४४ दिनदेखि बन्द झापाका चिया बगान खुले



उत्तम नेपाल, झापा ।
चिया उद्यमीले श्रम ऐन कार्यान्वयन गर्ने सहमति भएपछि ४४ दिनदेखि बन्द झापाको चिया उद्योग खुलेका छन् ।
उद्यमी र मजदुरबीच सोमबार दिनभर छलफलपछि साँझमा भएको तीनबुद्धे सहमतिपछि चिया उद्योग खुलेको हो ।

दुवै पक्षबीच भएको वार्ता पश्चातको तीनबुँदे सहमति अनुसार सरकारले तोकेको श्रम ऐन ‘२०७४’ अनुसार मजदुरलाई न्यूनतम ज्याला ३८५ सहित अन्य सेवा सुविधा दिने, सरकारले चालु आर्थिक वर्षदेखि श्रम ऐन लागू गरे अनुसारको तलब भुत्तान गर्ने र आन्दोलन अवधि भरको ज्याला ३० प्रतिशत दिने समेत सहमति भएपछि मंगलबारदेखि उद्योग खोल्ने सहमति भएको पनि जनाइएको छ ।

सहमति पत्रमा उद्योगीको तर्फबाट नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ता, चिया उद्योगीहरू चण्डी पराजुली, छत्र गिरी, कुमार गिरी, हिरा गिरी र मजदुर नेताको तर्फबाट नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, ट्रेड युनियनका झापा अध्यक्ष यज्ञ प्रताप अधिकारी, कृषि तथा चिया बगान श्रमिक संघका उपाध्यक्ष सइकुमार राई, अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष सीता सापकोटा, जिफण्डका सन्तकुमार राई, भुपाल सापकोटा लगायतले हस्ताक्षर गरेका छन् । मजदुर आन्दोेलनका कारण गत चैत १७ गतेदेखि पूर्वका चिया बगान बन्द रहेका थिए ।

श्रम ऐन अनुसार २०७५ साउन १ देखि ऐनमा उल्लेख भएको दैनिक ज्याला उपलब्ध गराउने सहमति भएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले बताउनुभयो । साउनदेखि नै ३ सय ८५ रुपैंया दिनुपर्नेमा ९ महिनासम्म उद्योगले २ सय ७८ मात्रै दिँदै आएको उहाँले बताउनुभयो । श्रम ऐनमा चिया क्षेत्रमा कार्यारत मजदुरलाई दैनिक ३ सय ८५ रुपैंयाँ ज्याला दिनुपर्ने ब्यवस्था छ ।

जसमा ‘२ सय ३१ रुपैंयाँ ज्याला र १ सय ५४ रुपैंयाँ महङ्गी भत्ता’ भनेर ब्याख्या गरिएको छ । मजदुरले सामाजिक सुरक्षाकोषमा ज्याला रकमको १० प्रतिशत अनिवार्य रुपमा जम्मा गर्नुपर्ने हुन्छ । उद्योगीले सञ्चयकोष बापत १० प्रतिशत, उपदान बापत ८ दशमलब ३३ प्रतिशत र सामाजिक सुरक्षा भत्ता शिर्षकमा १ दशमलब ६७ प्रतिशत रकम थपेर सामाजिक सुरक्षा खातामा जम्मा गर्नुपर्ने हुन्छ ।

उद्योगले मजदुरलाई २ सय ७८ रुपैंयाँ दैनिक ज्याला दिदै आएका थिए । अब उद्योग र दैनिक ज्यालादारी मजदुरले प्रत्येक दिन ६९ रुपैंयाँ सामाजिक सुरक्षा खातामा जम्मा गर्नुपर्ने छ । उद्योगीले ३ सय ८५ रुपैंयाँ ज्याला र ४६ रुपैंयाँ सामाजिक सुरक्षा कोषमा जम्मा गर्दा एकजना मजदुरको हकमा ४ सय ३१ रुपैंयाँ लगानी गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त ६ महिना सुत्केरी बिदा, अंगभंग हुँदा उपचार गर्नुपर्ने उल्लेख छ ।

झापामा साना किसानसहित २८ वटा चिया उद्योग छन् । उद्योगमा ५० हजार बढी मजदुर कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्