‘खेल न खेलकुद हो हारे पनि जिते पनि’



आगामी मंसिरमा नेपालले १३औ दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजना गदैंछ । जसअन्तर्गत ६ खेल पोखरामा सञ्चालन हुनेछ । यसैगरी २०७७ को फागुनमा गण्डकी प्रदेशले नवौं बृहत् राष्ट्रिय खेलकूद प्रतियागिता पनि आयोजना गदैछ । एक वर्षको अन्तरालमा खेलकुदको दुई वटा महा–उत्सवसंग जोडिने अवसर गण्डकी प्रदेशले पाएको छ । यसै सन्दर्भमा यसको तयारीको विषयलाई लिएर राष्ट्रिय खेलकूद परिषदका बोर्ड सदस्य तथा मदन भण्डारी स्र्पोट्स एकेडेमीका गण्डकी प्रदेशका इन्चार्ज राजेश गुरुङ्गसंग नेपाल समाचारपत्रका लागि कविरस शर्माले गरेको कुराकानी यहां प्रस्तुत गरिएको छ ।

१३ औं दक्षिण एसियाली खेलकूदमा पोखरामा कुन–कुन खेल आयोजना हुंदैछ ?
पोखराले ६ वटा खेल आयोजना गर्दैछ । महिला फुटबल र भलिबल, ह्याण्डबल, टेनिस, आर्चरी र पाराग्लाइडिंग हुन् । अहिले यसको खेलस्थलको तयारी र निर्माण पनि तीब्र गतिमा हुँदैछ ।

रंगशालाको अवस्था हेर्दा मङ्सिरसम्म खेलाउन सम्भव छ ?
सम्भव छ । किनभने निर्माणमा जुटेका ठेकेदार स्थानीय नै हो । उहाँ पोखराको हुनेखानेमा नै दरिन्छन् । त्यसैले यो काम उहाँको पनि नाम र प्रतिष्ठासँग जोडिएको छ । अरु ठेकेदार भएको भए शंका उब्जिन्थ्यो ।

माननीय खेलकूद मन्त्री ज्यू स्वयमले पोखरा भ्रमणको बेला उहाँको आदेशमा हाम्रो टिमले यसलाई गम्भीरताका साथ हेरेका छौं । मन्त्री ज्यू ले पनि समयमै खेल हुनसकेन भने राम्रो सन्देश नजाने बताउँदै आउनु भएका छन् । ठेकेदारको जुन नाम र प्रतिष्ठा छ त्यसमा असर नपरोस् भन्ने सोचका साथ पनि समयमा काम सकाउनु हुन्छ भन्ने मलाई विश्वास छ ।

यसका लागि पूर्ण बजेट निकासा भइसकेको हो ?
तपाईलाई वास्तवमा भन्नुपर्दा हाम्रो टिमलाई बजेट निकासा भएको बारे जानकारी छैन । यो विषयमा मन्त्री ज्यू अथवा सदस्य सचिव ज्यूलाई जानकारी हुनसक्छ । तर समयमा काम सकाउने हो भने बजेट निकासा पनि समयमा नै हुनुपर्छ भन्ने मलाई लाग्छ ।

म राष्ट्रिय खेलकूद परिषद्को केन्द्रीय सदस्य भएको हैसियत र हाम्रा क्षेत्रीय र जिल्ला अध्यक्षसहितको टोलीबाट काममा पर्नसक्ने कुनै प्रकारको बाधा र अड्चनलाई निरुत्साहित गर्नेछौ । ठेकेदारलाई पनि हामीले जसरी हुन्छ समयमै निर्माण सम्पन्नका लागि सक्दो गर्न निर्देशन दिँदै आएका छौं । पौडी र क्रिकेटको भौतिक पूर्वाधार निर्माणका लागि भने केहि समय अघि मात्र बजेट आएको छ ।

