दुई शिक्षिकासहित १२ जनाविरुद्ध मुद्दा दायर



काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षिका आरतीकुमारी मल्लिकविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले श्री प्राथमिक विद्यालय, फतुहा महेशपुर–५, रौतहटमा कार्यरत शिक्षिका मल्लिकलाई आईतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

शिक्षिका मल्लिकले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षण पेशामा नियुक्ति लिएको अनुसन्धानमा खुल्न आएको आयोगका प्रवक्ता पदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार मल्लिकले स्कूल परीक्षा बोर्ड, विहार पट्नाबाट हाइस्कुल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति भई लाभ लिईरहेकी थिईन ।

आयोगले दशरथ माध्यमिक विद्यालय, साडेपानी, कैलालीमा प्रा.वि. तहमा कार्यरत शिक्षिका मधु कुमारी भण्डारी (जोशी)ले भारतबाट एस.एल.सी. पास गरेको नक्कली सर्टिफिकेट पेश गरी सेवा लिइरहेकाले मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताउनुभयो । उहाँका अनुसार जोशीले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यू.पी. बाट एस.एल.सी. को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि शिक्षक पदमा नियुक्ति भएको अनुसन्धानमा खुल्न आएको छ ।

यस्तै आयोगले नेपालगञ्ज भन्सार कार्यालयमा नक्कली प्रज्ञापनबाट सामान पैठारी गरी राजस्व छली गरेको आरोपमा नेपालगञ्ज भन्सार कार्यालयका भन्सार एजेन्ट दिनेश कुमार बानियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वनवोरी माता ट्रेडर्सको स्किम्मेड पाउडर दूध ४०० ब्यागको सामान उल्लेख गरी गत २०७५ साल जेठ २४ गतेमा जारी भएको नक्कली प्रज्ञापनपत्र नम्बर १५३१५ का आधारमा सा जेठ २४ कै दिन ना ६ ख ५८५९ र ना ७ ख १७ नम्बरका मालबाहक ट्रकबाट भन्सार महसुल तथा राजस्व छली गरी ल्याइएका सामानहरु र प्रज्ञापन पत्रमा उल्लेख नभएको घिउसमेत सामानधनीसँगको मिलेमतोमा २० लाख २४ हजार एक सय ४१ रुपैयाको भन्सार महसुल राजश्व छली गरेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार भन्सार छलिमा बानिँयासंग नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाष प्रसाद श्रेष्ठ, भन्सार अधिकृत बटुकृष्ण अधिकारी, जाँचकी नायब सुब्बा बसन्त कुमार सुवेदीको समेत मिलेमतो रहेको खुल्न आएको छ ।

उक्त भन्सार छलि कार्यमा राष्ट्रसेवक कर्मचारीहरूको मिलेमतोमा सरकारलाई नोक्सानी पुर्याएकाले भन्सार एजेन्ट बाँनिया, वनवोरी माता ट्रेडर्सका सञ्चालक रविन्द्र गुप्ता, वनवोरी माता ट्रेडर्सका लागि काम गर्ने वीरेन्द्र गुप्ता, हिमालयन कार्गोको संचालिका मधुकुमारी चौधरी, हिमालयन कार्गोको लागि काम गर्ने विनोद कुमार गुप्ता, राजस्व अनुसन्धान विभागका नायव सुब्बा देवीबहादुर थापा र राहुल कुमार गुप्तासहितलाई बीस लाख चौबीस हजार एक सय एकचालीस रुपैया जरिवानासहित कैद सजायको माग गरि मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाल जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्