भ्रष्टाचार खै घटेको ?



केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने आफ्नो दीर्घकालीन लक्ष्य रहेको बताउँदै आएको छ । सरकारले लक्ष्यअनुसार केही क्षेत्रमा सुधारका संकेत पनि देखाएको छ । तर, अपेक्षा गरेअनुसार सरकारले सुशासन कायम गर्ने विषयमा सशक्त क्रियाशीलता देखाएको छैन । सरकारले कुशासनको जन्जिरले बाँधिएका हरेक क्षेत्रमा निर्मम अप्रेसन गर्न जरुरी छ ।

मलेसियाका महाथिर मोहम्मदलाई पनि शुरुमा विकास र सुशासन कायम गर्न निकै कठिन प¥यो । तर, उनले सबै खाले कठिनाइ पार गर्दै इमानदारितापूर्वक काम गरेर भ्रष्टचारीलाई कडा कारबाही गरे । कालोबजारी, भ्रष्टाचारी नेता र प्रशासक सबैलाई कानुनी दायरामा ल्याए । उनले भ्रष्टाचारीलाई कारबाही गर्ने सवालमा कहिल्यै पनि खुट्टा कमाएनन् । कसैको दबाब र प्रभावमा परेनन् । सुशासन कायम गर्न ठूलो इच्छाशक्ति आवश्यकता पर्छ । त्यसैले सरकारले सुुशासन कायम गर्न ठूलो इच्छाशक्ति नै देखाउनुपर्छ ।

देश हाँक्ने भनेकै राजनीतिक र प्रशासनिक नेतृत्वले हो । दुवै पक्ष इमानदार र एकताबद्ध भएर अगाडि बढ्न सके सुशासन कायम गर्न कठिन छैन । महालेखापरीक्षकको कार्यालयको ५६आंै वार्षिक प्रतिवेदनलाई आधार मान्दा सुशासनको अवस्था सन्तोषजनक छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेका विभिन्न अनुसन्धानले पनि मुलुकमा सुशासनको पारो बढ्न नसकेको देखाएको छ ।

संवैधानिक निकायले गरेको विश्लेषण र अध्ययनलाई सरकारले गम्भीरतापूर्वक लिएर कुशासन र भ्रष्टाचार हटाउने उपायको खोजी गर्न ढिलाइ गर्नुहुँदैन । सूक्ष्म अध्ययन र विश्लेषण गर्ने हो भने धेरै क्षेत्रमा विकृतिको चाङ छ । अहिले दुई तिहाइ बहुमतको सरकार छ । इतिहासमा सरकारलाई यस्तो अवसर निकै कम मात्रै आउँछ । सरकारले जे चाहन्छ, त्यसलाई सजिलै पूरा गर्न सक्छ । तसर्थ, सर्वप्रथम सरकारले यस्तो अप्रेसन चलाउनुपर्छ, जसले भ्रष्टाचारीको सात्तो जाओस् । कसैले भ्रष्टाचार गर्नै नपाओस् ।

अब भ्रष्टाचार गर्ने कर्मचारीलाई ठाउँका ठाउँ बर्खास्त गर्न सक्ने गरी नयाँ कानुनी व्यवस्था गर्नुपर्छ । नीतिगत खालका भ्रष्टाचार हुन नसक्ने गरी सोहीअनुसार आवश्यक कानुनी व्यवस्था गर्नुपर्छ । अहिले पनि भ्रष्टाचार गर्ने कर्मचारी तथा अन्य व्यक्तिलाई कडा कारबाही गर्ने व्यवस्था नभएको भने होइन । तर, कार्यान्वयन हुन नसक्दा भ्रष्टाचारको पारो सजिलैसँग बढिरहेको छ । केही विश्लेषकले त नेपाल कालो धन सञ्चित गर्नेहरूका लागि स्वर्ग बनेको तर्क गर्दै आएका छन् ।

सरकारले बढी भ्रष्टाचार र अनियमितता हुने सरकारी कार्यालय तथा क्षेत्रको स्पष्ट पहिचान गरी ती क्षेत्रमा निर्मम अप्रेसन गर्न जरुरी छ । सरकारका महत्वपूर्ण निकाय र क्षेत्रमा कमान्ड गर्न इमानदार, कर्तव्यनिष्ठ र केही गरौं भन्ने कर्मचारीलाई पठाउनुपर्छ । अहिले महत्वपूर्ण निकायमा पठाइएका केही व्यक्ति विवादित बने । त्यस्ता व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिँदा सरकारको भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा समेत गम्भीर समस्या सिर्जना हुन सक्छ । विगतमा राजनीतिक नेतृत्व र भ्रष्ट चरित्रका व्यक्तिबीचको गोप्य साठगाँठका कारण मुलुक कुशासनको चक्रमा फस्यो । मुलुकले अकल्पनीय पीडा र समस्या भोग्यो । त्यसैले मुलुकको विकास र प्रगतिको अनिवार्य सर्त नै सुशासन भएकाले सुशासन कायम गर्नु अहिलेको अनिवार्य आवश्यकता हो ।
– सुधीर नेपाली, ललितपुर ।