कहिलेसम्म सम्पन्न गर्ने मिति तोकिएको छ ?
ढिलोमा अक्टूबरसम्म सम्पन्न गर्ने कुरा छ । तर मन्त्री ज्यू ले सेप्टेम्बरसम्म सकाउनु पर्छ भन्ने पहल गर्नु भएको छ । लाग्छ मेरो विचारमा नेपालगन्जमा सम्पन्न आठौ राष्ट्रिय खेलकूदमा गरिएको कामको तीब्रतालाई हेर्ने हो भने सकिन्छ जस्तो लाग्छ । त्यहाँ फोल्डिंङ्ग सिस्टममा आधारित संरचना थियो भने यहाँ कंक्रीटबाट बन्नेछ ।

निर्माणका लागि समय पनि पर्याप्त हुन्छ जस्तो मलाई लाग्छ । वास्तवमा मैले सदस्य सचिव केशव विष्टलाई समर्थन गरेको होईन । कतिपय कमी कमजोरी होलान् । तर नेपालगन्जमा आठौं राष्ट्रिय खेलकूदको बेला भने उहाँले काम गरेकै हो । यो मेरो ब्यक्तिगत सोच हो । यदि ढुवानीमा कहीं कतैबाट समस्या आएन भने निर्माणको काम चाहिं समयमै सम्पन्न हुनेमा ढुक्क हुन सकिन्छ ।


पोखरामा साग रोकिदैन भनेर ढुक्क हुन सकिन्छ ?
यही गतिले निर्माण हुने हो भने समयमा नै रंगशाला बन्नेमा ढुक्क छुं । रंगशाला बनाउने जिम्मा पाएका ठेकेदार मेरो टोल छिमेकको नै भएकोले पनि मैले जोड गरेको छु । सम्पूर्ण राष्ट्रको इज्जत र प्रतिष्ठासँग जोडिएको यो विषय भएकोले रंगशाला कुनै पनि हालतमा समयमा नै तयार गर्नुपर्छ भनेर भन्ने गरेको छुं । यो बाहेक काममा कुनै बाधा अड्चन नआउनका लागि उहाँहरुले पाउनुपर्ने भुक्तानी र आवश्यक सामाग्री समयमा नै उपलब्ध गराउन भने जरुरी छ ।

निर्माणधीन पोखरा रंगशालाको दर्शक क्षमता कति छ ?
अहिले यसको क्षमता १८ हजार ५ सय हो । तर भविष्यमा ५÷६ हजार बढाउने मिल्ने गरी रंगशाला निर्माण हुँदैछ । रंगशालामा पानीको ब्यवस्थामा अझ सुधार गर्न १ लाख लिटरको ट्याङकी थप बनाउन सक्यौं भने अझ राम्रो हुनेछ ।

६ खेलमध्ये रंगशालाभन्दा बाहिर हुने खेलस्थलको अवस्था कस्तो छ?
पोखरा एउटा पर्यटकीय नगरी हो । पाराग्लाइडिंगको लागि पनि चर्चित स्थल हो पोखरा । रंगशालाभन्दा बाहिर हुने खेलमध्ये पाराग्लाइडिंग पनि पर्छ । त्यसैले पाराग्लाइडिंग हुने खेलस्थलबाट सन्तुष्ट हुन सकिन्छ । तर खेलाडीको हितमा भने हामीले अपेक्षा गरे जति गर्न सकेका छैनौ ।

अधिकांश खेलाडीहरु सकेसम्म विभागीय टोलीहरु विरुद्ध प्रतिस्पर्धा गर्न हिचकिचाउने गरेको महसूस हुन्छ । तर वास्तवमा भन्ने हो भने खेलाडीले आफ्नो स्तर उकास्न आफूभन्दा उत्कृष्टसँग नै खेल्नुपर्छ जस्तो मलाई लाग्छ । त्यसैले विभागीय टोलीसँग खेल्दा अन्य क्षेत्रका लागि पनि लाभदायक नै हुन्छ ।

खेलाडीलाई कति समय अगावै पोखराको खेलस्थलमा प्रशिक्षण गराउँदा उपयुक्त होला ?
तयारीका लागि क्लोज क्याम्पमा बस्ने प्रशिक्षकहरुले राम्रो संयोजकको भूमिका निर्वाह गर्न आवश्यक छ । कुन समयमा र कति अवधिमा आफ्ना खेलाडीलाई प्रशिक्षण गराउँदा उपयुक्त हुन्छ भन्ने तालिका उहाँहरुले बनाउनु पर्छ । अनि हामीले पनि उहाँहरुलाई समयमै सबै कुरा उपलब्ध गराउन सक्यौं भने धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई ।

