मनाङलाई जित हात परेन



नेपाल समाचारपत्र, काठमाडौं
एएफसी कप फुटबलअन्तर्गत समूहको चौथो चरणको खेलमा नेपालको ए डिभिजन लिग विजेता मनाङ मस्र्याङदी क्लबले आफ्नै घरेलु मैदानमा जित हात पार्न सकेन ।

बुधबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङले पाहुना टोली भारतको आई लिगको विजेता मिनर्भा पन्जाबसँग १–१ बराबरी खेलेको हो । तर यो नतिजापछि टोली २ अंकसहित समूह ई मा चाथो स्थान पुछारमै रहेको छ । साथै निरस नतिजापछि समूह चरण पार गर्न विराज महर्जनको टोलीले आउँदो दुबै खेल जित्नुपर्ने दवाव समेत सिर्जना भएको छ ।

मनाङले अवाहानी लिमिटेडसँग बंगलादेसमा र भारतको चेन्नाईन एफसीसँग नेपालमै खेल्ने छ । समूहमा चेन्नाईन ७ अंकसहित पहिलो स्थानमा छ । त्यस्तै अवाहानी र मिनर्भाको ४–४ अंक रहेका छन् । गोलभिन्नताको आधारमा अवाहानी दोस्रो स्थानमा रहेको छ ।

यो खेलमा पनि पहिलो हाफमै गोल बेहोरेर मनाङले हार स्विकार गर्न लागेको थियो । तर खेल सकिन ९ मिनेट बाँकी हुँदा सहिद अजीजले गोल गरेर मनाङको संभावित हार टारिदिएका थिए । उनले अन्जन विष्टको पासमा हेडमार्फत् गोल गरेका थिए । यद्दपि ८९औं मिनेटमा पन्जाबले गोल गरेको थियो । तर यो अफसाइड घोषित भइँदिदा मनाङलाई राहत मिलेको थियो । गोल गरेर संभावित हार टारेको थियो ।

यसअघि मिनर्भाका लागि मोइरङगथेम थोइवा सिंहले ३९औं मिनेटमा गोल गरेर मनाङलाई १–० ले पछाडि पारेका थिए । उनले रोबर्ट अल्फ्रेडको क्रसमा गोल गरेका थिए । तर यसपछि भने टोली १० खेलाडीमा सीमित भएको थियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा पन्जाबका डिफेन्डर प्रतीक जोशी दोस्रो पटक पहेँलो कार्ड खाँदै बाहिरिनु परेका थिए । उनले नेपाली टोलीका एडिलाजा सोमिडेलाई फाउल गरेका थिए ।

पहिलो हाफको दाँजोमा दोस्रो हाफमा मनाङले केही मुभ बनाएको थियो । ५४औं मिनेटमा अभिषेक रिजालको क्रसमा अन्जनले प्रहार गरेको बललाई विपक्षी गोलकिपरले बचाएका थिए । ६१औं मिनेटमा अजीजको हेड प्रहार झण्डै गोल भएको थियो । तर बल केही इन्च पोस्टभन्दा बाहिरबाट गएको थियो ।

प्रतिक्रिया दिनुहोस्