युनिभर्सियाडमा अनिताको उत्कृष्ट प्रदर्शन



काठमाडौं, (नेस)
विहिवारदेखि इटालीको नेपोलीमा शुरु भएको ३०औँ समर युनिभर्सियाड खेलकुद प्रतियोगितामा नेपालकी अनिता कार्कीले उत्कृष्ट प्रदर्शन गरेकी छन् ।
विश्वका १ सय ५४ राष्ट्रका ८ सय खेलाडीले सहभागिता जनाएको प्रतियोागितामा नेपालले फेन्सिङ र तेक्वान्दो खेलमा सहभागिता जनाएको हो ।

फेन्सिङ खेलको महिला एकल इपीतर्फ अनिताले उत्कृष्ट प्रदर्शन गरिन् । नेपोलीको हिप्पो क्राटिका सिभितामको इन्डोर कभर्ड हलमा आयोजित पाँच खेलमा अनिताले विश्वस्तरीय प्रदर्शन गरेकी हुन् तर उनले सकारात्मक नतिजा भने निकाल्न सकिनन् ।

अनिताले पहिलो खेलमा विश्व वरियतामा चौथो स्थान प्राप्त फ्रान्सकी लुटी एलियासंग ५–२ ले खेल गुमाइन् । त्यस्तै दोश्रो खेलमा विश्व वरियतामा २१ औं स्थानमा रहेकी इजरायलकी गाभ्रिइल्को निकोलसंग पनि ५–२ को अन्तरले हारिन् । तेस्रो भिडन्तमा हंगेरीकी सोन्का भलेरियासंग कडा चुनौती दिइन तर उनी ५–२ ले हारेकी थिइन् ।

यसैगरी चौथौ खेलमा क्यानडाकी वोय टमारासंग ५–१ ले हारेकी अनिताले अन्तिम तथा पाँचौ खेलमा नर्वेकी हिल्ली थालेसँग नजिक पुगेर हार स्विकार गरिन् । यो खेलमा उनी ५–४ अन्तरले निरास बन्न पुगेकी थिइन् । खेलमा जुन खेलाडीले निर्धारित समयमा पहिले ५ अङ्क बटुल्छ त्यो खेलाडी विजयी हुने प्रावधान रहेको छ ।

खेलपछि घटना र विचारसंग गरेको कुराकानीमा अनिताले आफ्नो पहिलो अन्तर्राष्ट्रिय सहभागितामा सोचेको भन्दा उत्कृष्ट प्रदर्शन गरेको बताइन् । सिमित स्रोत र साधनका बावजुद पनि आफुले उत्कृष्ट प्रदर्शन गरेको र यो प्रतिस्पर्धावाट निकै अनुभव बटुलेको बताइन् । नेपालमा पनि नियमित प्रशिक्षण र उपयुक्त प्रशिक्षण गर्ने व्यवस्था भए नेपाल पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने दाबी गरिन् । साथै आफ्नो प्रदर्शनप्रति उनले खुशी व्यक्त गरिन् ।

त्यस्तै यो प्रतियोगिताका सेभ द मिसन तथा विश्वविद्यालय खेलकुद संघका अध्यक्ष प्रदीप जोशी (टेकराज) ले अनिताको प्रदर्शन उत्कृष्ट भएको बताए । विश्वस्तरीय खेलाडीहरुसंगको प्रतिस्पर्धामा अनिताको प्रर्दशन प्रशंसनिययोग्य थियो भन्दै सिमित साघन र स्रोतका बावजुद पनि अनिताले उत्कृष्ट प्रदर्शन गरेको जोशीको ठहर थियो । यदि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा पदक जिताउने हो भने राज्यले नै विशेष योजना र दुरदर्शीका साथ लाग्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्