वेस्ट इन्डिजद्वारा उपाधि रक्षा, इंग्ल्यान्ड आफ्नै मैदानमा पराजित



लन्डन, (एजेन्सी)
आईसीसी क्रिकेट विश्वकपअन्तर्गत् दोस्रो संस्करणको उपाधि पनि वेस्ट इन्डिजले नै जितेको छ । त्यतिबेला वेस्ट इन्डिजका ब्याटसम्यान र बलरसामु कुनै पनि टोली टिक्नै सकेको थिएन । ८ टोलीले सहभागिता जनाएको सो विश्वकपमा वेस्ट इन्डिज, अस्टे«लिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, श्रीलंका, न्युजिल्यान्ड र क्यानडाले सहभागिता जनाएका थिए । त्यो समयमा भारत र श्रीलंका क्रिकेट निकै कमजोर थिए ।

समूह चरणमा भारतले एक खेल पनि जित्न पनि सकेको थिएन । अर्को समूहमा क्यानडा जितविहीन भएको थियो । यो क्यानडाको पहिलो विश्वकप प्रतियोगिता थियो । त्यस्तै पहिलो संस्करणमा फाइनल पुगेको अस्टे«लिया पनि समूह चरणबाटै बाहिरिएको थियो ।

आ–आफ्ना समूह चरणमा शीर्ष दुई बन्दै पाकिस्तान, न्युजिल्यान्ड, इंग्ल्यान्ड र वेस्ट इन्डिज सेमिफाइनलमा पुगेका थिए । इंग्ल्यान्डले न्युजिल्यान्डलाई ओल्ड ट्राफोर्डमा भएको सेमिफाइनल खेलमा मुश्किलले ९ रनले पराजित गरेको थियो । इंग्ल्यान्डले निर्धारित ६० ओभरमा ८ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । जसमा ग्राहम गूचले ७१ रन र माइक बे्रर्लीले ५३ रनको योगदान दिएका थिए ।

जवाफमा न्युजिल्यान्डले जितको लागि निकै कोसिस गरेको थियो । तर टोलीले अन्तिम ओभरमा आवश्यक १४ रन जोड्न असफल हुँदा न्युजिल्यान्डको विश्वकप फाइनल खेल्ने मौका गुमेको थियो । यद्दपि जोन राइटले ६९ रन बनाएका थिए । नतिजा इंग्ल्यान्डले फाइनलको यात्रा तय गर्न पुग्यो ।

यसअघिको सेमिफाइनल खेलमा विश्व विजेता वेस्ट इन्डिजले पाकिस्तानलाई ४३ रनले पन्छाएको थियो । गोर्डन ग्रीनीजको ७३ रन र डेसमण्ड हायन्सको ६५ रनको सहयोगमा वेस्ट इन्डिजले २ सय ९४ रनको लक्ष्य तेर्साएको थियो । पाकिस्तानको तर्फबाट आसिफ इकबालले ४ विकेट लिएका थिए । जवाफमा पाकिस्तान २ सय ५० रनमा समेटिएको थियो । जसमा मजीद खानले ८१ रन र जहीर अब्बासले ९३ रन जोड्दा पनि टोलीले ऐतिहासिक जित हासिल गर्न सफल भएन ।

फाइनल खेलमा इंग्ल्यान्डले टस जितेको थियो र ब्याटिङ वेस्ट इन्डिजलाई गर्न लगाएको थियो । वेस्ट इन्डिजको शुरुवात राम्रो पनि भएको थिएन । ९९ रनका लागि ४ विकेट गुमाएको अवस्था थियो । गोर्डन ग्रीनीज, डेसमण्ड हायन्स, कालीचरण र कप्तान क्लाइभ लोएड पवेलियन फर्केको अवस्था थियो । तर भिभियन रिचर्डसको ब्याटिङमा इंग्ल्यान्डका बलर निरीह साबित भएका थिए । रिचार्डस्ले ११ चौका र ३ छक्कासहित १ सय ३८ रनको शानदार पारी खेलेर वेस्ट इन्डिजलाई २ सय ८६ रनको योगफलमा पु¥याए । त्यस्तै कोलीस किंगले ८६ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

इंग्ल्यान्डका ओपनर माइक बे्रर्ली र जेओफ बायकटले राम्रो शुरुवात दिलाएका थिए । तर उनीहरुले सुस्त ब्याटिङ गर्दै ३८ ओभरमा १ सय २९ रनमा पु¥याए । बे्रर्लीले ६४ रन र बायकटले ५७ रन जोडेर आउट भएपछि आवश्यक रन रेट आकासियो । ग्राहम गूचले ३२ रन बनाएर टोलीलाई १८३ रनसम्म पु¥याए ।

तर उनको विकेट पतनपछि इंग्ल्यान्डको ब्याटिङ धर्मराएको थियो । विश्वकपको इतिहासमा यो शायद ज्यादै नाटकीय विकेट पतन भएको थियो । उनीहरुले ११ रनको लागि बाँकी ८ विकेट गुमाएर उपाधिबाट विमुख भएका थिए । टोली १ सय ९४ रनमा समेट्दा वेस्ट इन्डिज ९२ रनले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्