नेम्वाङ वरिष्ठ उपाध्यक्ष



काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ सर्वसम्मतबाट चयन गरिएको छ । एन्फाको कार्यसमितिको मंगलबार बसेको कार्यसमिति बैठकले नेम्वाङलाई सर्वसम्मत चयन गरेको एन्फाका प्रवक्त किरण राईले बताए । केन्द्रीय कार्यसमितिको निर्वाचन भएको एक वर्षपछि एन्फाले रिक्त भएको वरिष्ठ उपाध्यक्ष पदलाई पूर्ति गरेको छ ।

एन्फाको सो निर्णयप्रति भने वरिष्ठ उपाध्यक्ष पाउने आशा गरेका वीरबहादुर खड्का र केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठ र पूर्णकुमार चित्रकारले बैठक बहिष्कार गरेका थिए । यसै बैठकले २०७६÷७७ को वार्षिक कार्यक्रम र बजेट पारित गरियो भने जिल्ला लिग, प्रदेश लिग र एन्फा प्रेसिडेन्ट लिगको नियमावलीहरु अनुमोदन गरी यसवर्ष देखि संचालन गर्ने र आगामी वर्ष राष्ट्रिय लिग आयोजना गर्ने निर्णय लिएको छ ।

प्रदेश स्तरीय कार्यक्रमहरु सञ्चालन गर्न महासचिवको सहयोगीको रुपमा सातै प्रदेशमा संघका सहायक महासचिवहरुलाई जिम्मेवारी तोकिएको छ । प्रदेश १ मा बसन्त अर्याल, प्रदेश २ मा मोहम्मद समिउल्लाह, प्रदेश ३ मा मोहन कुमार बस्नेत, गण्डकी प्रदेशमा विश्व पौडल, प्रदेश ५ मा प्रकाश पंगेनी, प्रदेश ६ र ७ मा सदस्य प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको छ। यस्तै बैठकले २०७६ देखि सञ्चालनमा हुने एन्फा एकेडेमी बुटवल र धरानमा यसवर्ष देखि समान २५ खेलाडीहरु छनोट गरी प्रशिक्षण प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्