सम्झनामा पुष्करलाल



लक्ष्मण अधिकारी
बिहान ११ जति बजेको थियो, पुष्कर सर र म कुनै विषयमा छलफल गर्दै थियौं। समाचारपत्र दैनिकका एकजना संवाददाताले एउटा निमन्त्रणा कार्ड देखाउँदै भने– ‘सर आज ‘बैंकको वार्षिकोत्सवको कार्यक्रम रहेछ, हाम्रोबाहेक सबै डेलीलाई विज्ञापन दिएको छ, न्युज कभरेज गर्न जानुपर्ला र रु’
त्यस बैंकले हामीलाई निषेध गरेको सुन्दा मेरो मनमा हीनताबोधसँगै असन्तोषको भाव जागृत भएको थियो। तर, उहाँले बैंकको प्रगति झल्किने गरी अरूले भन्दा फरक र राम्रो तरिकाले फोटोसहित कभरेज गरिदिनू भन्नुभयो। मचाहिँ के बोल्ने भनेर शब्द चयन नै गर्न सकिरहेको थिइनँ। किनभने त्यस बेला नेपाल समाचारपत्रले कामना प्रकाशन समूहको पुरानो सुदृढ आर्थिक जगलाई निकै शिथिल बनाइरहेको थियो। पत्रिकाको सर्कुलेसन वृद्धि भएअनुरूप विज्ञापन थिएन। समाचार उत्पादन, वितरण र विज्ञापनका बीच सन्तुलन कायम हुन नसक्दा आर्थिक संकट गहिरिने स्थिति बन्दै थियो।
जे भए नि त्यो बैंकको समाचार पुष्कर सरले भनेझैं नै तयार भयो र छापियो पनि। अर्को दिन बैंकका महाप्रबन्धक आफैंले उहाँलाई फोन गरेर माफी माग्दै अरूलाई भन्दा ठूलो साइजको विज्ञापन दिने निर्णय भएको जानकारी गराएछन्। त्यो कुरा सुनाएर उहाँले मलाई भन्नुभयो– ‘कस्तो लाग्यो त रु’ त्यसपछि हामी दुवैजना खुबसँग हाँस्यौं। हामी स–साना कुरामा पनि हाँस्थ्यौं।
उहाँ मानिस नै अत्यन्त रसिक हुनुहुन्थ्यो। तनाव हुँदा उहाँ प्रायः मलाई खोज्नुहुन्थ्यो र हरेक किसिमका तनावलाई उहाँ रमाइलो पाराले प्रस्तुत गर्नुहुन्थ्यो। विज्ञापन सञ्चारमाध्यमको प्राण नै हो। पत्रिका वा अरू सञ्चारमाध्यमका कार्यक्रम उत्पादन कार्य महँगो पर्ने भएकाले त्यसको लागत पाठक, स्रोता वा दर्शकबाट असुल गर्न सकिन्न, धान्ने भनेको विज्ञापनबाट नै हो। सामान्य व्यावसायिक तरिकाबाट सञ्चारमाध्यममा विज्ञापनहरू नआउँदा व्यक्तिगत सम्बन्ध, शक्ति केन्द्रको प्रभाव प्रयोग गर्नेदेखि संस्थाका नेतृत्वको चरित्र हत्या गर्नेसम्मका संयन्त्रहरूको प्रयोग गर्ने अभ्यास नेपाली मिडियामा अहिले पनि भइरहेको देखिन्छ। तर, उहाँले व्यावसायिक सम्बन्धका आधारमा विज्ञापनको अपेक्षा गर्नुपर्ने कुरालाई जोड दिने गर्नुभएको थियो।
 सबै स्टाफलाई खुसी राखेर काम लिन सक्ने र जसलाई पनि आप्mना कुरामा सहमत गराउन सक्ने उहाँको गजबको खुबी थियो ।
