करिश्माको चाहना: सरकारी कलेजमा मावि तहको शिक्षा



विदुर गिरी,
पढ्दापढ्दै फिल्म क्षेत्रमा प्रवेश गरेपछि अभिनेतृ तथा चलचित्र निर्मात्री करिश्मा मानन्धर अध्ययनबाट टाढा भएकी थिइन्। फिल्म क्षेत्रमा डुबेको २५ वर्षपछि उनलाई फेरि झोला बोकेर स्कुल जाने रहर जाग्यो। आँट गरिन्, स्कुल गइन्।

छुटेको पढाइलाई निरन्तरता दिँदै चार वर्षसम्म त्रिवेणी पब्लिक स्कुलमा पढेर एसईई दिइन्। एसईई परीक्षा दिइरहँदा करिश्मालाई राम्रो गरेको छु भन्ने लागेको थियो। तर, परीक्षाफलको दिन नजिकिँदै जाँदा उनलाई डर डर लागिरहेको थियो। के हुन्छ हुन्छ जस्तो महसुस भइरहेको थियो।

‘बी ग्रेडसम्म आउँला कि भन्ने लागेको थियो। तर, बी प्लस आएछ। खुसी छु।’ –करिश्मा सुनाउँछिन्। एउटा लोकप्रिय सेलिब्रेटी भइसकेर पनि धक नमानी आफ्नी छोरी कविताभन्दा साना उमेरका किशोरकिशोरीसँगै पढ्दै अगाडि बढ्दै जाँदा ४६ वर्षीया करिश्माले जीपीए ३ प्राप्त गरेर एसईई उत्तीर्ण मात्र गरिनन्, सबैका लागि उदाहरणीय महिला पनि बनिन्।

करिश्माले बी ग्रेडमै चित्त बुझाउने मानसिकता किन बनाएकी थिइन् भने उनले एउटा विषयको परीक्षामा भुलवश २ प्रश्नै छोडेकी थिइन् भने परीक्षा केन्द्रमा पुग्दा १५ मिनेट ढिला भइसकेको थियो। ‘सामाजिक शिक्षा (सोसल स्टडी)को दिन दुई वटा प्रश्न नै छोडिछु।

त्यो प्रश्न अर्को पेजमा रहेछ, देख्दै देखिनँं। त्यही दिन गोदावरी घरबाट परीक्षा केन्द्र डिल्लीबजार पुग्दा परीक्षा शुरू भएको १५ मिनेट भइसकेको थियो। गोदावरीबाट गाडी चलाएर सही समयमै निस्केकी थिएँ। बीचमा ट्यांकर दुर्घटना भएको रहेछ र जाम भयो। मेरो लागि अर्को कुनै विकल्प नै थिएन।

हर्न बजाएको बजायै गरें। जिन्दगीमा त्यति हर्न बजाएको दिन नै त्यही थियो होला। जाम खुलेपछि एक्जाम हलमा पुग्दा १५ मिनेट ढिलो भइसकेको थियो। हलमा छिर्नासाथै हतार–हतार लेखें। सामाजिक शिक्षा विषयको परीक्षामा जति लेखे पनि कम फिल हुन्छ’, करिश्माले बी प्लसमै चित्त बुझाउने मानसिकता बनाउनुको कारण खोलिन्– ‘फेरि मैले पहिला ऐच्छिक गणित विषय लिएकी थिएँ। अन्तिम समयमा आएर जनसंख्या शिक्षा विषय लिए। जनसंख्या शिक्षा विषयको परीक्षामा जम्मा १ दिन पढेर जाँच दिएकी थिएँ। लामो–लामो प्रश्न छुटेको थियो। त्यसैले बी ग्रेडसम्म मात्र होप गरेको थिएँ। बी प्लस आउँदा अझ राम्रो रिजल्ट आउँथ्यो कि भन्ने लाग्यो।’

यति धेरै लोकप्रियता, त्यति अनुभवी एवं पाको भइसकेपछि करिश्माले एसईई उत्तीर्ण गरेर देशदेखि विदेशसम्मबाट वाहवाही पाइरहेको बेला उनकी छोरी कविताले अमेरिकाबाट साइकोलोजीमा ग्रेजुएसन गरिसकेकी छन् भने सिनेमा वा अन्य कुनै विषयमा थप अध्ययन गर्ने सोच बनाइरहेकी छन्।

