म्यानचेस्टर सिटीद्वारा उपाधि रक्षा



लन्डन, (एजेन्सी)
म्यानचेस्टर सिटीले इंग्लिश प्रिमियर लिगको उपाधि रक्षा गरेका छन् ।
आइतबार भएको निर्णायक खेलमा ब्राइटन एन्ड होभ एल्बियनको घरेलु मैदानमा सिटीले ४–१ को फराकिलो जित दर्ता गर्दै उपाधि रक्षा गरेको हो । यो समेत सिटीले चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको हो । सिटीले गत सिजन तेस्रो पटक उपाधि उचालेको थियो ।

जारी सिजनको ३८ औं चरणका खेल सम्पन्न भएपश्चात् उपाधि विजेताको छिनोफानो भएको हो । सिटीले ३८ खेलमा ३२ जित, २ बराबरी र चारमा हार व्यहोर्दै ९८ अंक जोडेर उपाधि रक्षा गरेको हो । समान खेलमा ३० जित, ७ बराबरी र एक हार व्यहोरेको लिभरपुलको ९७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । यसअघि म्यानचेस्टर सिटी र लिभरपुल उपाधि दौडमा थिए ।

दुवै टोलीका लागि आइतबारको खेल निर्णायक बनेको थियो । एकातिर सिटीले ब्राईटनलाई हराएको खण्डमा सिधै उपाधि जित्ने निश्चित थियो भने बराबरी वा पराजित भएको खण्डमा लिभरपूल र वुल्भसबीचको खेलले लिग विजेताको टुङ्गो लाग्ने समिकरण बनेको थियो ।

आइतबारको खेल दौरान एक समय सिटी १–० ले पछाडी रहँदा लिभरपुलले अग्रता लिँदै उपाधि होडमा अगाडी रहने देखिएको थियो । ब्राइटनका लागि खेलको २७ औं मिनेटमा भेट्रान फरवार्ड ग्लेन मरेले पास्कल ग्रसको पासमा गोल गरेका थिए । तर त्यसको एक मिनेट नबित्दै सर्जियो अगुएरोले खेललाई बराबरीमा ल्याएका थिए । एमेरिक लापोर्टले खेलको ३८ औं मिनेटमा कर्नरमा हेडमार्फत् गोल गर्दै सिटीलाई उपाधि होडमा अगाडी बढाए ।

दोस्रो हाफको ६३ औं मिनेटमा रियाद माहरेजले सिटीको अग्रता बढाए । उनले डेभिड सिल्भाको पासलाई गोलमा परिणत गरे । ७२ औं मिनेटमा इल्काए गुन्डोगनले फ्रिकिकमा गोल गर्दै सिटीको उपाधि पक्का गरेका थिए ।

यस्तै अर्कोतिर वुल्भ्सलाई २–० ले पराजित गरेपनि लिभरपुल उपविजेतामा सिमित हुनुप¥यो । लिभरपुलका लागि दुवै गोल साडियो मानेले गरेका थिए । उनले खेलको १७ औं र ८१ औं मिनेटमा गोल गरेका थिए । यस नतीजासंगै लिभरपुलले सन् १९९० पछि पहिलो पटक घरेलु लिग जित्ने मौकालाई गुमायो । हालै च्याम्पियन्स लिगको फाइनलमा पुगेको लिभरपुल घरेलु लिग समेत जित्न चाहन्थे ।

प्रतिक्रिया दिनुहोस्