१३औं सागमा आउने अन्य देशका खेलाडी तथा पदाधिकारीको स्वागतका लागि पोखराले कस्तो तयारी गर्नेछ ?
यो कुरा तपाईले सम्झाउनु भयो धन्यवाद । पहिलेदेखि नै म गीतमा पनि रुचि राख्थे । १३औं साग र नवौ राष्ट्रिय खेलकुद दुवैलाई मध्यनजर गरी मैले अहिले राष्ट्रिय गान पनि तयार पारको छुं । मेरो साथीसँग मिलेर मैले आफ्नो आइडिया बांडेर पोखरा रंगशाला भन्ने एउटा गीत छ तयार गरेको छुं । “खेलन खेलकूद हो हारे पनि जिते पनि“ भन्ने शब्द राखेका छौं । यो गीत स्वागत र मनोरञ्जनका लागि बजाउन माननीय मन्त्री ज्यू लाई मैले निवेदन गरेको छुं ।


आगामी प्रतियोगिताका लागि गण्डकी प्रदेशमा कस्तो तयारी हुनेछ ?
आठौको बेला नेपालगञ्जमा जुन झलकहरु देखियो नि, त्यहां राम्रो र नराम्रो दुवै पक्ष देखियो । पोखरामा हुन लागेको १३औं साग एउटा पाटो हो भने अर्को झनै ठूलो पाटो हो नवौ राष्ट्रिय खेलकूद । नवौमा त हामी यस्तो गर्छौ की कुनै कसर बांकी राख्दैनौ । अलिकति पनि तलमाथि हुन दिदैनौ भनेर तपाईको मिडियामार्फत् भन्न चाहन्छु । यसैगरी १३औं सागमा पाल्नुहुनेलाई यहाँका बिभिन्न तालहरु र प्राकृतिक सुन्दरता अवलोकन लागि राम्रो ब्यवस्था मिलाउनेछौं ।

पर्यटकहरुले पोखरामा जसरी मनोरञ्जन लिने गरेका छन्, त्यस्तै ब्यवस्थाको लागि हामीले पूर्वतयारी गर्नेछौं । यहाँ आयोजना हुने ती दुवै खेल महोत्सवमा स्थानीय जनजातिका भेषभूषा झल्काउने सांस्कृतिक नाच प्रस्तुत गर्नेछौ । जसका लागि यहाँको उधोगी, होटल ब्यवसायी, संघ संस्था लगायत सबै निकायसँग समन्वय गरी टिम बनाएर हामी अघि बढ्छौं ।

यहाँ पुग्ने सम्पूर्ण खेलकर्मीहरुलाई एउटा बेग्लै खालको खेल माहौलको अनूभूति गराउन हामी तत्पर छौं । गत आठौँ राष्ट्रिय खेलकूदमा फरक खेलस्थल र त्यहां पुग्न लामो दूरी तय गर्नु परेका कारण थुप्रै खेलाडीले उद्धघाटन हेर्न पाएनन् । जसलाई मध्यनजर गरी नवौमा सम्पूर्ण खेलाडीले पोखरा रंगशालामा उद्धघाटन हेर्ने सहज वातावरण मिलाउने हाम्रो योजना छ ।

अर्थात् नवौमा एउटै भेन्यूमा सबै खेलाडीले खेल्न पाउंछन् भन्ने तपाईको आशय हो ?
सम्भव भएसम्म सबै खेल एउटै भेन्यूमा गराउंछौ । यदि सम्भव भएन भने नजिकको दूरीमा खेलहरु सञ्चालन गर्नेछौ । सबै खेलाडीले उद्धघाटन हेर्न पाउनुपर्छ भन्ने मेरो धारणा हो । कुनै पनि अन्तराष्ट्रिय खेल महोत्सवलाई हेर्नुस न उद्धघाटनमा सम्पूर्ण खेलाडी रंगशाला जम्मा हुन्छन् ।