करिश्मा भने सामाजिक वा दाइको सल्लाहअनुसार व्यवस्थापन विषय लिएर प्लस टु गर्ने सोचिरहेकी छन्। एसईई उत्तीर्ण गरेपछि विभिन्न कलेजले उनलाई आफूकहाँ निःशुल्करूपमा पढ्न आउन अफर गरिरहेका छन्। करिश्मा भने गोदावरीकै सरकारी कलेज पढ्ने सोच बनाइरहेकी छन्। ‘मलाई धेरै कलेजले अफर गरिरहेका छन्। तर, म सरकारी कलेजमा पढ्ने सोचिरहेकी छु। सरकारी स्कुल वा कलेज न्यूनतम आय भएकाले पढ्ने भन्ने मानसिकता तोड्नका लागि घरनजिकैको किटनी स्कुलमा मावि तहको शिक्षा पढांै कि भन्ने सोचिरहेकी छु।’ –करिश्मा भन्छिन्।

करिश्मा २५ वर्षपछि फेरि स्कुल जान थालेपछि उत्साहित थिइन्। स्कुल जान थालेपछि फिल्मी सभा–समारोहमा सहभागी हुनबाहेक अभिनय र फिल्म निर्माणबाट टाढा भएर पढाइमै ध्यान दिइन् उनले। ‘नियमित पढाइभन्दा पनि आउ–जाउमै धेरै टाइम जान्थ्यो।

बिहान उठेर रेडी भई ९ बजे स्कुल जाऊ, क्लास लिऊ, क्लास वर्क गर, होमवर्क गर, बेलुका घर आएर फेरि ट्युसन पढ। यसो गर्दा दिन नै जान्थ्यो। एज ग्यापले गर्दा छोरीभन्दा सानाहरूसँग ७÷८ घन्टा बिताउन केही कठिन थियो। अहिले सम्झँदा रमाइलो लाग्छ। परीक्षाको १ महिनाअघिबाट चाहिँ अलि धेरै समय पढ्थें। बुकभन्दा पनि बढी गेस पेपर हेरेर प्राक्टिस गर्थें’, करिश्माले सुनाइन्– ‘मलाई पहिला म्याथ गाह्रो लाग्थ्यो। पछि–पछि म्याथ नै सजिलो लाग्न थाल्यो।

पछि साइन्स गाह्रो लाग्न थाल्यो। अरू सब्जेक्टमा जस्तो साइन्समा गफ दिएर हुँदैन नि त। मैले स्कुल ज्वाइन गरेपछि कब्बु (छोरी कविता)ले पनि इन्करेज गथ्र्यो। यहाँ थाहा नहुने कुरा अमेरिकाबाटै बुझाउँथ्यो। यता हुँदा साइन्सको होमवर्कमा हेल्प गथ्र्यो।

बिनोदजीको त सधंै नै सपोर्ट हुने भइहाल्यो। क्लासमेटहरू पनि हेल्पफुल थिए। म उनीहरूसँगै बच्चा भइदिन्थें। जसले गर्दा मलाई इजी भयो।’ करिश्मा थप्छिन्– ‘मेहनतले रंग ल्यायो। मेरा टिचरका कारण म सफल भएँ। उहाँहरूलाई कहिल्यै बिर्सने छैन। अबको स्टडीका लागि अझै मेहनत गर्नुपर्छ भन्ने लागेको छ। किनभने जति लेभल बढ्दै गयो, त्यति नै कठिन हुन्छ।’
करियरलाई एकातिर थाती राखेर ४ वर्ष फेरि अध्ययनलाई अगाडि बढाउँदा करिश्माले केही गुमाइन् पनि होला ? उनी भन्छिन्– ‘वनमा कुनै पनि चिजलाई मुख्य स्थानमा राखेपछि अर्को कुरा छुट्छ। त्यो समयमा अभिनय गरिनँ, फिल्म बनाइनँ। अलिकति गुमाएको भनेको त्यही हो।

त्यसको बदलमा एसईईको सर्टिफिकेट पाएँ। धेरैलाई लाग्छ, करिश्माले देश–विदेश बुझिसकिन्। नाम पनि कमाइसकिन्। उमेर पनि भइसक्यो। अब केका लागि चाहियो पढाइ? यो एजमा मीठो खानुपर्छ, राम्रो लगाउनुपर्छ। देश विदेश घुम्नुपर्छ। बिरामी भए अस्पताल जानुपर्छ।

मतलब सबै चिज चाहिन्छ। हो त्यो सबै चिजका लागि एजुकेसन चाहिन्छ। एजुकेसनको कुनै एज हँुदैन। यसले हरेक कुरालाई सघाउँछ। ज्ञान भनेको जति लिए पनि कम हुन्छ। यो लेभलसम्म पढ्छु भन्ने छैन।’ केही न केही पढिरहन्छु।

करिश्माले मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलबाट अध्ययनलाई पुनः निरन्तारता दिएकी थिइन् भने डिल्लीबजारस्थित विजय मेमोरियल हाई स्कुलबाट एसईई परीक्षा दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्