फेसबुकाय नमः चाकडी देवो भवः



चाकडी गर्ने तौर–तरिका नयाँ नयाँ छन् । सूचना प्रविधिमा भएको अत्याधुनिक विकासले चाकडीशास्त्रलाई पनि अत्याधुनिक बनाइदिएको छ । आजको समाजवाद–उन्मुख समाजका हरेक क्षेत्रमा चाकडीशास्त्र मौलाएकै छ । यस्तो प्रविधिले चाकडी गर्न मानिसलाई झन् सहज बनाइदिएको छ ।

धरहराले यस्ता सयौँ प्रविधि देखेको छ । अहिले भने सबैभन्दा लोकप्रिय माध्यम ‘फेसबुक’लाई यसका लागि सदुपयोग गर्न सुझाव दिन चाहन्छ धरहरा । यतिसम्मकी धरहराबाट श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमान्को चाकडी नगरे घरबार नै बिग्रने स्थिति आइसक्यो । यही बुझेर होला गाला–चाउरी सकेका दाउरे–दाउरी पनि बूढो छालामा चप्पचप्प म्वाईँ खाएको तस्वीर फेसबुकबाट हाल्न बाध्य छन् । एकले अर्काको चाकडीको तस्वीर नराखे सम्बन्ध नै बिग्रने पक्का छ । चाकडी गर्न पछिल्लो समयमा सबैभन्दा काइदा त राजनीतिक लगायत विभिन्न शक्तिको आडमा वाई–वाई कमाउनेहरूलाई भाको छ ।

अहिले यिनीहरूका लागि चाकडीको दीर्घकालीन मसला हो जन्मदिन । भित्री मनदेखि बिना स्वार्थ अरुको ‘विस’ गर्नुलाई त नराम्रो मान्दैन धरहरा तर मानिसहरूलाई के बाध्यता हो कुन्नि कनीकुथी राजनीतिकलगायत विभिन्न क्षेत्रका तीघ्रे, लाठे नेता, तिनका श्रीमती, गर्लफ्रेण्ड, छोराछोरी, मितछोराछोरी, सालोसाली, साढुदाइ–साढुभाइ आदिको समेत प्रशस्ती गाएको फेसबुकमा हाल्नुपरेको छ । यसो नगरे पदै नपाउने, पदबाट बर्खास्त हुने, बढुवा नहुने वा सधैँ ‘आइसोलेटेट हुने’ खतरा छ । त्यसैले धरहराले आज एउटा ‘आइडिया’ फुराएको छः यस्तो बाध्यतामा परेकाहरूले अब सधैँ विहान उठ्नासाथ सूर्यनारायणलाई जल छर्कँदै र राति सुत्ने बेलाँ यो मन्त्र जप्न नभुलौँ ः फेकबुकाय नमः चाकडी देवो भवः ।

प्रतिक्रिया दिनुहोस्