प्रतियोगितामा नेपाल लोक स्टार



लोकगीतको बढ्दो लोकप्रियतालाई थप उचाइ दिन टेलिभिजन गायन रियालिटी शो नेपाल लोक स्टार आगामी असार १२ गतेदेखि टेलिभिजनमा आउने भएको छ। प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे यसको प्रसारण एपी वन एचडीमा हुने भएको छ। कार्यक्रमको ३६ शृंखला निर्माण गरिने निर्माण पक्षले जानकारी गराएका छन्।

लोकसंगीतलाई व्यावसायिक बनाउने प्रयासस्वरूप नेपाली टिभी च्यानलमा सर्वाधिक रुचाइएको रियालिटी शो विधासँग लोकसंगीतलाई समायोजन गरी नेपाल लोक स्टार कार्यक्रम जन्मेको हो।

कार्यक्रमको लागत करिब १० करोड रुपियाँ रहेको छ। यसको निर्माण चाहना मिडियाले आफ्नै मौलिक संगीतलाई अन्तर्राष्ट्रिय शैलीमा ढाली नेपाली ब्रान्डमा बन्न लागेको शोको निर्माणमा संलग्न सम्पूर्ण टिम नेपाल आइडल सिजन–२ र बुगी उगी सेसन–१ को निर्माणमा संलग्न व्यक्तिहरू हुन्। यस कार्यक्रमको प्रमोसन र बजार व्यवस्थापन गर्नका लागि एडप्याट प्रालिलाई आधिकारिक एजेन्सी दिइएको छ।
७ वटै प्रदेशमा अडिसन आयोजना गरी हजारौंको संख्यामा आएका लोकदोहोरी गायकगायिकामध्येबाट सरदर प्रतिप्रदेश ५० प्रतिस्पर्धी खुला अडिसनबाट छनोट गरिएको आयोजकले जानकारी गराएका छन्। खुला अडिसन गत फाल्गुन १६ गते शुरू भई चैत २५ गते सम्पन्न भएको थियो।

त्यसपश्चात् खुला अडिसनबाट छनोट भएका ३ सय ५० प्रतिस्पर्धीलाई प्रदेशअनुसार जज अडिसनमा सहभागी गराइएको थिए। जज अडिसनबाट १ सय ९ प्रतिस्पर्धी चयन भई मेघा अडिसनमा प्रवेश गरेका थिए। जसबाट निर्णायक समूहले शीर्ष २५ को छनोट गरिसकेका छन्। नेपाल लोक स्टार प्रतियोगिताबाट तीन जना विजेता छनोट गरिनेछ। जसमा प्रथम विजेतालाई ५० लाख, द्वितीय विजेतालाई २५ लाख र तृतीय विजेतालाई १० लाख नगद पुरस्कारका साथै तीनै विजेतालाई एल्बमको कन्ट्र्याक्ट दिइने जनाइएको छ। जयनन्द लामा, बीबी अनुरागी, सुनीता दुलाल र रामजी खाँण यसको निर्णायक रहेका छन्। मेघा अडिसनसम्मको सबै सुटिङ पूरा भइसकेको छ।

कार्यक्रमको प्रमुख प्रायोजकका रूपमा रेमिट्यान्स तथा डिजिटल सर्भिस कम्पनी आईएमआई आबद्ध भएको छ। सम्झौता दुई सिजनका लागि गरिएको हो। सम्झौतापश्चात् कार्यक्रमको नाम आईएमआई नेपाल लोक स्टार हुने भएको छ।

सम्झौताअन्तर्गत आईएमआई नेपाल लोक स्टारको भोटिङ राउन्डमा एपमार्फत गरिने सबै भोटिङ आईएमईको एपमार्फत हुनेछ। ‘नेपाली लोकसंगीतका लागि आईएमआई नेपाल लोक स्टार कोसेढुंगा सावित हुनेछ र यसले लोक मात्र नभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने हामीले विश्वास लिएका छौं।’ –द पेड प्रलिका अध्यक्ष सुदीप थापाले भने।

‘नेपाल लोक स्टारसँग जोडिन पाएकोमा गौरवान्वित छौं। नेपाली लोकसंगीतको प्रवद्र्धन र जर्गेनाका निम्ति यो हाम्रो तर्फबाट सानो प्रयाससमेत हो।’ –आईएमई लिमिटेडका सीईओ सुमन पोखरेलले भने।

प्रतिक्रिया दिनुहोस्