पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा



काठमाडौं, (नेस)
एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड २०७५ इन एसोसिएसन विथ एक्सन स्पोर्टस पावर्ड बाइ गोल्डस्टारको सम्पूर्ण तयारी पुरा भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले १६औ संस्करणको अवार्ड आज कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गर्दैछ । नेपाली क्षेत्रकुद क्षेत्रमा योगदान गर्ने खेलाडी र खेल सम्बद्व संस्थालाई प्रत्येक वर्ष सम्मान गर्ने स्पोटर््स अवार्डमा सांगीतिक र कलात्मक प्रस्तुतिहरू पनि रहने छ ।

मञ्चले सार्वजजिक गरेको विधामा पिपल्स च्वाइस अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी, वर्ष प्रशिक्षक र युवा वर्ष खेलाडीको मनोनयन रहेका छन् । पिपल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा रहेका छन् । एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस अवार्डको विजेता चयन गरिनेछ ।

त्यस्तै वर्ष पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका इन्द्रबहादुर श्रेष्ठ रहेका छन् । वर्ष खेलाडी महिलाको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् ।

यस्तै, युवा खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योञ्जन र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् । वर्ष प्रशिक्षकका लागि प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयन छन् ।

वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । मनोनयनमा परेकालाई पनि गिफ्ट ह्याम्पर र ट्रफी प्रदान गरिनेछ ।

यस वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्न लागिएको छ । यस्तै पारा एथलिट, टिम अफ दी इयर, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डको विजेता सिधै अवार्ड कार्यक्रममा घोषणा गरिनेछ । यस वर्षबाट एक जना एसियाका उत्कृष्ट खेलपत्रकारलाई पनि समेत सम्मान गर्न लागिएको छ । एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको नाममा उक्त अवार्ड प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्