पानी माग्दै भजन, किर्तन र पुजापाठ



सलिम अन्सारी,प्युठान, दुई महिना भयो पानी परेको छैन । गाउँघर तिर किसानले चैतमा छर्ने मकै अझै छरेका छैन्न, जेठमा रोपिने धानको बीउ राखिएको छैन्न । बारीमा छरेर उम्रेका र दोहोराएर खन्ने भएका मकै पानी नपर्दा बोटमै सुक्न थालिसके।

गाउँघर तीर अन्नवाली उत्पादन हुने ठाउँमा पानी नपरेपछि कृषकहरुलाई बाली लगाउन र जोगाउन समस्या भएको छ । पानीको माग गर्दै प्युठानका स्थानियले पुजापाठ र भजनकिर्तन गर्न थालेका छन् । मंगलबार झिमरुक १ को गर्दङखोलाका किसानहरुले गौमुखि गुफामा बिहेको झल्को दिने गरि बाजागाँजा बजाएर पानी पारिदिन प्रार्थना गरेका थिए। पानी नपरे देउताकोमा गएर पूजा पाठ गर्ने, बाजा बजाउने यहाँको पूरानै संस्कार हो।

पूजापाठ गरे र बाजा बजाएर पानी मागे ईन्द्रले पानी पारिदिने धार्मिक विश्वास रहेको स्थानिय झबिन्द्र ज्ञवालीले बताउनुभयो। ’पुजापाठ गरे पानी पर्छ नपरेनि ईन्द्रले बर्साउछन भन्ने बिश्वास छ।’ उहाले भन्नुभयो ।पुरानै संस्कार अनुसार भोको पेट र नाङ्गा खुट्टै चार किलोमिटर ओरालो झरेर किसानहरुले पानी माग्दै पुजा गरेका हुन।

बिहान ७ बजेदेखि अपरान्ह ३ बजेसम्म पूजा आराधाना गरिएको थियो । झिमरुक १ का वडा अध्यक्ष धुर्व खनालले परापुर्वकाल देखि नै यहाँ पुजापाठ गरेर पानी माग्ने चलन भएकाले स्थानियलाई लिएर पानी माग्न आएको बताउनुभयो। ’पुजापाठ गरेको केही बेरमै पानी पर्यो।’ उहाले भन्नुभयो,’हामी अचम्म पर्यौं’। लामो समय पानी नपरेपछी किसानका खेतबारि बाझै रहने स्थिती आउन थालेपछि यसरी भजनकिर्तन र पुजापाठ गरिएको स्थानिय पदम प्रसाद खनालले बताउनुभयो।

’चैत देखि पानी परेको छैन,खेतबारीमा अन्नबाली छर्न पाएका छैनौ, खनालले भन्नुभयो ’पुजा गरे पानी पर्छ’ इन्द्रलोकमा भगवान इन्द्रले सुन्ने गरी बाजा बजाए पानी पर्ने पुरानो मान्यता रहेकाले यो बर्ष पनि बाजा बजाएर पूजा पाठ गरिएको उहाको भनाई छ। पानी नपर्दा जिल्लाको जमिनकै सुख्खा भइसकेकोले पूजापाठपछि पानी पर्ने विश्वास उनीहरुको छ।

प्रतिक्रिया दिनुहोस्