साइड डान्सरबाट डाइरेक्टर



रश्मी थापा

डेढ दशकदेखि म्युजिक भिडियो निर्देशनमा सक्रिय उमेश गुरुङको परिचयमा पछिल्लोपटक निर्देशक र अभिनेता पनि थपिएको छ। गत वर्ष रिलिजमा आएको फिल्म जेसुकै होसबाट फिल्म निर्देशन र अभिनयमा पनि आएका उमेश सानैदेखि नाच्नमा सौखिन थिए। यही सौखले उनलाई साइड डान्सरदेखि डाइरेक्टरसम्म बनाइदिएको छ।

गाउँघरमा नाच्ने मान्छे सबैको प्यारो भएको र इज्जत पाएको देखेर आफू पनि नृत्यप्रति आकर्षित भएको उमेश बताउँछन्। ‘नाच्न पाए सबैको प्यारो भइन्छ भन्ने लाग्थ्यो। त्यसैले गाउँघरका विभिन्न कार्यक्रममा नाच्थें। पछि आएर थाहा पाएँ मैले विभिन्न स्टेपको कम्पोज त्यो बेला नै गरिरहेको रहेछु। त्यो कुरा काठमाडौं आएर डान्स सिकेपछि थाहा पाएँ।’ –उमेश सुनाउँछन्। ‘२०५७÷०५८ सालतिर थप पढाइका लागि लमजुङबाट काठमाडांै आएँ।

पढेर ठूलो मान्छे बन्नुभन्दा पनि नाच्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। काठमाडांै आएर डान्स सिकिरहँदा यो क्षेत्रलाई व्यवसायका रूपमा अंगाल्न सकिन्छ भन्ने थाहा थिएन। गाउँबाट सीमित पैसा लिएर आएको थिएँ। घरबाट पठाउने गरेको पैसाले पुग्दैनथ्यो। काठमाडौंमा एक जना साथीसँग मिलेर बसेको थिएँ। उसको विवाह भएपछि छुट्टै कोठा लिएर बस्न थालें र एक कम्पनीमा सहायक अकाउन्टेन्टको रूपमा काम शुरू गरें’, उमेश संघर्षका दिन सम्झँदै थिए– ‘तलब २५ सय रुपियाँ थियो। छोराले जागिर खायो रे भनेपछि घरबाट पैसा पठाउने कुरा पनि भएन। त्यसैले जागिर पनि खान्थें, डान्स क्लास पनि भ्याउँथें।’

कल्चरल, मोडर्न, क्लासिकललगातय विभिन्न विधाका नृत्य सिकेका उमेश करिब ६ महिनपछि फिल्मका गीतमा कोरस कलाकारका रूपमा नाच्न थाले। त्यसको २ वर्षपछि म्युजिक भिडियो निर्देशन गर्न थाले। ‘फिल्ममा नाच्दा दिनकै १ हजार रुपियाँ पाउँथें। तर, महिनाभरि अफिसमा काम गर्दा २५ यस मात्र कमाउँथें। हिरो–हिरोइनको पछाडि नाच्दै गर्दा डान्स डाइरेक्टरले हिरो–हिरोइनलाई कसरी नचाइरहेको छ, स्टेपहरू कसरी सिकाइरहेको छ भन्ने याद गरिरहन्थें। करिब १ वर्ष डान्स सिकेपछि मैले सिकिरहेको कल्चरको गुरुले मलाई आफ्नो सहायक बनाउनुभयो।

२ वर्षजति डान्स क्लास लिएपछि म पनि डिरेक्सन गर्न सक्ने रहेछु भन्ने कन्फिडेन्स भयो। तर, नयाँ मान्छे, मलाई काम गर भनेर काम दिने कोही थिएन। त्यति बेला भर्खर–भर्खर म्युजिक भिडियो बन्न शुरू भएको थियो। म म्युजिक भिडियोको साइड डान्सरको टिम लिडर थिएँ। एकदिन मैले बोलाएको कोरस कलाकारमध्ये एक जना केटा आएन। म्युजिक भिडियो टिमले तिम्रो मान्छे आएन कि मान्छे ल्याउ कि तिमी आफैं नाच भन्न थाले। त्यही बेला मैले म्युजिक भिडियोमा कोरसमा नाचें।

