हिमाली क्षेत्रमा मूल्यवृद्धि उच्च



नेपाल समाचारपत्र, काठमाडौं
गत वर्षभन्दा मूल्यवृद्धि घटेको भए पनि अन्यत्रभन्दा हिमाली क्षेत्रमा मूल्यवृद्धि उच्च रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको चैत महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ६ दशमलव २ प्रतिशत, पहाडमा ४ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा ४ दशमलव ७ प्रतिशत र तराईमा ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ७ प्रतिशत, ६ प्रतिशत, ४ दशमलव ३ प्रतिशत र ५ दशमलव ७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५ दशमलव ८ प्रतिशत रहेको थियो । २०७५ चैत महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४ प्रतिशत र भारतको २ दशमलव ९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ५ दशमलव ३ प्रतिशत र भारतको ४ दशमलव ६ प्रतिशत रहेको थियो ।

चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४ दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २ दशमलव २ प्रतिशत रहेको थियो । राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक चैत महिनामा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक ९ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकांक ६ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा तलब सूचकांक ६ दशमलव ६ प्रतिशत र ज्यालादर सूचकांक १० दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्