त्यसैको अनुसरणको प्रयास हुनेछ । अनि सम्भव भएसम्म समापन समारोहमा पनि खेलाडीहरुको बाक्लो उपस्थिति रहने वातावरण तयार पार्छौ । खेल आयोजना गराएपछि खाने, बस्ने र यातायातलाई ब्यवस्थित बनाउनेतिर हामी गम्भीर छौं । मुख्यतः विगतमा भएको कमी कमजोरी नवौमा नदोहोरिउन भन्ने हाम्रो सोच हो । बरु हाम्रो आयोजनालाई देखेर दसौको आयोजकलाई पनि अझ स्तरीय रुपमा प्रतियोगिता आयोजना गर्न प्रेरणा मिलोस् भन्ने चाहन्छौ ।


आठौभन्दा ब्यवस्थित गर्न के कस्तो योजना छ ?
आठौमा कतिपय स्थानमा एउटा गेटसम्म थिएन । यस्तो विषयमा हामी पोखरेलीहरु बढी संवेदनशील छौं । गण्डकी प्रदेशको प्रवेश मार्ग मुग्लिंगबाट गेट राख्ने हाम्रो योजना छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पनि खेलमा चासो राख्नुहुन्छ । यसैगरी पोखराका मेयर पनि खेलप्रति चासो राख्नुहुन्छ । हामी उहाँहरुलाई ब्रिफिंग गर्नेछौ । त्यसै आधारमा उहाँहरुले योजना बनाउनु हुन्छ । केन्द्रको मात्र होईन, यो स्थानीय र प्रदेश सरकारको पनि दायित्व हो । यसलाई मध्यनजर गरी सम्पूर्ण निकाय, समुदाय र समूहसँग हातेमालो गर्नेछौ । सबै जिम्मेवारी अभिभावकलाई मात्र थोपर्नु हुदैन भन्ने मलाई लाग्छ ।

खेल र खेलाडीको हितका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?
मरेर कसैले पनि केही लादैन, मैले देखेको छु खेलकुदमा लागेर अमूल्य योगदान दिने अग्रजहरु बितेर गए । तर केहि पाएका छैनन, बस एउटा नाम हो, जो इतिहासको पानामा सधै रहिरहन्छ । हामी यति पुस्तालाई पुग्ने पैसा कमाउँछौ, उति पैसा कमाउँछौ भनेर लाग्नु बेकार हो जस्तो मलाई लाग्छ । हामी यो संसारमा नाटक गर्न आएका हौं, नाटक कति दिन सफल हुन्छ र । यदि खेलकूदमा कोही आउँछन भने खेलकूदको हितका लागि काम गर्नुपर्छ ।

कति कुरा कर्मचारीहरुका हुन्छन् । अनि खेलाडीको हितमा कसरी काम गर्नेमा ध्यान जोड दिनुपर्छ । आफुलाई चाहिने सुविधा के हो, आफुले पाउने सेवा सुविधा बाहेक अरु केहि थोक दायाँ बायाँ गर्नु भएन । खेलाडीलाई आवश्यक कुराहरु समयमै उपलब्ध गर्न र त्यस्ता कुरा ब्यवस्थित गर्न सक्यौं भने खेलाडीको हितमा काम हुन्छ ।

उदाहरणको लागि क्रिकेट खेलाडीलाई लिन सकिन्छ । न कुनै स्तरीय मैदान छ, जुन उपलब्ध त्यहाँ पनि पिउने पानी र बत्तीको समस्या छ । अनि विदेशमा जितेर आउँदा ड्रम बजाएर स्वागत गर्न एयरपोर्ट पुग्छौ । तर भोलिपल्ट केहि छैन । त्यस्तो हुनु हुदैन । खेलाडीले खेलेबापत नेपालमा के पाउने ? खेलाडीलाई आफ्नो योग्यता अनुसार रोजगारी अवसर जुराउन के गर्नुपर्छ भन्नेतिर सोच्नुपर्दछ । यो नै खेलाडीका लागि उचित कदर पनि हो । अरुलाई र उसलाई हेर्ने नजरमा भिन्नता हुनुप¥यो ।

