निगमको जापान उडान तयारी तीव्र



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल वायुसेवा निगमले जापान उडान गर्ने भएको छ। फेब्रअरी अन्त्यसम्म निगमले उडान गर्ने गरी गृहकार्य गरिरहेको भए पनि प्रविधिक कारणले ढिला भएको निगमले जनाएको छ।

निगमले नयाँ दुई वटा एयरबस ३३०–२०० वाइडवडी विमान यसै वर्ष ल्याएसँगै जापान, कोरिया र साउदी अरेबियामा उडान थाल्ने जनाउँदै आएको थियो। निगमले भने केही प्राविधि तयारी नपुगेको भन्दै हालसम्म नयाँ गन्तव्यमा उडान भर्न सकेको छैन।

जापानबाट वायुसेवा उडान अनुमति पत्र पाएसँगै उडान गर्ने निगमले जनाएको छ। निगमले अनुमतिपत्रको लागि सबै कागजी प्रक्रिया पूरा गरी सकेको छ, जापानबाट उडान अनुमति पत्र पाएसँगै उडान भर्ने तयारीमा रहेको निगमको भनाइ छ। चाँडै नै जापानबाट उडान अनुमति पाउने आशा निगमको छ, अनुमाति पाएको एक महिनापछि उडान भर्ने निगमको तयारी छ।

निगमले ११ वर्ष अगाडि विमानको अभाव देखाउँदै २०६४ बाट जापानमा उडान बन्द गरेको थियो। नागरिक उड््डयन प्राधिकरणले भने निगमलाई नेपालको तर्फबाट जापानको ओसाका लागिउडानको लागि वायुसेवा सञ्चालन (एओसी) अनुमति पत्र दिएको छ।

यसले निगमलाई जापानबाट पनि अनुमति पत्र पाउनको लागि सहज हुने प्राधिकरणले जनाएको छ। यसअघि निगमले उडान गरेको भए पनि हरेक दुई÷दुई वर्षमा अनुमति पत्र नवीकरण गर्नुपर्ने प्रावधान अनुसार ११ वर्षदेखि निगमले उडान नगरेकाले हालको अवस्था र कागजी प्रक्रिया पूरा गरेर अनुमति पत्र दिएको प्राधिकरणको भनाइ छ।

जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः सञ्चालन गर्ने बारे निगम र जापानी उच्च अधिकारीबीच करिब दुई महिना अगाडि छलफल भएको थियो। जापानमा उडान सञ्चालन गर्ने तयारी हुँदै गर्दा निगमको तर्फबाट जापानस्थित प्रतिनिधि (जीएसए) नियुक्ति भने गरिएको छैन। फाइल एजेन्टको नियुक्ति अन्तिम चरणमा पुगेको निगमले जनाएको छ। निगमले जापानको लागि स्टेसन म्यानेजर सन्तोष पाण्डेलाई नियुक्ति गरिसकेको छ।

नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता गत असारमा पुनरावलोकन भएको थियो। हवाई सम्झौतासँगै नेपाल र जापानबीच सातामा १४ वटासम्म उडान गर्न पाउने सहमति भएको छ। नयाँ सम्झौतामा जापानको हनेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने सम्झौतामा उल्लेख छ। यसअघि सातामा २ वटामात्रै उडान गर्न पाउने सम्झौता थियो।

वार्षिक १० हजार विद्यार्थी जापान अध्ययनको लागि जाने गरेको सरकारी तथ्यांक छ भने ८० हजारभन्दा बढी नेपाली विभिन्न पेसा व्यवसायमा आबद्ध भई जापान बसोबास गर्दै आएका छन्। सन् २०१८ मा ३० हजारको हाराहारीमा जापानी नागरिक नेपाल भ्रमणमा आएका थिए। हाल नेपाल जापान सिधा हवाई मार्गले जोडेको छैन।

निगमले चीनको ग्वान्जाओमा पनि चाँडै उडान भर्ने तयारी थालेको जनाएको छ। आवश्यक कागजपत्र पठाएर निगमले उडान अनुमतिको लागि माग गरिरहेको छ। चीनको ग्वान्जाओमा जनरल सेल्स एजेन्ट(जीएसए) नियुक्त भएर नेपालमा सम्झौता गरेर गइसकेको छ। निगमले ग्वान्जाओमा र जापानमा एकै समयमा उडान हुने गरी तयारी थालेको निगमले जनाएको छ।

निगमका उपनिर्देशक शैलेश कंसाकारलाई स्टेसन मेनेजरमा समेत नियुक्ति दिएको छ। चीनबाट पनि वायुसेवा सञ्चालन अनुमति प्राप्त गरे पछि निगमले उडानको तयारी तीव्र पार्ने जनाएको छ। निगमले उडान गर्ने भनेको साउदी र कोरियामा पनि ठोस प्रगति हुन सकेको छैन।

यसैबीच सरकारले निगमको विमान उडान रद्द प्रकरणमाथि छानविन समिति गठन गरेको छ। मंगलबार राति निगमको दुबई उडान रद्द भएको विषयमा छानविन गर्नेको लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकमा छानविन समिति गठन गरेको हो। २ सय ६० जना यात्रु र १४ जना चालक दलका सदस्य विमान उड्नै लाग्दा एक्कासी उडान रद्द गरिएको प्रति सरकारले गम्भीर चासो व्यतm गर्दै छानविन समिति गठन गरेको हो।

राज्यमन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा निगमका निर्देशक इन्जिनियर राजेश श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक विक्रमराज गौतम र प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी सदस्य छन्। समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्