्बन्धित कतिपय योजनाहरु संघीय सरकार र प्रदेश सरकारका मातहतबाट पनि सञ्चालित छन् । यी सबै योजनालाई समयमै सम्पन्न गर्ने र प्रभावकारी बनाउनुपर्छ भनेर लागेका छौं ।

–नगरको गुरुयोजना बन्यो कि बनाउने चरणमा हुनुहुन्छ ?
–बुटवल उपमहानगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना निर्माण गरिसकेको छ । गुरुयोजना अनुरुपका कामहरु पनि भइरहेका छन् । अहिले एकीकृत सहरी विकासको गुरुयोजना बनाएर काम गरिरहेका छौं ।

बुटवल ऐतिहासिक र मानवताको विकासक्रमको सुरुआत भएको नेपालकै महत्वपूर्ण सहर हो । यो सहरलाई आधुनिक सहरका रुपमा बिकास गर्दै मेगासिटीका रुपमा लैजान एकीकृत शहरी विकास गुरुयोजना मार्फत अगाडि बढाइसकिएको छ । हामीले चुनावका बेलामा मतदाता संग गरेका प्रतिबद्धता र बाचाहरु साकार पार्ने गरि काम गरिरहेका छौं । यहाको पर्यटन, उद्योग, कृषि र व्यापारसंग सम्बन्धित विषयवस्तुलाई प्राथमकितामा राखेका छौं । यिनैलाई समृद्धिका आधारका रुपमा पनि लिएका छौं ।

–बुटवललाई स्मार्ट सिटी बनाउन हल्ला हो कि वास्तविक रुपमा बनाउने हो, योजना के छ ?
मैले माथि पनि भनिसकें । बुटवलको सीमाना भनेको भविष्यमा पूर्वमा बर्दघाटको दाउन्ने र पश्चिममा कपिलवस्तुको धानखोला र दक्षिणमाा भारतीय सीमावर्ती क्षेत्र बेलहियासम्मै हो । उत्तरमा पनि तानसेनसम्मै जोड्न सकिन्छ । यही नै मेगासिटीको एउटा अवधारणा हो ।

तानसेनमा मनाइने भगवती जात्रा र बुटवलको जितगढी विजय उत्सव कडी बन्न सक्छन् । बुटवलको आवधिक र दीर्घकालिन योजना बनाएर अहिले तत्कालै गर्नुपर्ने काम देखि दुई वर्षमा, तीन वर्षमा, पाच वर्षमा र १० देखि १५ वर्षमा के–के काम गर्ने, कसरी गर्ने, श्रोतहरु कसरी जुटाउने र परिचालन गर्ने भनेर आवधिक योजनाहरु बनाएका छौं । साथै बुटवललाई मेगासिटीको अवधारणाका साथ अगाडि बढाउनुपर्छ भनेर नीति कार्यक्रममै समेटेका छौं । हामी बिश्वस्त छौ, बुटवललाई नेपालकै हेर्न लायक शहर र मेगासिटीका रुपमा बिकास गरिने छ । यो काममा सबैको सहकार्य हुनेछ ।

–बुटवल ऐतिहासिक, पुरातात्विक एवं पर्यटकिय स्थल हो यसलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
स्थानीय तहमा जनताका प्रतिनिधिका रुपमा चुनिएर आएपछि हामीले आफ्ना प्राथमिकताहरु पनि निर्धारण गरेका छौं, एउटा मापदण्ड बनाएका छौं र अबको बुटवल कस्तो बनाउने भनेर संकल्पका साथ प्रस्ट योजनाहरु पनि बनाइसकेका छौ । बुटवल ऐतिहासिक र मानवताको विकासक्रमको सुरुआत भएको नेपालकै महत्वपूर्ण सहर हो । यो सहरलाई आधुनिक सहरका रुपमा विकास गर्दै स्मार्ट सिटीका रुपमा लैजान एकीकृत शहरी विकास गुरुयोजनामार्फत अगाडि बढाइसकिएको छ । हामीले चुनावका बेलामा मतदाता संग गरेका प्रतिबद्धता र बाचाहरु साकार पार्ने गरि काम गरिरहेका छौं ।

