एसईईको रिजल्ट नहुँदैदेखि तनाव



सरिता अर्याल
एकाबिहानै फोनको घन्टीले निद्राबाट बिउँझाइदियो । सिरानैमा भएको फोन उठाएर बिस्तारै हेलो भनेको मात्र के थिएँ, उताबाट आवाज आयो, ‘दिदी ! एसईईको रिजल्ट आजै हुन लागेको छ रे हो ?’ यो प्रश्न सुनेर म अचम्मित भएँ । रमाले गरेकी रहिछन् फोन, उनकी छोरीले एसर्ईई दिएकी रहिछन् क्यार ! र त सोधिन् । म शिक्षा क्षेत्रमा नै काम गरिरहेको देखेर उनले सोधेकी होलिन् तर मलाई के थाहा हुन सक्छ र यो मामिलामा ? उनी जस्तो म पनि त्यस्तै त हुँ, मिडियाको हो–होमा नै विश्वास गर्दै हिँड्न बाध्य भइरहेको मान्छे ।

‘छोरीले दिएको परीक्षाले तिमीलाई पीर पारे जस्तो छ नि हो ?’ मैले त जिस्किँदै रमालाई सोधेकी थिएँ तर उनको जवाफले म सोचनीय हुन विवश भएँ । ‘हो दिदी ! मेरो छोरी पढ्नमा अब्बल त होइन तर पनि राम्रैसित पास हुन्छिन् होला भन्ने छ । चिन्ता त छोरीले पो पारेकी छन् हामीलाई । रिजल्ट हुने हल्ला चलेदेखि खान–सुत्न नै छोडेकी छन् । उनको व्यवहार हेर्दा रिजल्ट सोचेजस्तो आएन भने कुनै नराम्रो निर्णय लिने हुन् कि भन्ने डर लागिरहेको छ हामी बूढाबूढीलाई । त्यसैले एकाबिहानै दिदीलाई सम्झिएको ।’

‘सोचेजस्तो रिजल्ट आएन भने पनि पीर नगर्नू भनेर छोरीलाई सम्झाऊ । छोरीसित समय बिताऊ । उनलाई मन पर्ने ठाउँमा घुम्न लिएर जाऊ । उनीसित बोलिरहू । थाहा नपाएको जस्तो गरेर उनीमाथि नजर लगाइराख ।’ दिदी भएर बहिनीलाई त सम्झाएँ तर मेरो आफ्नै मन पिरोलियो ।

एकल परिवारमा हुर्किएका अहिलेका किशोर–किशोरीलाई आमाबाबुले धेरै ध्यान पु¥याउनुपर्ने हुन्छ । त्यसमा पनि एसईईको परीक्षा दिएर बसेका छोराछोरीलाई त झन् ध्यान दिनुपर्ने हुन्छ । खालि दिमाग सैतानका घर हुने बेला हो यो । सानो कुराले ठूलो निर्णय गरेर परिवारलाई नै पीरमा पार्न सक्छन् यो उमेरका केटाकेटीले । विगतका दिनहरुले यस्ता धेरै घटना हेर्न र सुन्न विवश बनाइसकेको छ हामीलाई ।

चिन्ता त छोरीले पो पारेकी छन् हामीलाई । रिजल्ट हुने हल्ला चलेदेखि खान–सुत्न नै छोडेकी छन् । उनको व्यवहार हेर्दा रिजल्ट सोचेजस्तो आएन भने कुनै नराम्रो निर्णय लिने हुन् कि भन्ने डर लागिरहेको छ हामी बूढाबूढीलाई ।

