भिक्षु अश्वघोषप्रतिको कदर



अबको चार दिनपछि २०७५ साल हामीबाट बिदा हुँदै छ । राष्ट्रका लागि महत्वपूर्ण योगदान पु¥याएका मूर्धन्य ख्यातिप्राप्त प्रतिभाहरु यस वर्ष राष्ट्रले गुमाएको छ । पञ्चायतका आमा मानिने डा. तुल्सी गिरी, मानवअधिकार तथा वामपन्थी नेता पद्मरत्न तुलाधर, इतिहासविद् एवं भाषाविज्ञानका ज्ञाता कमलप्रकाश मल्ल, बहालवाला संस्कृतिमन्त्री रवीन्द्र अधिकारी, पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई यस वर्ष राष्ट्रले गुमायो । यसै क्रममा गत शुक्रबार संघनायक भिक्षु अश्वघोष महास्थवीरलाई पनि हामीले गुमाएका छौं । यस दृष्टिले हेर्दा २०७५ साललाई नेपाल र नेपालीका लागि शोकको वर्षका रुपमा लिन सकिन्छ ।

मानिस जन्मिएपछि मृत्यु अवश्यम्भावी छ । मृत्यु जीवनको सत्य पनि हो । यो शाश्वत सत्यको बोध गर्दा पनि उल्लिखित व्यक्तित्वहरुको निधनले मुलुक र मुलुकवासीलाई स्तब्ध बनाएको छ । हुन त शुक्रबार निधन भएका नेपालका संघनायक भिक्षु अश्वघोष नेपाल सरकारले बनाएको कुनै मर्यादा क्रममा पर्दैन । तर पनि आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर उहाँको विशेष राजकीय सम्मानका साथ दाहसंस्कार गर्ने जुन निर्णय सरकारले ग¥यो यसलाई एक सौम्य, ज्ञानी, विद्धान् प्रतिभाको कदर गरेको रुपमा लिन सकिन्छ । यस निर्णयलाई कतिपयले राजनीतिक प्रभावसँग जोडेर हेरे पनि समग्रमा बुद्धधर्मको क्षेत्रबाट मुलुकलाई भएको योगदानको सही किसिमले राज्यले कदर गरेको रुपमा लिन सकिन्छ । प्रधानमन्त्री स्वयंले भिक्षुप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दै सो निर्णय गरिएको बुद्धधर्मावलम्बीहरुमाझ जानकारी गराउनुले राज्यले एक प्रतिभाशाली भिक्षुको ज्ञान, क्षमता र योगदानलाई कदर गरेर बुद्धको जन्मभूमि नेपालका प्रत्येक नेपालीको आत्मसम्मान बढाएको अनुभूत गरिएको छ ।

बुद्धको जन्मभूमि नेपालमा भिक्षु अश्वघोषले बुद्धधर्मलाई व्यावहारिक, सामाजिक, राजनीतिक, आर्थिक दृष्टिलगायत अन्तरविषयक उपागमबाट अध्ययन गर्ने धाराको शुरुआत गर्नुभएको थियो । २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि गठित राष्ट्रिय सभा सदस्यको रुपमा रहेर भिक्षुले लोकतन्त्र, धार्मिक समानता, लुम्बिनीको विकास र शान्तिको पक्षमा खरोरुपमा बोल्नुहुन्थ्यो । त्यसले गर्दा सत्य बोल्ने स्पष्ट वक्ताको पहिचान बनेको थियो । राष्ट्रिय सभाका सदस्यको हैसियतबाट पाउने तलब भत्ताको अधिकांश रकम पुस्तक प्रकाशन, सामाजिक सेवा, छात्रवृत्तिलगायत अनेक जनहितकारी कार्यमा खर्च गरेको महिनैपिच्छे सार्वजनिक गर्नुहुन्थ्यो ।

भिक्षुको साधारण जीवनशैली, पारदर्शिता, सामाजिक हितमा रकम खर्च गर्ने आचरण आजका जनप्रतिनिधिहरुका लागि उत्तिकै अनुकरणीय रहेको छ । भिक्षु अश्वघोषलगायतका माथि उल्लिखित व्यक्तित्वहरुको निधन भएको यस २०७५ साल स्मरणमा रहिरहनेछ । भौतिक शरीर नरहे पनि उनीहरुको योगदान, प्रतिभा, विचारले सबैलाई चिरकालसम्म डो¥याइरहनेछ । अन्त्यमा यस वर्ष निधन हुनुभएका भिक्षु अश्वघोषलगायतका व्यक्तित्वहरुप्रति हार्दिक श्रद्धाञ्जलि ।

प्रतिक्रिया दिनुहोस्