‘निष्पक्ष र तथ्यपरक पत्रकारिताले मात्र सञ्चारमाध्यमको प्रतिष्ठा आर्जन हुन्छ। सञ्चारमाध्यमको प्रतिष्ठा नै त्यसको वास्तविक शक्ति हो र त्यसैले सञ्चारमाध्यमलाई दिगो र लोकप्रिय बनाउन सक्छ’ भन्ने कुरा उहाँ बराबर दोहो¥याउने गर्नुहुन्थ्यो। तर, पछि कामना प्रकाशनको शेयर संरचनामा परिवर्तन, राजनीतिक, आर्थिक एवं व्यापारिक लाभका दृष्टिले आम सञ्चारमाध्यमलाई उपयोग गर्ने शक्ति केन्द्रहरूको दबाब र प्रभावमा थिलथिलिएको नेपाली पत्रकारिता जगत्मा उहाँले आफ्ना आदर्श भनाइहरूलाई कुन हदसम्म अवलम्बन गर्न सक्नुभएको थियो भन्ने कुराचाहिँ थप अध्ययनको विषय होला। तर, जे भए पनि कामना प्रकाशन समूह निजी क्षेत्रबाट संस्थागत र व्यावसायिक पत्रकारिता शुरू गर्ने नेपालको पहिलो प्रकाशन संस्था हो र यस संस्थाको परिकल्पनाकार र मुख्य सञ्चालक पुष्करलाल श्रेष्ठ नै हुनुहुन्थ्यो।
जिम्मेवार पत्रकारिता
सत्य, तथ्य र निष्पक्षता त पत्रकारिताका मूल मन्त्र नै हुन्। यिनै आधारभूत कुरा दिमागमा राखेर म कामना प्रकाशन समूहमा प्रवेश गरेको थिएँ। तर, सत्य, तथ्य र निष्पक्ष हुँदैमा समाचार सधैं सम्प्रेषणयोग्य हुन्छ भन्ने छैन, पत्रकारिता जिम्मेवारीपूर्ण पनि हुनुपर्छ भन्ने कुरा मैले पुष्करलाल श्रेष्ठबाटै सिकेको थिएँ। कामना प्रकाशन समूहको खोजमूलक साधना मासिकमा करिब २ वर्ष सहसम्पादक र करिब १८ वर्ष सम्पादकको जिम्मेवारी निर्वाह गर्ने क्रममा यससँग सम्बन्धित थुप्रै खोजमूलक सामग्री जिम्मेवार पत्रकारिताका दृष्टिले छलफलका विषय बनेका थिए, जुन मेरा लागि सिकाइका क्रम पनि थिए।
२०५० सालमा साधनाले समलिंगीसम्बन्धी एउटा खोजमूलक लेख तयार गर्दै थियो। त्यस बेला यस विषयमा नेपाली सञ्चारमाध्यममा पश्चिमी मुलुकका समाचार फाट्टफुट्ट आउँथे। पाठक रुचि दिएर पढ्थे। साधनाले इनडेप्थ रिपोर्टिङ गर्ने क्रममा एकजना नेता ९पछि मन्त्री पनि भए० समलिंगी यौन कार्यमा लिप्त रहेको फोटो प्राप्त गरेको थियो।
फोटो त सत्य, तथ्य, निष्पक्ष सबै थियो। तैपनि छाप्ने नछाप्ने विषयमा छलफल भयो। त्यो फोटोसहित लेख छाप्दा साधना सुपरहिट हुने र लेखक पनि चर्चित हुने निश्चित थियो। केही साथी फोटो छाप्नुपर्छ भन्ने पक्षमा थिए। म पत्रकारिताको सिद्धान्त पढेर भर्खर काममा आएकाले अलमलमा थिएँ। उहाँले ‘रेस्पनसिवल जर्नालिजम’को सन्दर्भ जोड्दै ‘फोटो नछापौं’ भन्नुभयो। फोटो छापेपछि त्यो व्यक्तिको परिवारमा विग्रह आउने, पलायन हुनुपर्नेदेखि उसले आत्महत्या गर्नुपर्ने स्थितिसम्म आउन सक्छ। त्यो हाम्रो उद्देश्य होइन भन्नुभयो। फोटो छापिएन। त्यो लेखकै कारणले पनि साधना रिप्रिन्टको स्थितिमा पुगेको थियो।