एसईई दिएपछि अभिभावकलाई पिरलोमा पार्ने अर्को विषय हो कक्षा ११ मा कहाँ भर्ना गर्ने ? के विषय पढाउने आफ्ना नानीबाबुलाई ? अभिभावकको आर्थिक स्थितिअनुसार छोराछोरीले पढ्छु भनेको विषय र कलेज मिल्न सक्छ कि सक्दैन ? एकातिर केटाकेटी साथीभाइको लहैलहैमा विषय र विद्यालय छनोट गरिसकेका हुन्छन् भने अर्कोतिर अधिकांश बाबुआमा भर्ना गर्ने पैसाको जोहोमा पिरोलिएर साहु र बैंकको ढोका ढकढक्याउन पुगिरहेका हुन्छन् । कक्षा ११ मा भर्ना गर्ने बेलामा कलेजअनुसार हजारबाट शुरु भएको रकम लाखौं भन्नेसम्मका कलेजहरु छन् हाम्रै वरिपरि । आर्थिक विषयमा छोराछोरीसित सल्लाह गर्ने अभिभावक कमै पाइन्छन् हाम्रो समाजमा ।

छोराछोरीलाई सानै देख्ने र अनपढ आमाबाबुले प्रायः छोराछोरीलाई कुन विषय पढाउने र कुन कलेजमा पढाउने भन्ने विषयमा कुरा गर्नै चाहँदैनन् । अनि छोराछोरीले जुन कलेजमा भर्ना हुन्छु भन्छन् त्यहीँ लगेर भर्ना गरिदिन्छन् अभिभावकले पनि ।

त्यो आर्थिकरुपमा घुँडा टेकेर भर्ना गरिदिएको नानीलाई उच्च शिक्षासम्म पु¥याउन सक्ने हैसियत अभिभावकको हुन सक्छ कि सक्दैन ? त्यता ध्यान नदिनाले फी नै तिर्न नसकेर बच्चालाई बीचैमा पढाइ छुटाउनुपर्ने बाध्यतामा पुग्छन् अभिभावक । यसरी विद्यार्थीको पढाइ आर्थिक चपेटाका कारणले रोकियो भने त्यो विद्यार्थीको मानसिकतामा कस्तो असर पर्न जान्छ ? यसैले अभिभावकले परिवारिक कुरामा निर्णय लिँदा धेरै विषयमा छोराछोरीलाई पनि समावेश गर्न जरुरी देखिन्छ । सधै आफ्नै अगाडि अभिभावकको आर्थिक अवस्थाका बारेमा बुझिरहेको छोराले साथीभाइको लहैलहैमा लागेर अभिभावकको आर्थिक क्षमताभन्दा माथि उठेर कलेज छान्न पुग्दैन । अहिलेको समयमा प्रत्येक बाबुआमाले छोराछोरीसित पारिवारिक कुरासँगै आर्थिक पक्षको कुरा गर्न जरुरी देखिन्छ ।

छोराछोरीले कस्तो रिजल्ट ल्याएको छ र उसको रिजल्टअनुसार कस्तो विषय पढ्न सक्ने उसको क्षमता छ भन्ने कुरामा अभिभावक सचेत हुने नै यही बेला हो । कुन विषयमा राम्रो रिजल्ट ल्याएको छ र बच्चाको कुन विषय पढ्ने रुचि छ, त्यसमा अभिभावकले कलेजमा भर्ना गर्नुअगावै ध्यान दिन जरुरी छ । केटाकेटीले नसक्ने जस्तो विषयमा आफ्नो रुचि छ भन्दैमा यही विषय पढ भनेर अभिभावकले जबरजस्ती गर्ने हो भने त्यो बच्चाले उच्च शिक्षा हासिल गर्नै सक्दैन ।

कक्षाबाट निराश भएर निस्कन बाध्य हुन्छ बच्चा भने अभिभावकको लगानी खहरे खोलाको पानी जस्तै हुन पुग्छ । कतै अभिभावकको दबाबमा गलत विषयमा विद्यार्थी भर्ना हुन पुग्छ भने कतै साथीभाइको लहैलहैमा विद्यार्थी नै आफ्नो बुद्धि र क्षमताअनुसारले पढ्नै नसक्ने विषयमा भर्ना हुन पुग्छ । यी दुवै परिस्थितिको परिणामस्वरुप विद्यार्थीको रिजल्ट राम्रो हुन जाँदैन, जसको असर उसको पूरै जिन्दगीभरिको लागि पर्न सक्छ । त्यसैले आफ्नो नानीबाबुको रुचि र उत्तीर्ण ग्रेड हेरेर मनोपरामर्श दिन जरुरी देखिन्छ अभिभावकले ।

