स्मार्ट ड्राइभिङ लाइसेन्स कहिले ?



स्मार्ट ड्राइभिङ लाइसेन्स यातायात व्यवस्था विभागले ९ महिनासम्म पनि दिन सकेको छैन। लाइसेन्स परीक्षा उत्तीर्ण भएका ६ लाखजनाले अहिलेसम्म स्मार्ट लाइसेन्स पाउन सकेका छैनन्। उनीहरू महिनादिनदेखि ८ महिनासम्म कुर्ने पनि गरेका छन्। विभागले शुरूमा २४ घन्टाभित्रै लाइसेन्स दिने व्यवस्था भएको भन्दै प्रचार पनि ग¥यो। तर अहिले लाइसेन्स परीक्षा पास गरेपछि स्मार्ट लाइसेन्स लिन कम्तीमा पनि तीन–चार महिना कुर्नुपर्ने अवस्था रहेको छ। लाइसेन्स आएको छ कि छैन भनेर यति बेला विभागमा दैनिकजसो धाउनेको संख्या पनि उत्तिकै रहेको छ। कतिपयको त एक वर्ष बितिसक्दा पनि आएको छैन। आए पनि विभिन्न त्रुटिहरू हुने गरेको छ। अहिले दैनिक ६ हजार कार्डको माग भए पनि विभागले दैनिक तीन–हजार कार्ड मात्र छाप्न सकिरहेको छ। जसले गर्दा पाइपलाइनमा थुप्रै सेवाग्राही बस्नुपरेको छ।

अहिलेको स्टक पनि गरेर अझै करिब ६ लाख जति कार्ड छाप्न बाँकी भएको विभाग स्वीकारेको छ। स्मार्ट कार्ड छपाइको लागि भारतीय कम्पनी ‘मद्रास सेक्युरिटी कम्पनी’सँग थप १० लाख कार्ड मगाउने विभागको तयारी छ। तर विभागले पहिलेको रकम भुक्तानी गर्न नसकेकाले मद्रास कम्पनीले कार्ड छाप्न मानिरहेको छैन। विभागले मद्रास कम्पनीसँग पटक–पटक गरेर ९ वटा मेसिन र १२ लाख थान स्मार्ट लाइसेन्स खरिद गरेको थियो, जुन लाइसेन्समा निकै समस्या छ। विभागले सो कम्पनीलाई २१ करोड दिनुपर्नेमा अझै १४ करोड बक्यौता तिर्न बाँकी रहेको छ। १४ करोड रकम भुक्तानी नगरेसम्म कार्ड नछाप्ने अडानमा मद्रास कम्पनी रहेको छ भने बिग्रेका स्मार्ट कार्ड र दुईवटा मेसिन कम्पनी आफैंले मर्मत नगरेसम्म भुक्तानी नगर्ने अडानमा विभाग रहेको छ।

दुई पक्ष विवादमा मुछिएपछि सेवाग्राहीहरू पिल्सिएका छन्। लाइसेन्स परीक्षा उत्तीर्ण गरेको चार महिना बितिसक्दा पनि हातमा कागजको टुक्रा बोकेरै काम चलाइरहेका छन्। अहिले विभागसँग स्टकमा एक लाख जति कार्डहरू मात्र रहेको छ। अहिले लाइसेन्स परीक्षामा पास भएका सबैको हातमा लाइसेन्स आउन दैनिक ८ हजार कार्ड छपाउनुपर्ने हुन्छ। तर, यातायात विभागसँग भएका सातवटा मेसिनले अहिले दैनिक ३ हजार मात्र कार्डहरू छापिरहेको छ।

विभागको तथ्यांकअनुसार देशभरि ८ लाख स्मार्ट कार्ड वितरण भइसक्दा पनि नेपाल ट्राफिक प्रहरीसँग जम्मा दुईवटा मात्र लाइसेन्स रिडर मेसिन छन्। मेसिनको अभावका कारण बजारमा नक्कली स्मार्ट कार्डहरू चल्न थालेको स्वयम् प्रहरीले बताउँदै आएको छ। अब चाँडै १० वटा मेसिन आइसक्ने महानगरीय ट्राफिक प्रहरीले जानकारी दिएको छ।

प्रस्ट कुरा के भने, सरकारले विनाकुनै तयारी स्मार्ट लाइसेन्स वितरण गर्ने घोषणा गरेकाले समस्या भएको हो। विज्ञान र प्रविधिले निकै फड्को मारेको र यसले संसारलाई नै एउटा गाउँजस्तो बनाएको अवस्थामा नेपाल अछुतो रहन सक्दैनथ्यो। तर आधुनिक प्रविधिलाई पछ्याउने नाममा ‘अरू हात्ती चढ्दा आफू धुरी चढनु’ मुख्र्याइँसिवाय केही होइन। स्मार्ट लाइसेन्स वितरणको विषयमा यस्तै धुरी चढ्ने प्रवृत्ति देखियो। न जाँच गर्ने मेसिन पर्याप्त छ, न त आवश्यकताअनुसारको लाइसेन्स नै वितरण गरेको छ। नेपालमा स्मार्ट लाइसेन्स वितरणका नाममा एउटा भद्दा प्रहसन मञ्चन भएको छ। सरकारले यसको विकल्प खोज्ने वा यसैलाई तत्काल सच्याएर नगए भविष्यमा अझ विकराल समस्या निम्तिने पक्का छ।
– भक्तबहादुर भण्डारी, स्याङ्जा।

प्रतिक्रिया दिनुहोस्