मन्त्री खनालमाथि निगरानी, मन्त्री महासेठ पनि तानिने



काठमाडौं, (नेस) । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाललाई सचेत गराएको छ भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई अर्काे बैठकमा बोलाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्री खनाललाई समेत बोलाएर कानुन विपरित प्रत्यायोजित व्यवस्थापनको काम नगर्न सचेत गराएको हो ।

यस्तै उक्त बैठकले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगतिबारे बुझ्न अर्को बैठकमा बोलाउने निर्णय समेत गरेको छ ।

समितिले विभिन्न मन्त्रालयले कानुन विपरित निर्देशिका जारी गरेर भ्रष्टाचार गरेको उल्लेख गर्दै ती निर्देशिका बदर गराउने र सरकारलाई संसदप्रति जवाफदेही बनाउने योजना अघि सारेको बताइएको छ ।

समितिका सभापति रामनारायण बिडारीले कानुनविपरित नियमावली, निर्देशिका, मापदण्ड, कार्यविधि बनाएको पाइएपछि उक्त मन्त्रालयलाई त्यस्ता गतिविधि नगर्न सचेत गराइएको जानकारी दिनुभयो ।

उहाँले कानुन विपरितका प्रत्यायोजित व्यवस्थापन गरेर विभिन्न मन्त्रालयले भ्रष्टाचार गरेको पाइएको उल्लेख गर्दै ती निर्देशिका बदर गराउने गरी राष्ट्रिय सभामा प्रस्ताव लैजाने तयारी गरिएको बताउनुभयो ।

स्मरणीय छ, उक्त समितिलाई सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा रायसुझाव दिन अधिकार छ ।

प्रतिक्रिया दिनुहोस्