गलत परम्परा निरुत्साहित गरौं
देशका विभिन्न ठाउँहरुमा अहिले पनि त्यस्ता परम्पराहरु चल्दै आएका छन्, जसले समाजलाई नै हानि पु¥याइरहेको छ । बालविवाह, महिनावारी प्रथा, बोक्सी, बुहविवाहलगायत अनेक परम्पराले गर्दा समाजमा शान्ति नै खल्बलिने गरेको छ । बोक्सीको आरोपमा महिलामाथि कुटपिट र हिंसा, महिनावारी हुँदा महिलामाथि गरिने व्यवहारलगायत बालविवाह र बहुविवाह समाजमा अहिले पनि गढेर बसेका छन् । समाजमा शिक्षित वर्ग बढे पनि हानिकारक परम्परा तोड्न सकिएको छैन ।

समाजमा देखिएका नचाहिँदा परम्पराको अभ्यासलाई न्यूनीकरण गर्न विभिन्न निकायले अभियान चलाएका छन् तर ती कार्यक्रमहरु प्रभावकारी भने हुन सकेका छैनन् । समाजमा अहिले पनि बालबालिका र महिलाहरु नचाहिँदा परम्पराबाट बढी प्रभावित भएका छन् । त्यसैले, जिल्लाका दुर्गम क्षेत्रमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ । समाजमा गढेर बसेको कुप्रथालाई अन्त्य गर्न सबै सजग हुन जरुरी छ ।
वर्षौंदेखि चल्दै आएको कुरीति र कुप्रथाले समाजमा दुर्घटना निम्त्याइरहेको छ । अन्धविश्वासका कारण अहिले पनि महिला, बालबालिकालगायत पिछडिएका वर्गहरु प्रभावित हुँदै आएका छन् । तसर्थ, समाजबाट हानिकारक परम्परालाई हटाउन सबै पक्ष सक्रिय हुनुपर्छ ।
– दीपेश खनाल, काठमाडौं ।

कुलमानलाई कलंकित नबनाऊ
देशलाई लोडसेडिङ मुक्त गर्न महत्वपूर्ण भूमिका खेलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि बेला–बेला अनेकौँ आरोप लाग्ने गरेको छ । उनले आफूमाथि लागेको आरोपको स्पष्टीकरण पनि दिने गरेका छन् । विद्युत् प्राधिकरणको प्रमुखको कर्तव्य निभाइरहँदा उनलाई थुप्रै आरोप–प्रत्यारोप लाग्दै आएको छ । उनले आफूमाथि लागेको आरोपको स्पष्टीकरण दिइरहँदा प्राधिकरणको विकास देख्न नसक्ने केही मान्छे लागिपरेको तर्कसहित अभिव्यक्ति दिने गरेका छन् ।

घिसिङको नेतृत्वमा प्राधिकरण हाल नाफामा छ । उनले चालेका कदमहरुले सफलता पाइरहेका छन् । तर उनलाई काम गर्न नदिने प्राधिकरणभित्र केही व्यक्ति सल्बलाइरहेको उनको अभिव्यक्तिबाट स्पष्ट देखिन्छ । विद्युत् प्राधिकरणमा सकारात्मक कामहरु भइरहँदा पनि अवरोध सिर्जना गर्ने तत्वहरु सल्बलाइरहेको गुनासो आइरहेको हुँदा सम्बन्धित निकायले यस्ता तत्वहरुको पहिचान गरी आवश्यक कार्वाही गर्न जरुरी छ ।

विद्युत् प्राधिकरणको विकासले गति लिइरहेको छ । कुलमानको नेतृत्वमा प्राधिकरणमा थुप्रै सकारात्मक परिवर्तनहरु देखिएका छन् । जनताले पनि उनको कामलाई तारिफ गर्दै आएको अवस्था छ । उनलाई काममा अवरोध भएको स्वयंले बताइरहँदा राज्यले यसतर्फ ध्यान दिन आवश्यक छ । कुलमानले प्राधिकरणमा आमूल परिवर्तन ल्याएका छन् । उनको काममा अवरोध सिर्जना भइरहेको हुँदा त्यस्ता व्यक्तिको पहिचान गर्न सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । अतः विकासलाई गति दिने हातहरु बाँधिनुहँुदैन ।
– सरस्वती न्यौपाने, जाजरकोट ।

प्रतिक्रिया दिनुहोस्