परियोजनाका काममा ढिलाइ नहोस्



देशमा सञ्चालनमा रहेका साना तथा ठूला परियोजनाहरू समयमै समाप्त हुन सकिरहेका छैनन्। केपी ओलीको सरकार आएपछि ढिलासुस्ती, अवरोधलगायत रोकिएका परियोजनाले पूर्णता पाउने आश गरे पनि जुन जोगी आए पनि कानै चिरेकोसरह भएको छ। तीन दशकदेखि शुरू गरिएको मेलम्ची खानेपानीले अहिलेसम्म पूर्णता पाएको छैन। काठमाडौँवासीलाई विगत तीन दशकदेखि मेलम्चीको पानीको आशा देखाए पनि नेतृत्वकर्ताहरू असफल हुँदै गएका छन्।

तीन दशकमा थुप्रै प्रधानमन्त्रीहरू फेरि सकेका छन्। एउटा महत्वाक्षी परियोजना समयमै सम्पन्न गर्न राज्य असफल हुँदै गएको छ, जसको विरोध व्यापक भइरहेको छ। सम्पन्न हुनै लागेको परियोजनामा राजनीतिक हस्तक्षेपलगायत केही स्वार्थी व्यक्ति र समूहको चलखेलका कारण साना तथा ठूला परियोजनाहरू सम्पन्न हुन सकेका छैनन्।

कहिले स्थानीयको अवरोध त कहिले ठेकेदार कम्पनी नै भाग्दा परियोजनाहरू समयमै सम्पन्न हुन सकेको छैन। अझ उदेक लाग्दो त के छ भने, सरकारले त्यस्ता कम्पनीको अनुसन्धान पनि गर्न नसकेको अवस्था छ। देशको ठूलो आर्थिक हिस्सा लगानी गरे पनि प्रतिफल सन्तोषजनक हुन सकिरहेको छैन। तसर्थ, परियोजनाहरू समयमै सम्पन्न गराउनका लागि जिम्मेवार निकाय गम्भीर हुन आवश्यक छ। अतः देशमा शुरू गरिएका विभिन्न परियोजनाहरूको सफलताका लागि राज्यपक्षले आवश्यक कदम चाल्न जरुरी छ।
– नवीन शाक्य, काठमाडौं।

खेलकुदको विकास कछुवा गतिमा

नेपालमा खेलकुदको विकास कछुवा गतिमा अघि बढिरहेको छ। राज्यले खेलकुदलाई प्राथमिकता दिन नसक्दा यस क्षेत्रको विकास हुन सकिरहेको छैन। सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय संकल्प साकार पार्न खेलकुद क्षेत्रले मद्दत पुर्याउँछ। यसबाट नागरिकको स्वास्थ्य तथा खेल पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने गर्छ। तर, राज्य पक्षको उदासीनताका कारण खेलकुदको विकासमा ढिलाइ हुँदै गएको छ।
केही वर्षदेखि नेपाली खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा हासिल गरेको उपलब्धि उत्साहप्रद रहेको छ। खेलकुदले समग्र देशकै प्रतिष्ठा उचो बनाउने काम पनि गर्दछ। खेलकुदको विकासमा गरेको लगानीका कारण नेपाली खेलाडीमा प्रेरणा प्राप्त हुँदै प्रतिस्पर्धात्मक क्षमता बढ्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन। खेलाडीको वृत्ति विकासमा यथोचित ध्यान जान सकेको छ। तसर्थ, खेलाडीको साथमा सधैँ राज्य छ भन्ने भावना जागृत गर्न सम्बद्ध पक्ष गम्भीर हुन आवश्यक छ।

त्यसै गरी, खेलकुदको विकास र खेलाडीको आवश्यकतालाई पूरा गर्न स्थानीय तहदेखि नै विशेष पहल गरिनुपर्छ। सुविधासम्पन्न खेलकुदका पूर्वाधार विकास र विस्तारलाई प्राथमिकतामा राख्न जरुरी छ। अतः खेल क्षेत्रका नीति निर्माता र व्यवस्थापक खेलकुदको विकासमा केन्द्रित बन्नुपर्दछ।

– भरोसा नेपाल, काठमाडौं।

मेलम्ची पर सरेको सर्यै

बहुप्रतिक्षित मेलम्ची खानोपानी आयोजना निर्माण सम्पन्न गर्न अझै समय लाग्ने देखिएको छ। सुरुङ तथा बाँध निर्माणको ठेक्का पाएको इटालियन कम्पनीले गत मंसिरमा काम छाडेपछि मेलम्ची खानेपानी आयोजनाको काम ठप्प छ। सुरुङ निर्माणको काम करिब ३ प्रतिशत बाँकी थियो। ४ महिनाभित्र यो काम सम्पन्न गर्ने र अस्थायी बाँध निर्माण गरी २०७६ वैशाखभित्रमा मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने समय तालिका सार्वजनिक गरिएको थियो।

यो समय तालिका सार्वजनिक भएको एक महिना नबित्दै ठेकेदार कम्पनी काम छाडेर भाग्यो। ठेकेदार कम्पनी भाग्नासाथ सरकारले विकल्प खोजेर काम अगाडि बढाएको भए यतिबेलासम्म मेलम्चीको पानी काठमाडौंवासीका घर–घरमा वितरण भइसक्ने थियो। तर सरकार लामो समयसम्म ठेकेदारसँगको वार्तामै अल्झियो। ६ महिनाको समय खेर गयो। यो ६ महिनाको समय खेर जाँदा बाँधस्थलका निर्माणधीन संरचनामा आगामी वर्षाको बाढीले नोक्सान पुर्याउने सम्भावना छ। बाँधस्थलका निर्माणधीन संरचनामा बाढी पसेपछि करिब १ अर्ब रुपियाँ बराबरको नोक्सानी हुने प्राविधिकहरूले जनाएका छन्।
नयाँ ठेकेदारमार्फत काम अघि बढाइएपछि कहिलेसम्ममा मेलम्चीको पानी काठमाडौं आइपुग्ला त ? भन्ने जिज्ञासा राजधानीवासीलाई हुनु स्वाभाविकै हो। सरकारले नयाँ टेन्डर प्रक्रियामा जाने भनेको छ। टेन्डर प्रक्रियाद्वारा ठेकेदार छानिन द्रुतमार्गबाट जाँदा पनि दुई महिना लाग्छ। त्यसपछि निर्माण कार्य आरम्भ गरी काम सम्पन्न हुन ६ महिना लाग्ने दाबी सरकारी पक्षको छ। अस्थायी बाँध निर्माण गरी पानी ल्याउनका लागि ६ महिना लाग्ने जनाइएको हो। स्थायी बाँध निर्माण सम्पन्न हुन थप एक वर्ष पर्खनुपर्ने हुन्छ।

पुरानो ठेकेदारले ४ महिनाभित्र काम सक्ने तालिका प्रस्तुत गरेको सन्दर्भमा नयाँ ठेकेदारले ६ महिनाभित्र काम सक्छ कि भन्ने अनुमान गरिएको हो। तर, वास्तविकता सरकारले दाबी गरेजस्तो सहज छैन। मुहानमा रड उठाएर आधा ढलान भएका संरचनाहरू छन्। ती संरचनाहरूलाई नै पूर्णता दिने गरी काम अघि बढाउन सके मात्रै नयाँ ठेकदारहरूले ६ महिनाभित्र अस्थायी बाँध निर्माणको काम सक्ने हुन्। तर, आगामी असारदेखि बाढी आउनासाथ ती संरचना ध्वस्त हुन्छन्। बर्खाभरि काम गर्न सकिन्न। असोजपछि शून्य तहबाट काम शुरू गर्नुपर्ने हुन्छ। त्यसैले अबको ६–८ महिनाभित्र मेलम्चीको पानी राजधानी काठमाडौं ल्याइपुर्याउने सरकारको भनाइमा विश्वास गर्न सकिने आधार छैन।

एउटा ठेकदारले छाडेपछि अर्को ठेकेदार नियुक्त गर्नु परेका कारण मेलम्ची खानेपानी आयोजनाको लागत फेरि पनि २ अर्ब रुपियाँ बढ्ने देखिएको छ। तर लागतभन्दा पनि महत्वपूर्ण कुरा समय हो। मेलम्चीको पानी काठमाडौंमा वितरण हुनासाथ मासिक करिब ५० करोड महसुल संकलन हुन थाल्छ। दैनिक १७ करोड लिटर पानी राजधानी भित्रिने मेलम्ची आयोजनाको काम सम्पन्न हुँदासम्म ३० अर्ब रुपियाँ खर्च भइसक्ने अनुमान गरिएको छ। यो आयोजना सम्पन्न हुनासाथ यांग्र्री र लार्के खोलाबाट दैनिक ३४ करोड लिटर पानी मेलम्चीमा मिसाउने आयोजना सरकारले अघि सार्दै छ। ५ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ २० वर्षअघि शुरू गरिएको मेलम्ची आयोजनाको काम अझै नसकिनु विडम्बना नै मान्नुपर्छ। त्यसैले अब यस कार्यमा तदारुकता दिनै पर्छ।
– सुजिन प्रधान, ललितपुर।

प्रतिक्रिया दिनुहोस्