–बुटवलमा विकराल समस्याका रुपमा रहेका सवारी पार्किङ, ईरिक्साको र छाडा चौपायको व्यवस्थापनलाई कसरी व्यव्स्थापन गर्ने योजना बनाउनु भएको छ ?
पार्किङको समस्यालाई पनि तत्कालिन र दीर्घकालिन रुपमा कसरी समाधान गर्ने भन्ने योजना छौं । व्यवसायिक र बहुउपयोगी पार्किङ भवनहरु बनाउने, आन्तरिक वाइपासका सडकहरुलाई चौडा पार्ने, अव्यवस्थित रुपमा भइरहेका पार्किङका क्षेत्रहरुलाई व्यवस्थित गर्ने योजनामा छौं ।

धेरै कामहरु अगाडि बढिसकेको छ । यहाँका संघ संस्थाहरुको साझा सहकार्यमा यो समस्यालाई समाधान गर्नेगरि योजनाबद्ध कामको थालनी भइसकेको छ । मालवाहक सवारी, निर्माणकार्यमा प्रयोग गर्ने सवारी साधन, यात्रु बोक्ने लामो रुटका सवारी, नगर सवारीसाधनहरुलाई आन्तरिक वाइपास मार्फत व्यविस्थत गर्ने काम सुरु भइसकेका पनि छन् । तिनाउ नदीमा तीन ठाउँमा नयाँ पुलहरु बनिरहेका छन् यी पुलको निर्माण कार्य पूरा हुँनासाथ धेरै समस्याको समाधान हुने अपेक्षा पनि छ ।

हामीले छुट्टै ट्रान्सपोर्ट भिलेज बनाउने कामको सुरुआत गरिसकेका छौं । अती व्यस्त ठाउँहरुमा पायक मिलाएर बहुतले व्यवसायिक पार्किङ भवनको बनाउन सकियो भने सहरी शौन्दर्यता पनि बढ्ने र एउटा समस्याको पनि समाधान हुने अपेक्षामा हामीहरु छौं । एकीकृत सहरी विकास गुरुयोजनामा यी सबै विषयहरु समेटिनेछन् । हालका लागि यहाको ट्राफिक प्रहरी कार्यालयसंगको नियमित सहकार्यमा नगरभित्रको दैनिक ट्राफिक व्यवस्थापन मिलाउने काम भइरहेको छ । छाडा चौपायाको उचित व्यवस्थापनका लागि पनि पहल भइरहेको छ । यहाँका सामुदायिक वनहरु, छिमेकका पालिकाहरुसंग सहकार्य गरेर काम गर्ने योजनामा पनि छौं ।

–अन्त्यमा नेपाल समाचारपत्रमार्फत नगरबासीलाई केही भन्नुहुन्छ कि ?
आम सञ्चारका माध्यमको खबरदारीले हामीलाई थप जिम्मेवार र जवाफदेही बनाउन मद्दत पु¥याउनुपर्छ । आशंका र अन्योललाई हटाउन र कम गर्न सकिन्छ तर, पूर्वाग्रह राखियो भने त्यसलाई कसै गरी हटाउन सकिन्न । आमसञ्चारका साधनहरुको पनि जवाफदेहीतापूर्ण प्रस्तुत, राष्ट्र र राष्ट्रियताप्रतिको जिम्मेवारी सही ढंगले बहन हुनुपर्छ । बुटवलबासी सम्पूर्ण जनसमुदाय र बुटवललाई माया गर्ने देश विदेशका सबै महानुभावहरुलाई बुटवलको विकासका लागि हामीले योजनाबद्ध कामको थालनी गरेका छौं आउनुहोस् सहकार्य गरौं, बुटवललाई समृद्ध र सबल बनाउने काममा केन्द्रित बनौं । समृद्ध बुटवल सुखी बुटवलबासीको संकल्प हामी सबै मिलेर पूरा गरौं ।

प्रतिक्रिया दिनुहोस्