जात्रै जात्रालाई ९ दिनमा ५ करोड



निर्देशक प्रदीप भट्टराईलाई चिनाउने फिल्म जात्राको सिक्वेल जात्रै जात्रा अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ। दोस्रो सातामा पनि दर्शकको चाप उस्तै छ।

समीक्षक र दर्शक दुवैले मन पराएपछि फिल्मले ९ दिनमा ५ करोड ग्रस कलेक्सन गरेको यसको वितरणको जिम्मा लिएको स्टेसन फाइभले जनाएको छ। फिल्मले उपत्यकामा ३ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ भने राजधानीबाहिर २ करोडको हाराहारीमा व्यापार गरेको छ।

फिल्ममा लेखन र निर्देशन प्रदीप भट्टराईको छ। उनले आप्mनो डेब्यु निर्देशनको फिल्म जात्राको कथालाई सुन काण्डसँग जोडेर जात्रै जात्रालाई संयोगान्त र रमाइलो फिल्म बनाएका छन्। सामान्य व्यक्तिले अचानक सुन पाएपछि आउने परिस्थिति र त्यसलाई आप्mनो बनाउन गर्ने संघर्षलाई फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको छ। फिल्ममा विभिन्न पात्रमा उभिएका विपिन कार्की, रवीन्द्र झा र रवीन्द्र सिंह बानियाँ सुन लुकाउन संघर्ष गरिरहेका हुन्छन् भने अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै गरेको देखिएका छन्।

फिल्मले अफ डेमा पनि गरिरहेको व्यापार हेर्दा यसले अझै राम्रो व्यापार गर्ने संकेत दर्साएको छ। मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि जात्रामार्फत निर्देशनमा उत्रिएका भट्टराईले तेस्रो फिल्ममार्फत पनि दर्शकको मन जित्दै ह्याट्रिक गरेका छन्। जात्राबाट प्रारम्भ गरेको यात्रा उनले शत्रु गते हुँदै जात्रै जात्रासम्म ल्याउँदा पनि दर्शकको विश्वास घट्न दिएका छैनन्, बढ्दो छ। २ फिल्ममार्फत दर्शकको मन र बक्स अफिसमा आप्mनो बलियो उपस्थिति देखाएका निर्देशक भट्टराई दर्शकको सन्तुष्टिलाई ठूलो सफलताका रूपमा लिन्छन्। ‘हामीले दर्शकको विश्वासमा आफूलाई सफल बनाउने कोसिस गरेका थियौं, जसमा ग्रीन सिग्नल पायौं।’ –भट्टराई भन्छन्।

जात्रै जात्रा राजधानीमा मात्र होइन, राजधानी र विदेशमा समेत हाउसफुलका साथ प्रदर्शन भइरहेको छ। राजधानीबाहिरका हलका नाइट शोमा समेत जात्रै जात्रा हाउसफुल हुन सफल भएको छ। राजधानीका क्यूएफएक्स च्यानल, बिग मुभिज, एफक्युब, बीएसआर, ललितपुरको लबिममललगायतमा दर्शकको चाप ९५ देखि शत प्रतिशत छ भने मोफसलका चितवन, पोखरा, पूर्वलगायतका स्थानमा पनि दर्शकको चाप उच्च पाइएको छ।

फिल्ममा विपिन कार्की, दयाहाङ राई, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ, वर्षा राउत, प्रियंका झा, राजाराम पौडेल, प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डेलगायतका कलाकारले अभिनय गरेका छन्। यज्ञश्वर पौडेल र सिंगे लामाद्वारा निर्मित फिल्ममा रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माता छन्।

प्रतिक्रिया दिनुहोस्