मलाई कोरस ग्रुपलाई स्टेप सिकाउने जिम्मा पनि दिनुभयो। सुटिङ सकिएपछि प्रोड्युसर र क्यामेराम्यान आएर डान्स डिरेक्टरले सिकाएको स्टेपभन्दा तपार्इंले सिकाएको स्टेप राम्रो लाग्यो, तपाईं म्युजिक भिडियोको नृत्य निर्देशन गर्न सक्नुहुन्छ भनेर सोध्नुभयो। मैले पनि मौका पाए फरक तरिकाले राम्रो गर्न सक्छु भनिदिएँ। उहाँहरूले भोलि सुटिङमा आऊ भन्नुभयो। गाना राम्रो भयो।’ –आफ्नो पहिलो म्युजिक भिडियो निर्देशनको अनुभव शेयर गरे उमेशले।

२०६० सालबाट निर्देशनमा लागेका उमेशले निर्देशन गरेका म्युजिक भिडियो एकपछि अर्को आउँदै गर्दा उनलाई फिल्म क्षेत्रमा काम गर्ने अवसर आयो। निर्देशक दयाराम दाहालका साथ कहाँ छौ कहाँमा क्ल्याप ब्वाइका रूपमा काम शुरू गरेका उनले दोस्रो फिल्म द फ्ल्यास ब्याकमा मूख्य सहायक निर्देशक भएर काम गरे।

त्यसपश्चात् विष्णु माझी र बलवीर थापाको स्वरमा रहेको तिमीबिना एक्लै भाछु म बोलको गीतमा निर्देशक दयाराम दाहाल र नायिका झरना थापालाई मोडल लिएर म्युजिक भिडियो निर्देशन गरे। उक्त गीतले अत्यधिक चर्चा र सफलता बटुल्यो। उमेश मानिसको नजरमा म्युजिक भिडियो निर्देशकका रूपमा चिनिन सफल भए। ‘उक्त गीतलाई मैले कथानकरूपमा निर्देशन गरेको थिएँ।

गीतको भिडियो कथानक हुन थालेको यही गीतबाट नै हो’, गुरुङले दाबी गरे– ‘साथै लोकदोहोरी गीतको भिडियोमा पहिलोपटक एनिमेसनको प्रयोग पनि मैले गनै गरेको थिएँ।’ बिमाकुमारी दुरा, लक्ष्मी न्यौपानेलगायतका चर्चित गायकगायिकाको अधिकांश लोकगीत उनले नै निर्देशन गरेका थिए।

उमेश हिजोआज अभिनय पनि गर्छन्। एक टेलिभिनजन कार्यक्रममा दर्शकसँगको अन्तरक्रियामा अभिनय पनि गर्नका लागि सुझाव आएपश्चात् अभिनय शुरू गरेको उनले बताए। ‘कुराकानीको क्रममा दर्शकले तपार्इं नै मोडलिङ गर्नुहोस् भन्ने रिक्वेस्ट गरेपछि मैले अबको एक हप्ताभित्र मोडलिङ गर्छु भनेर म्युजिक भिडियोमा अभिनय शुरू गरें। अरूको डिरेक्सनमा अभिनय गर्नुभनेको सजिलो कुरा हो। तर, आफूले निर्देशन गरेर अभिनय पनि गर्नुभनेको दुई वटा भारी बोक्नु जस्तो हो।

तर, पनि मैले त्यो आँट गरें। हजार जुनी जुनीमा गीतको म्युजिक भिडियोमा डबल रोल गरें। त्यो गीतको म्युजिक भिडियो पनि निकै चर्चित भयो भने धेरै अवार्ड जित्न सफल भयो।’ –उनले सुनाए। विभिन्न विधाका करिब १५ सय म्युजिक भिडियो निर्देशन गरेका उमेशले तिमीबिना एक्लै भाछु मदेखि पूर्वेली भाकामा रहेको गुडी जाने रेल, झ–झल्को आइरन्छ, टुक्रा पार्न मिल्ने भए, एकोहोरो माया, मुसलधारे पानी जस्ता चर्चित गीतका भिडियो निर्देशन गरेका छन् भने करिब ५० गीतमा अभिनय र मोडलिङ गरेका छन्।