अहिलेका प्रायः किशोर–किशोरीमा नैतिक शिक्षाको कमी भएको महशुस हामी सबैले गर्दै आएका छौं । ११–१२ मा पढ्ने केटाकेटीहरु गलत संगतमा पर्न सक्ने जोखिम पनि अति नै हुन्छ । त्यसैले ११ कक्षामा भर्ना गर्दा कलेज कस्तो हो, कस्ता केटाकेटी त्यहाँ पढिरहेका छन्, विगतमा कस्तो रिजल्ट दिइरहेको छ ? यी सबै कुरा बुझ्न जरुरी छ । नत्र गलत संगतले छोराछोरी नै बिग्रन पनि सक्छन् ।

अहिले ११–१२ कक्षामा पढ्ने नानीहरुलाई मोबाइल शैक्षिक संस्थाभित्र लिएर जान नपाउने, घुँडाभन्दा माथि स्कट लगाउन नपाउने, मोटरसाइकल लान नपाउने जस्ता नियम त लगाएको छ, तर त्यसको पालना के–कति भइरहेको छ भनेर अनुगमन भने हुन सकेको छैन । यस्ता कुरामा अभिभावक नै सचेत हुन जरुरी छ । आफ्ना नानीबाबु नियमित कक्षामा आएका वा नआएका बेला–बेलामा बुझ्न जानुपर्छ ।

अहिलेको अवस्थामा आत्महत्या गर्नेको तथ्यांकलाई हेर्दा किशोर–किशोरीको संख्या ६० देखि ७० प्रतिशतसम्म पाइएको छ । पढाइमा सन्तोषजनक परिणाम नपाउनु र अपरिपक्व प्रेम–प्रसंगहरु नै यसको प्रमुख कारण बनेर देखा परेको छ । यदि अभिभावकले यो उमेरका छोराछोरीलाई साथीसमानको व्यवहार गरेर सबै विषयमा सरसल्लाह दिने हो भने यो आत्महत्याको तथ्यांकलाई धेरै न्यून गन सकिन्छ ।

हाम्रो मुलुकमा व्यावसायिक शिक्षामा सरकारले लगानी त धेरै गरेको देखिन्छ तर लगानीअनुसार प्रतिफल पाएको अनुभव गर्न सकिएको छैन । पढाइमा आफ्नो नानी पछाडि भएको अनुभव गरिएको छ भने पढ्न दबाब नगरी उसलाई व्यावसायिक शिक्षातिर लगाइदिँदा पनि हुन्छ । गाउँको खेतबारी बाँझो राखेर गरिखाने उमेरका छोराछोरीलाई विनासीप विदेश पठाउनुभन्दा देश, काल, परिस्थिति सुहाउँदो व्यावसायिक शिक्षातिर जान प्रोत्साहन गरेमा हामी अभिभावकको लागि पनि राम्रो हुने थियो ।

हामी अधिकांशको चाहना होला– छोराछोरी डाक्टर, इन्जिनियर बनून् र बुढेसकालका सहारा बनून् । तर एसईई परीक्षाको नतिजा हेरेर मात्र अभिभावकले निर्णय लिनुपर्छ । बच्चाको चाहना र क्षमता अनि आफ्नो पनि चाहना र आर्थिक हैसियत हेरेर मात्र कक्षा ११ को लागि तयार भयौं भने हामीले बुढेसकालमा रुनुपर्दैन भने केटाकेटीको जिन्दगी पनि उज्ज्वल हुँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस्