कर्णालीमा बेपत्ता हुनेको संख्या १० पुग्यो



अर्जुन बोहरा, हुम्ला
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को याक्चुकुना बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकखण्डबाट मंगलबार लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेको छ।

कर्णालीमा खसी १० जना बेपत्ता भएको खर्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिनुभएको छ।

दुर्घटनामा परी बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु शाही हमाल, उहाँका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, खार्पुनाथ–४ का ढुकु भण्डारी भनेर चिनिने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको प्रमाणित भएको घटनास्थलमा भएका खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावले बताउनुभएको छ।

यसै गरी खार्पुनाथ–१ का कौर कामी र उहाँको दुई वर्षीय बालकसमेत बेपत्ता भएका छन्। दुर्घटनामा गाडीको मर्मत गर्न गएका एक जना नाम नखुलेका मिस्त्रीसमेत परेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभएको छ।

जिप कर्णाली नदीमा बेपत्ता भएको छ। हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जिपको खोजी भइरहेको जानकारी दिनुभयो। दुर्घटना स्थलमा चारवटा हेलिकोप्टरबाट नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी घटनास्थलमा पठाएको छ। कर्णाली नदीमा बढेको पानीको बहावले गाडी नै डुबेको र पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ।

गाडी दुर्घटना क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना खोजीमा परिचालित गरिएको सहायक प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिनुभयो। हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जिपको खोजी भइरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्