‘म नेपालभित्रका सम्पूर्ण जातजातिको कल्चरल भिडियो निर्देशन गर्न सक्छु भन्ने ग्यारेन्टी गर्न सक्छु। किनभने यसका बारेमा मैले स्वअध्यन तथा अनुसन्धान गरेको छु।’ –उनी भन्छन्। म्युजिक भिडियोमा आउनका लागि विभिन्न ज्ञान, सीप र अनुभव लिएर आएमा यो क्षेत्रका साथै आफ्नो करिअरलाई पनि निकै सहयोग हुने उमेश बताउँछन्। ‘निर्देशकले गीतमा सारंगी किन बज्यो, ड्रम किन बज्यो, भ्वायलिन किन बज्यो भनेर सोच्नुपर्छ र त्यहीअनुसार कन्सेप्ट बनाउनुपर्छ। बिट काउन्ट नै गर्न नजान्ने मान्छे पनि केही पैसा दिएर असिस्टेन्ट राख्दै डाइरेक्टर बन्नेहरू धेरै छन्। पहिले टेलिभिनजमा कार्यक्रम चलाउने र म्युजिक भिडियो निर्देशक बन्ने गर्थे।

किनभने टिभीमा प्रोगाम चलाउनेलाई निर्देशन गर्न दियो भने उसले आफ्नो कार्यक्रममा गीत बजाउँछ भन्ने हिसाबले गायकगायिकाहरू प्रोगाम प्रिजेन्टरलाई निर्देशन गर्न दिन्थे। जसले गर्दा ज्ञान नै नभएका मानिस आउने क्रम बढेको थियो। तर, अहिले युट्युबको जमानामा त्यस्ता डाइरेक्टर हराएका छन्। तर, मजस्तो यही क्षेत्रमा स्ट्रगल गरेर आएका निर्देशकहरू चाहिँ अहिले जमिरहेका छन्। टिभीको पावरमा निर्देशन गर्नेहरू अहिले कत्ति पनि छैनन्।’ –उनी भन्छन्।

हाल नेपाल संगीत उद्योग संघको सचिव रहेका उमेशले करिब आधा दर्जन फिल्मको अनुभवबाट लिएको ज्ञान प्रयोग गर्दै आफ्नै होम प्रोडक्सन क्वालिटी फिल्म्स्को ब्यानरमा नवराजजंग थापाको सहकार्यमा जेसुकै होस् नामक फिल्म निर्माण र निर्देशन गरे। ब्राउन सुगर प्रयोग गर्ने नजिकका दाइहरूको अवस्था देखेर लागूऔषधको कुलतले समाजमा ल्याएको विकृति देखाई सन्देश दिन फिल्म बनाएको उमेश बताउँछन्। ‘फिल्मको ट्रेलर हेर्दा धेरैले गाली गरेका थिए।

तर, जब फिल्म हेरें, यो त जनचेतनामूलक फिल्म रहेछ। यस्तो फिल्म त सरकारले निर्माण गर्नुपर्ने हो भन्ने प्रतिक्रिया दिएँ। अरूको फिल्ममा काम गर्दा फिल्ममा काम गर्ने शैली थाहा भयो। त्यसैको आधारमा फिल्म निर्माण र निर्देशन गरें। करिब ७० लाख लगानीमा बनाइएको यो फिल्मको नेपाल रिलिजबाट हामी आर्थिकरूपमा सन्तुष्ट छैनौं। तर, यो फिल्मबाट धेरै कुरा सिक्यौं, जुन अर्को फिल्मलाई काम लाग्छ।’ –उनले चित्त बुझाउँदै भने।

प्रतिक्रिया दिनुहोस्