धान दिवस मनाइयो, रोपाइँ छैन



नेपालमा भर्खरै मात्र सोह्रौं राष्ट्रिय धान दिवस मनाइएको छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा हरेक वर्ष १५ असारलाई विशेष दिनको रुपमा मनाइने प्रचलन छ । नेपालमा तामझामपूर्वक धान दिवस मनाइँदै गर्दा हालसम्म भने जम्मा १४ प्रतिशत मात्रै रोपाइँ भएको छ । धान हाम्रो मात्र होइन संसारकै प्रमुख खाद्यबाली हो ।

भात हाम्रो संस्कृति र निर्विकल्प आहार बनिसकेको परिप्रेक्ष्यमा बर्सेनि खाद्यान्न आयात हाम्रो नियति बन्न पुगेको छ । कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा करिब १४ लाख २० हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । यो क्षेत्रफलमा वार्षिक ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

नेपालमा अद्यापि परम्परागत धानखेती लगाउने चलन छ । आत्मनिर्भर बन्न आधुनिक प्रणाली आवश्यक पर्छ । आधुनिक खेती गर्ने छिमेकी मुलुक भारत र थाइल्यान्डको उत्पादकत्व दर ७ मेट्रिक टन र चीनको ८ मेट्रिक टन प्रतिहेक्टर छ । नेपालमा सरदर ३.३ मेट्रिक टन प्रतिहेक्टर धान फल्छ । यस अनुपातमा नेपाल आधुनिक प्रणालीमा कति पछाडि छ भन्ने पुष्टि हुन्छ ।

नेपालमा जथाभावी प्लटिङ गर्ने र जग्गा बाँझो राख्ने प्रवृत्ति बढ्दो छ । आवश्यक सिंचाइ, मल, बीउबिजन, यन्त्र र खेती गर्न आधुनिक सीपको अभाव रहँदै आएको छ । धानखेतीको प्रमुख हिस्सा मनसुनी वर्षामा भर पर्नुपर्ने अवस्था छ तर राज्यले ठोस कार्यक्रम ल्याउन सकेको छैन ।
कृषिमा आधुनिकीकरण र व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने

कार्यक्रम नहुँदा बर्सेनि अर्बौं रुपियाँ धान आयातमा खर्च गर्नुपर्ने नियति हाम्रो छ । सरकारले नीति तथा कार्यक्रममा धान पकेट क्षेत्र, उन्नत बीउ, यान्त्रिकीकरण, सहुलियत ऋण आदि कार्यक्रम अघि सारे पनि कार्यान्वयन फितलो छ । धानमा आत्मनिर्भर हुन आधुनिक कृषिप्रणाली, उन्नत बीउबिजन, गुणस्तरीय मल तथा सिंचाइको व्यवस्था हुनै पर्छ । नेपालमा धान निर्यात त परको विषय हो, तथापि उत्पादकत्व दर बढाउन सकिए मात्रै पनि परनिर्भरता न्यूनीकरण गर्न सकिन्छ । सर्वप्रथम तीनै तहका सरकारले कृषिभूमिको संरक्षण गर्नुपर्छ ।

त्यसपछि कृषिउपजको न्यूनतम मूल्य, बिमा, सहुलियत ऋणमा किसानको सहज पहुँच हुनुपर्छ । सिंचाइ, उन्नत बीउ, समयमै मल तथा यन्त्रको प्रबन्ध हुने हो भने किसानले आफ्नो पेसाप्रति गर्व गर्न सक्छन् ।
– सरस्वती पाठक, कास्की ।

प्रतिक्रिया दिनुहोस्