खेलकूद क्षेत्रले पनि आरक्षण पाउने पर्ने हो ?
पाउनु प¥यो । अब आउने सदस्य सचिवले त्यो खालको पहल गर्नुपर्छ ।

अब आउने सदस्य सचिव कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
राम्रो स्वभावको हुनुप¥यो । सबैलाई मिलाएर लान सक्ने खूबी हुनुप¥यो । खेलकूदको हितमा काम गर्न जुझारूपन भएको सदस्य सचिव भयो भने नेपाली खेलकूदले काँचुली फेर्छ । मानौ, कुनै खेलाडीले उमेरका कारण खेल्न सकेनन् भने उसलाई सम्बन्धित खेलको नेतृत्वतिर जान सक्ने वातावरण तयार गरिनु पर्दछ । खेलाडी हितका लागि त्यस्ता ब्यक्तिले धेरै गर्न सक्छ जस्तो मलाई लाग्छ ।

आफ्नो खेलकूद जीवन बारे केहि कुरा बताइदिनुस न ।
२०४० साल तिर तेक्वान्दो खेलेको थिए । त्यसपछि २०४२ सालतिर बक्सिंगतिर आकर्षित भए । मैले २०४५ सालको राष्ट्रिय खेलकूद प्रतियोगितामा गण्डकी प्रदेशबाट बक्सिंग पनि खेलेर ७५ केजी तौलमा काश्य जितेको थिए । त्यसपछि इन्डियन आर्मीमा भर्ती भए । तर छोटो अवधिमा नै इन्डियन आर्मीको जागीर छोडेर विदेश गए । केहि समय पश्चात् म नेपाल फर्के ।

त्यसपछि म नेपाल बक्सिंग संघको उपाध्यक्ष समेत भए । त्यतिबेला नेपाल बक्सिंग संघको अध्यक्षमा रवि राज थापा हुनुहुन्थ्यो । खेलाडी भएर खेलाडीको हितमा काम गर्नुपर्छ भन्ने मेरो सोच थियो । २०६४ मा पोखरामा भएको बक्सिंगको २२औं राष्ट्रिय प्रतियोगिताको संयोजक नै म थिएं ।

त्यतिबेला हाम्रो कुल बजेट २२ लाख थियो । तैपनि मैले सुनको मेडल दिनुपर्छ भनेर प्रस्ताव राखे । सुरुमा त उहाँहरु तर्सिनु भयो । त्यतिबेला सर्लाहीमा एकजना राष्ट्रिय प्रतियोगिता खेलेर स्वर्ण जितेका खेलाडी बिरामी हुँदा उपचारको लागि पैसा नभएर गिट्टी कुटेर खानु परेको मैले देखेको थिएं ।

अनि त्यो अवस्थालाई मध्यनजर गरी अलि बहुमूल्य मेडल नै दिन पाए खेलाडीलाई केहि हदसम्म राहत मिल्छ कि भन्ने लागेर मैले सुनको नै मेडल दिनुपर्छ भन्ने अडान लिएको थिएँ । त्यसैले मैले एकल निर्णय गरेर मेरो साथी ऋषिराम गौतम लगायत अन्य मित्रहरु तथा अन्यबाट प्राप्त सहयोगलाई मिलाएर शुद्ध सुन र चाँदीको मेडल दिए ।

खेलकूदले मलाई प्लेटफार्म दिएपछि खेलकूदलाई बनाउनु पर्छ भन्ने मेरो धारणा हो । म नेपाल शूटिंग संघको पनि उपाध्यक्ष भएँ । नेपाल ब्याडमिन्टन संघको पनि सदस्य बने । भर्खरै पोखरामा सम्पन्न छैटौ राष्ट्रिय बिच भलिबल प्रतियोगितामा पनि १ लाख जति सहयोग गरेको छुं । वर्तमान परिप्रेक्ष्यमा नेपाली खेलकूदलाई विभागीय टोलीहरुले धानिरहेको छ ।

