विप्लवको बाटो



नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सात नेता तथा कार्यकर्ता मारिएपछि नागरिक समाजका अगुवा व्यक्तिहरुमा चासो जागेको छ– आखिर के चाहन्छ यो पार्टी ? राजतन्त्र फर्काउन चाहने राप्रपा नेपालदेखि देशलाई नै टुक्र्याउन चाहने सीके राउतलाई मूलधारमा ल्याउने सरकारले किन विप्लवलाई असह्य मान्यो ? संक्षिप्तमा भन्नुपर्दा नेकपा विप्लव समूह वर्तमान सत्ताको परिवर्तन चाहन्छ ।

पुष्पकमल दालाह प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत सक्ता परिवर्तन गरेर सरकारमा गएका होइनन्, सम्झौता गरेर ‘पुरानो सत्ताको पनि जीत विद्रोही समूहको पनि जीत’ भन्दै मूल धारको राजनीतिमा प्रवेश गरेका कारण सत्ता परिवर्तन भएन, केबल सरकार परिवर्तन भयो, यसरी हेर्दा तत्कालीन माओवादी नेताहरुले जनतालाई धोका दिए भन्ने विप्लव समूहको विश्वास रहेको देखिन्छ ।

आजको नेपाली सेना, नेपाल प्रहरीलगायतको सुरक्षा निकायलाई विस्थापन गर्ने, परराष्ट्र सम्बन्धमा नयाँ आधार खडा गर्ने र ‘देशभक्त अधिनायकवादी’ शासन चलाउने सोचका साथ भूमिगत राजनीतिमा लागेको समूह हो नेकपा विप्लव । ऊ प्रचलित अमेरिकी, बेलायती, भारतीय कुनै लोकतान्त्रिक शैलीलाई स्वीकार गर्दैन । ऊ ‘सर्वहारा वर्ग’ को अधिनायकत्व चाहन्छ । पछिल्लो पात्र सर्लाही जिल्ला इञ्चार्ज मारिएपछि विप्लव अर्को प्रतिरोधात्मक वा बदला लिने मानसिकताका साथ प्रकट भएको छ ।

यसअघि भोजपुरमा मारिएका एक नेताको बदला दिन पनि उसले यस्तै बाटो अपनाएको थियो । तर, एकपछि अर्को आफ्नै नेता–कार्यकर्ता गुमाएको छ । पछिल्लो श्रृंखलावद्ध बम विस्फोटनका घटनाले उसलाई प्रचारात्मक लाभ त दिएको हुनसक्छ, तर जनशक्ति र स्रोत–साधनका दृष्टिले सरकारका अगाडि विप्लव समूह निकै कमजोर देखिएको छ । राजनीतिक लक्ष्य नयाँ लिएपनि आन्दोलनको शैली भने आम जनतालाई नै त्रसित र आतंकित बनाउने पुरानै तरिकाको देखिएकाले यस समूहले नागरिकको मन जित्न सकेको देखिन्न ।

खासगरी, विविध कमजोरीका बाबजुद लोकतन्त्रलाई नागरिकले स्वीकार गरेका छन्, यसैको माध्यमबाट मुलुकमा असल शासन ल्याउन सकिन्छ भन्ने विश्वासमा छन्, कुनै पनि नामको अधिनायकवाद स्वीकार गर्ने पक्षमा नागरिक देखिंदैनन् । विगतमा कम्युनिष्ट नाम भएका सबैजसो दलले जनतामा जान विस्तारवाद र साम्राज्यवादविरोधी नारा दिए, तर सरकारमा जाँदा यस्ता शक्तिकै पाउमा बसे । यही क्रम नेकपा विप्लवले नदोहो¥याउला भन्ने आधार जनताले आजसम्म देखेका छैनन् ।

आज, भ्रष्टाचारप्रति शून्य सहिष्णुताको एक्लो सिद्धान्त बोकेर अगाडि आउने जो कोही समूहले नेपालको सरकारमा स्थान बनाउनसक्छ । आजका नम्बर एक–दुई–तीन उचाइका दल भोलि धराशयी हुनसक्छन् । त्यसका लागि यही संविधानभित्र रहेर काम गर्नसकिन्छ, सत्ता परिवर्तनका लागि आवश्यक लगानी र उर्जा तत्काल नागरिकमा देखिंदैन । कम लगानीमै पर्याप्त लाभको सम्भावना छभने हजारौं हजारको वली दिन को तयार होला ?

फेरि हिजो १८ हजारको मझेरीभरिको बलिदानबाट प्राप्त मुठीभरिको उपलव्धिलाई जनताले भुलेका पनि छैनन् । खासगरी मिडिया क्षेत्र जो अभिव्यक्ति र प्रकाशन–प्रसारणको स्वतन्त्रतामा रमाइरहेको छ, उसले जुनसुकै नामबाट आओस्, अधिनायकवादी सरकारलाई स्वीकार गर्न सक्तैन । यी सबै पक्षमा विप्लव समूहले आजै सोच्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्