सम्पादकीय स्वतन्त्रता

पत्रकारितामा पत्रकार र प्रमोटरबीच सम्पादकीय स्वतन्त्रताको विषयमा अक्सर द्वन्द्व हुने गरेको देखिन्छ। प्रायः त्यसकै निहुँमा विशेष गरी सम्पादकहरू मिडिया हाउस छोडेर हिँड्छन् पनि। पुष्करलाल श्रेष्ठ आफैं पत्रकार र एकजना प्रमुख प्रमोटर पनि भएका कारणले हो वा उहाँको व्यक्तिगत विशेषताका कारणले हो, मैले दुई दशकको अवधिमा पूर्णरूपमा सम्पादकीय स्वतन्त्रताको अनुभूति गरेको थिएँ।

एकपटक एउटा ठूलो तथा पुरानो गैरसरकारी संस्थाका सञ्चालकहरूबीच संस्थाको सम्पत्ति हिनामिनालगायतको विषयमा द्वन्द्व चर्किएछ। एकले अर्कोलाई नङ्ग्याउन पत्रपत्रिका उपयोग गरिरहेका थिए। कामना प्रकाशनका प्रधान सम्पादक पुष्करलालसँग एक पक्षको राम्रो सम्बन्ध रहेछ। उनीहरू आएर आफ्ना कुरा विस्तृतरूपमा साधनामा छापिदिन अनुरोध गरेछन्। साधनाको टिमले अनुसन्धान ग¥यो। खोज्दै जाँदा पुष्करसरसँग सम्बन्ध भएका तिनै व्यक्तिहरूले चाहिँ बदमासी गरेको कुरा फेला प¥यो। मैले यो विषयमा उहाँलाई ब्रिफिङ गरें, उहाँ हास्नु मात्र भयो, केही भन्नुभएन। मैंल यसलाई ‘गो अहेड’को अर्थमा बुझें र यथावतरूपमा लेख प्रेसमा पठाएँ ।

अर्को एउटा सन्दर्भचाहिँ वरिष्ठ पत्रकारको थियो। ती पत्रकारले नेपालका ठूलाबडाका छोराछोरीलाई विदेशमा छात्रवृत्ति मिलाइदिने भन्दै ठूलो रकम लिने र पछि काम पनि नगर्ने पैसा फिर्ता माग्दा उल्टै बदनाम गर्ने समाचार लेखिदिने धम्की दिने गरेको हामीले सुराक पायौं। साधनाको टिमले अनुसन्धान गर्दा सुरक्षा र न्यायालयका उच्च पदस्तहरूसमेत उसबाट पीडित भएको पाइयो। लेख तयार हुने क्रममा थियो अनुसन्धान रोक्न तथा नछापिदिन ती पत्रकारले स्वदेशी, विदेशी सबै शक्ति प्रयोग गरेर पुष्कर सरलाई दबाब दिन थालेको सुनाउनुभयो। मैले पनि उहाँका कुरा हाँसीहाँसी सुनें। उहाँले रोक भन्नुभएन। लेख यथावतरूपमा छापियो। पछि त्यो खोजमूलक लेखलाई समेत आधार मानेर अदालतमा मुद्दा प¥यो, ती वरिष्ठ पत्रकार जेल परे।