पूर्व बक्सर भएकोले अहिले नेपाली बक्सिंगको स्तर कस्तो देख्नुहुन्छ ?
हामीमा डाहा गर्ने प्रवृत्ति हावी छ । खेल संघमा बडा राजनिति चल्ने गरेको छ । राजनिति गर्नु राम्रै कुरा हो । राजनिति गरेका पनि छौं हामीले र राजनितिबाट नै आएका पनि हौं । राखेप बोर्ड सदस्य दोस्रो पटक हो मेरो । यसभन्दा अघि युवराज लामा सदस्य सचिव हुंदा नयाँ साथी बस्नुपर्छ भनेर मैले बोर्ड छोडेको थिए । हामीसँग राम्रा खेलाडीहरु छन् । तर उनीहरुलाई एडभान्स स्किल दिन सकिरहेको छैन ।

अनि खेलाडीको मर्म खेलाडीले मात्र बुझ्न सक्छ । त्यसैले राजनीतिबाट खेलकूदको पदाधिकारी भए पनि खेल पृष्ठभूमि छ भने उसले खेलकुदमा धेरै गर्न सक्छन् । कोही ब्यक्ति कुनै खेलकूद संघको अध्यक्ष बन्छ भने उसले छाती फुलाएर हिड्न सक्ने काम गर्नुपर्छ । अहिले एउटै खेलको संघ पनि एक भन्दा बढी भएका छन् । यसले पनि खेलकुदलाई बिगारी रहेको छ । तर त्यस्ता संघहरुबीच भिडन्त गरेर एउटा उत्कृष्ट खेलाडी जन्मियो भने देशलाई नै फाइदा भने पुग्छ ।

अहिले र पहिलेको तयारी प्रशिक्षणमा कस्तो अन्तर छ ?
म आफैँ पनि खेलाडी हुँ । बक्सिंग खेल्थे । खेलकूदमा हिजो भएका राम्रो कुराको नाम लिनुपर्दा शरद चन्द्र शाहलाई सम्झिनु पर्छ । त्यो बेला खेलाडीहरुको हितका लागि उहाँले थुप्रै कुराहरु गर्नुभएको थियो । यधपि त्यो बेलाको खेलकुदभन्दा अहिलेकोले फड्को मारेको छ । पहिला हामी ५० रुपैयाँ खर्चमा क्लोज क्याम्पमा बस्थे । साधारण एउटा टि–शर्ट दिइन्थ्यो । गण्डकी भनेर लेखेको हुन्थ्यो । साधारण एउटा जुत्ता हुन्थ्यो ।

१३औं साग अन्तर्गत पोखरामा हुने ६ खेलको तयारी कस्तो छ ?
अहिले फुटबलका लागि ग्राउन्ड बन्दैछ । भलिबलको पनि तयार हुदैछ । पाराग्लाइडिंगले आफ्नै हिसाबले गर्दैछ । आर्चरीको पनि प्रशिक्षण भइरहेको छ । यो विषयमा क्षेत्रीय अध्यक्ष सम्पन्न श्रेष्ठसँग मेरो कुराकानी भइरहेको छ । खेलस्थलको काम समयमा नै सकाउनु पर्छ र खेलाडीलाई पनि खेलस्थलमा नै प्रशिक्षण गराउन सके राम्रो नतिजाको अपेक्षा गर्न सकिन्छ भन्ने मेरो सोच हो ।

तपाईंको ब्यक्तिगत जीवनको बारेमा केहि बताइदिनुस ।
गुरुंङ्गको छोरो हुं पढाईमा खासै रूचि थिएन । तर खेलकूदप्रतिको मोहले गर्दा यो क्षेत्रतिर तानियो । युवा अवस्थामा खेलाडी भइयो, भारतीय सेनामा पनि जागीरे भइयो अनि विदेशतिर पनि लागियो । अहिले भने म ब्यवसाय पनि गर्छु । मेरो रियल स्टेटको ब्यवसाय छ । कृषि पनि गर्छु । मैले भैंसी पनि पालेको छु । कृषिको कुरा गर्ने हो भने वास्तविक कृषकहरु अझै पनि राज्यको अनुदानबाट बञ्चित नै छन् । कृषक भएको कारणले यो कुरा पनि तपाईको मिडियामार्फत् सरकार समक्ष पुग्छ की भन्ने मैले आशा गरेको छुं ।

प्रतिक्रिया दिनुहोस्