चलचित्र पत्रकारलाई सम्मान र पुरस्कार



चलचित्र पत्रकार संघ नेपालले यस वर्षको चलचित्र पत्रकारिता राष्ट्रिय सम्मानबाट श्याम स्मृत र नरेश भट्टराईलाई सम्मान गर्ने भएको छ।

बुधबार बसेको संघको कार्यसमिति बैठकले संघको स्थापनाका दिन जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रूपमा मनाई सो अवसरमा पारेर प्रदान गर्दै आएको चलचित्र पत्रकारिता राष्ट्रिय सम्मानबाट स्मृत र भट्टराईलाई सम्मान गर्ने निर्णय गरेको हो।

लामो समयदेखि चलचित्र पत्रकारितमा क्रियाशील रही अतुलनीय योगदान पुर्याएबापत स्मृत र भट्टराईलाई यो सम्मानबाट सम्मान गर्न लागिएको संघका अध्यक्ष सन्दीप सापकोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। स्मृत भिजन संसार डटकममा सम्पादक तथा भट्टराई इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत छन्।

त्यसै गरी रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र एबीसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने भएको छ। चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कृत गर्न लागिएको संघले जनाएको छ।

पुरस्कार स्वरूप गिरी र थापालाई नगद २१ हजार रुपियाँ, ताम्रपत्र र ट्रफी प्रदान गरिनेछ। त्यसै गरी मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरिने भएको छ।

प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ।
संघले आगामी ७ गते २०औं स्थापना दिवसको अवसर पारेर आयोजना गर्ने कार्यक्रममा सम्मान तथा पुरस्कार प्रदान गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्