पुष्कर सरका मित्रहरू संलग्न भएका अस्पताल र गैरसरकारी संस्थाका विकृति साधनाले खोतलेको थाहा पाएर यसलाई रोक्नका लागि बेल–बेलामा दबाब आएको उहाँले सुनाउनुहुन्थ्यो। तर, तयार हुँदै गरेका त्यस्ता खोजमूलक लेखलाई रोक्ने वा उल्टाउने सम्बन्धमा उहाँले दबाब दिएको कहिल्यै मैले महसुस गर्नु परेन। उहाँको भनाइ यत्ति मात्र हुन्थ्यो– ‘तपाईंले जसलाई चार्ज लगाउँदै हुनुहुन्छ, जसका बारेमा लेख्दै हुनुहुन्छ, उसको भनाइ राख्नचाहिँ नछुटाउनुहोला।’ मैले त्यस्तै गर्ने प्रयास गरें। त्यसपछि परेको उहाँले नै बेहोर्नुहुन्थ्यो। एकपटक त उहाँकै पिताजी ९स्व। भरतलाल०ले नेतृत्व गरेको विशाल बजार कम्पनीका विरुद्ध समाचार छापिएको महानगर पत्रिका लिएर उहाँ लुरुलुरु घर जानुभएको थियो।
सम्बन्ध र सम्झना
२०४७ सालमा रत्नराज्यबाट पत्रकारितामा स्नातक गर्नासाथ म विभिन्न पत्रपत्रिकामा लेखहरू लेख्न थालेको थिएँ, तर मलाई चित्त बुझिरहेको थिएन। एक दिन रानीपोखरी छेउको फुटपाथमा साधना मासिक देखें, उभिएर हेरें राम्रो लाग्यो। किनेर पढें मन प¥यो। राजनीतिबाट अलग, सामाजिक, ऐतिहासिक, सांस्कृतिक, साहित्यिक, खेलकुद, स्वास्थ्य आदिका विषयवस्तु खोजमूलक र रोचक तरिकाले प्रस्तुत गरिएको थियो। तथ्यपरक तर अलि फिक्सनाइज।
साधना पत्रिका नियमित पढ्न थालें, पछि लेख्न पनि थालें। मैले राम्रो प्रतिक्रिया पाएँ। त्यस बेला साधनाको मुख्य सम्पादक धर्मानन्द अधिकारी हुनुहुन्थ्यो। उहाँसँग छलफल गर्दै लेख्दै गएँ। त्यस क्रममा मैले पुष्करलाल श्रेष्ठ र उहाँको मिसन, भिजन बारेमा धर्मजीबाट थाहा पाएँ। मलाई मन प¥यो। एक दिन उहाँलाई पनि भेट्छु भनेर अफिसमा गएको थिएँ। ढोकामा एकजना हँसिलो मानिसलाई ‘पुष्कर सर आउनुभयोरु’ भनेर सोधें। उहाँले ‘मै त हो नि’ भनेर हाँसी–हाँसी भन्दा शुरूमा त पत्यारै लागेन। पछि थाहा पाएँ उहाँ पनि मलाई भेट्न खोजिरहनुभएको रहेछ। त्यस बेला उहाँको जीवनशैली साह्रै सरल र सिम्पल थियो। त्यसको केही महिनापछि मैले त्यहाँ सहसम्पादकको जिम्मेवारी लिएर काम शुरू गरें।
उहाँको सोच, कार्यशैलीबाट म निकै प्रभावित थिएँ। उहाँमा ‘सेन्स अफ ह्युमर’ अधिक मात्रामा थियो। गम्भीर प्रकृतिको विषयलाई गम्भीररूपमा लिन पनि जान्नुहुन्थ्यो तर प्रस्तुति रमाइलो पाराको। प्रकाशन समूहका पत्रकार तथा कर्मचारीसँग व्यक्तिगत सम्बन्ध कायम गर्ने उहाँको गजबको नेतृत्व शैली थियो। संस्थाको अध्यक्ष तथा प्रधान सम्पादक भएर पनि उहाँसँग जुनसुकै बेला जुनसुकै स्टाफले भेट्न र आफ्ना कुरा राख्न सक्थ्यो।
