सामाजिक सञ्जालले बढायो आत्महत्या, दैनिक १५ व्यक्तिको अवसान



दीपक रिजाल, काठमाडौं । प्रविधिको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखिएको छ । अहिले नेपालमा दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, त्यसमध्ये अधिकांशको नयाँ प्रविधिको दुरुपयोग मृत्युको कारण बनेको छ ।

नेपाल प्रहरीको रिपोर्ट लेख्छ, ‘समाजमा हुने बिभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिनजसो बढ्दै गएको देखिन्छ, यसमा नयाँ प्रविधि पनि कारकका रुपमा देखिएको छ ।’

मुलुकमा सडक दुर्घटनापछि सबैभन्दा धेरै व्यक्ति आत्महत्याका कारण मृत्युको मुखमा पुगेका छन् । एक बर्षमा नेपालमा ५ हजार २ सय ८० जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीका प्रवक्ता बिश्वराज पोखरेल बताउनुहुन्छ ।

नयाँ प्रविधिका रुपमा रहेको सामाजिक सञ्जालको प्रयोग आउनुअघि हुने गरेको आत्महत्यामा पारिवारिक यातना मुख्य कारणका रुपमा थियो भने अहिले त्यस प्रकारका प्रविधिको दुरुपयोग मुख्य बनेको डिआईजी पोखरेल बताउनुहुन्छ ।

पछिल्लो समय भइरहेका आत्महत्या गर्नेको कारण खोज्ने हो भने २४ प्रतिशतले आवेगमा आएर आत्महत्या गरेको देखिन्छ प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

नैराश्यता र मानसिक दीर्घ रोगका कारण १५ दशमलव ५ प्रतिशत, पारिवारिक कलहका कारण पनि १५ दशमलव ५ प्रतिशत नै, गरिबिका कारण ७ दशमलव ५ प्रतिशत, प्रेममा धोका पाएको कारण ५ शदमलव ५ प्रतिशत, असफलताका कारण २ दशमलव ५ प्रतिशत, आर्थिक लेनदेनका कारण २ प्रतिशत, व्यावसायिक असफलताका कारण १ दशमलव ५ प्रतिशत र नयाँ प्रविधिको दुरुपयोगका कारण २४ प्रतिशतले आत्महत्या गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

बितेको ६ बर्षमा आत्महत्या गर्नेको संख्या २७ हजार ९ सय १४ रहेको छ । आवेगमा आएर आत्महत्या गर्ने युवा युवतीको कारण खोज्ने हो भने सामाजिक सन्जालको दुरुपयोग बढी रहेको देखिन्छ, डिआईजी पोखरेलले बताउनुभयो ।

आत्महत्यापछि समाजमा हुने आपराधिक क्रियाकलापमा घरेलु सिंहा उच्चस्थानमा रहेको छ । हरेक दिन मुलुकभर ३५ वटा घरेलु हिंसााका घटना हुने गरेको छ । हरेक वर्ष १२ हजार ७ सय ७५ घरेलु हिंसा हुने गरेको र त्यसमा ९० प्रतिशत महिला पीडित हुने गरेको प्रहरीको एक अनुसन्धानले देखाएको छ । बितेका ६ वर्षमा ५७ हजार ९ सय ८ वटा घरेलु हिंसा भएका छन् । घरेलु हिंसाका कारण अधिकांश महिला पीडित हुने गरेको देखिन्छ ।

यस्ताखाले आपराधिक घटनालाई नियन्त्रण गर्ने हो भने हरेक समाजमा जनचेतनाका कार्यक्रमलाई निरन्तर रुपमा चलाइनुपर्ने दावी डिआईजी पोखरेल गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्