कामना, साधना र महानगर मात्र प्रकाशन भइरहँदा संस्थाको आर्थिक स्थिति अत्यन्तै सुदृढ थियो। तीनैवटा पत्रिका हिट थिए। स्टाफहरू पनि हर्षित। एक वर्ष त सबै कर्मचारीले बोनस खाने अवसर पनि पाएका थिए। सबै स्टाफलाई खुसी राखेर काम लिन सक्ने र जसलाई पनि आप्mना कुरामा सहमत गराउन सक्ने उहाँको गजबको खुबी थियो। त्यस बेलाको सम्पादकीय टिम पनि निकै राम्रो थियो, कपिल काफ्ले, धर्मानन्द अधिकारी, आरके धर्मस्थली, बद्री तिवारी।।।। जहाँ, जतिखेर जे भने पनि उहाँलाई सहयोग गर्न तत्पर हुने फुर्तिलो र सशक्त टिम थियो।
कला तथा चलचित्र पत्रकारिता, खोजमूलक पत्रकारिता, स्वास्थ्य पत्रकारिता, खेलकुद पत्रकारिताको जग बसाएर मजमबुत बनाउने कार्यमा उहाँको ठूलो योगदान छ भन्ने मलाई लाग्छ। पत्रकारितामा राष्ट्रियताको पक्षपाती हुनुहुन्थ्यो उहाँ। निर्भीक, निडर र निष्पक्ष पत्रकारिका लागि उहाँले सधैं प्रेरणा दिनुहुन्थ्यो।
नेपाल समाचारपत्रको प्रकाशन शुरू हुँदाका बखत कामना प्रकाशन समूह निजी क्षेत्रको एउटा प्रभावशाली सञ्चार गृहका रूपमा स्थापित भएको थियो। त्यस अवधिलाई कामना प्रकाशन गृहको स्वर्णकाल नै भन्दा नि हुन्छ। प्रकाशन गृहलाई त्यो ठाउँसम्म पु¥याउने प्रमुख श्रेय पुष्कर सरलाई नै जान्छ, किनभने यो सबै उहाँकै नेतृत्वमा भएको थियो। उहाँ जति सिर्जनशील र प्रतिबद्ध मानिस सो प्रकाशन गृहमा अरू कोही थिएन पनि। संस्था बनाउनका लागि उहाँले निरन्तर त्याग पनि गर्नुभएको थियो। उहाँले घर–परिवारलाई उचित समय दिन सक्नुभएको थिएन। पुष्कर सरसँगको निकटताका कारण म उहाँको घर–परिवारसँग राम्ररी परिचित थिएँ र यथार्थताको जानकार पनि। पत्रकारिता वृत्तबाहेकको सामाजिक जीवन धान्न उहाँलाई निकै हम्मे–हम्मे परेको मैले अनुभव गरेको थिएँ। बिहान करिब ८ बजेदेखि साँझ अबेरसम्म उहाँ कार्यालयमै निरन्तर समर्पित भइरहनुहुन्थ्यो।
२०४९ सालदेखि २०६९ सम्म मैले निरन्तर उहाँको निकट रहेर काम गरें। उहाँसँग मेरो गहिरो भावनात्मक सम्बन्ध कायम भयो। अफिसमा फुर्सदका समय प्रायः उहाँ र म सँगै हुन्थ्यौं। उहाँसँग काम गर्दा म निकै खुसी थिएँ। सकारात्मक धारणा राख्ने, सिर्जनात्मक तरिकाले सोच्ने, प्रेरणदायी कुरा गर्ने र स–साना कुरामा पनि हँसाउने उहाँको बानी मलाई निकै मन परेको थियो। उहाँ बेला–बेलामा मलार्ई फोन गरेर ‘हाँस्ने होरु’ भन्दै बोलाउनुहुन्थ्यो, कहिले मेरो कार्यकक्षमा नै आएर हँसाएर जानुहुन्थ्यो। म कम हाँस्ने स्वभावको मानिस उहाँसँग बस्दा जति मैले जीवनमा कहिल्यै हाँस्ने अवसर पाइनँ, सम्झँदा छाती भारी भएर आउँछ।
मेरो जीवनका अरू केही रुचि र प्राथमिकताका कारण म २०६९ सालदेखि संस्थागत पत्रकारिता छोडेर स्वतन्त्र पत्रकारितामा सीमित भएँ। यसबीचमा उहाँसँगको सम्बन्ध पातलिए पनि महŒवपूर्ण विषयमा बेला–बेला संवाद हुन्थ्यो। पछिल्लो समय केही लामो ग्यापपछि भेट्न जान्छु भनेर सोच्दै थिएँ तर भ्याइरहेको थिइनँ। एकैचोटी उहाँँ सिकिस्त अवस्थामा दिल्लीमा उपचार गराइरहेको खबरले म स्तब्ध भएँ। दिल्लीमै उहाँका जेष्ठ पुत्र दिरेकलालसँग सम्पर्क गरेर जानकारी लिएँ। अवस्था सुनेर म मर्माहत भएँ।
नेपाल ल्याउँदा मेसिन सपोर्टमै राखेर सीधै नर्भिक अस्पतालको आईसीयूमा लगिएको थियो। म पनि सँगसँगै जस्तो पुगेको थिएँ। उहाँको जटिल शारीरिक अवस्था देखेर मन निकै आत्तियो, चिसो अनुभव भयो। मैले सोचेभन्दा पनि निकै गलेको देखें। त्यस बेला उहाँको घाँटीमुनिको भाग प्रायः निस्क्रिय थियो। बोल्न सक्ने अवस्था थिएन। आँखा, जिब्रो र टाउको हल्लाएर डाक्टरको प्रश्नलाई रेस्पोन्स गरिरहनुभएको थियो। डाक्टर गएपछि केहीबेर उहाँको सामुन्ने उभिएँ, उहाँ लगातार रुन थालेपछि म पनि भाववि≈वल भएँ र पुराना दिन सम्झँदै बाहिरिएँ। आईसीयूमा बराबर भेट गर्दा उहाँलाई थप संक्रमण हुने डर थियो। दोहोरो बोल्न सक्ने नभएसम्म भेट्न आउँदिनँ भनेर सोच्दै निस्किएँ तर मैले त्यो अवसर कहिल्यै पाइनँ। सम्झना र पछुताउबाहेक केही रहेन।
उहाँले शरीर छोडेको चौथो दिन कामना प्रकाशनले कार्यालय परिसरमा श्रद्धाञ्जली कार्यक्रम राखेको जानकारी पाएँ र गह्रौं मन लिएर गएँ। कामनाको भवन पहिलेभन्दा भव्य थियो, पुराना सहकर्मीहरू, पब्लिकेसनका स्टाफहरू र स्थानीय बासिन्दा पनि जम्मा भएका थिए। तर, पनि त्यहाँ केही नभएको, निरस, शून्य र आत्मविहीन खण्डहर जस्तो अनुभव भइरहेको थियो। कामना प्रकाशन गृहको सिर्जना गरी जीवन्त बनाएर नेपालको पत्रकारिता जगत्मा एउटा महŒवपूर्ण इतिहास रच्ने धरोहरको अवसान भइसकेको थियो।
सयौंपटक साँझ अबेरसम्म चिया खाँदै रमाइला र रचनात्मक गफ गरेर बिताएको कामना प्रकाशनको त्यही चउर र त्यही ठाउँमा मेरा पत्रकारिताका गुरु एवं घनिष्ठ मित्र पुष्करलालको फोटो राखेर श्रद्धाञ्जली दिनु मेरा लागि जीवनको निकै कठिन एवं दुखद क्षण थियो। उहाँले परिकल्पना गरेर सिर्जिएका प्रकाशनहरूको निरन्तरता र पत्रकारितामा उहाँले स्थापित गर्न चाहेको मूल्य मान्यताको अवलम्बन नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने भावना व्यक्त गर्दै निरास मन लिएर बाहिरिएँ। अलबिदा पुष्कर सर⁄
प्रतिक्रिया दिनुहोस्