रुकुमकाे जिल्ला अस्पतालमा विशेषज्ञ थपिए



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिममा रहेको जिल्ला अस्पतालमा एक मात्र डाक्टर हुँदा सेवा प्रभावकारी नभएको गुनासो बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले डाक्टर पठाएको छ । यसअघि एकजना डाक्टरको भरमा चलेको यस अस्पतालमा विशेषज्ञ डाक्टर आउँदा डाक्टरको कामको भार घट्नुका साथै बिरामीलाई सुविधा भएको हो ।

कर्णाली प्रदेश सरकारले डाक्टर अनुपमंगल समाललाई जिल्ला अस्पताल सल्लेमा पठाएको हो । यहाँको स्वास्थ्य सेवा गुणस्तरीय बनाउनुका साथै सेवाग्राहीलाई शल्यक्रिया सहितका थप सुविधा प्रदान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डाक्टर समाललाई पठाइएको छ । प्रतिष्ठानबाट उहाँ सहित एनेस्थेसिया सहायक महेश कठायत पनि आउनुभएको अस्पतालका डाक्टर आलोकचन्द्र महतोले जानकारी दिनुभयो । विशेषज्ञ डाक्टरको उपलब्धता हुँदा बिरामीलाई विशेषज्ञ सेवा र शल्यक्रियाका जिल्ला बाहिर जानु नपर्ने भएपछि स्थानीय खुसी भएका छन् ।

एमडीजीपी डाक्टर यहाँ आएपछि आकस्मिक शल्यक्रिया सहितको उपचारका लागि जिल्ला बाहिर जानुनपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुन्दर ओलीले बताउनुभयो । यसका लागि पहल गर्ने जिल्लाका जनप्रतिनिधि लगायत प्रदेश सरकारलाई धन्यवाद समेत दिनुभयो ।

विशेषज्ञ डाक्टर आएपछि सबैभन्दा बढि लाभान्वित जटिल प्रकृतिको प्रसुति सेवा लिने सेवाग्राही हुने अपेक्षा गरिएको छ । उहाँ हाजिर भएकै दिन एकजनाको शल्यक्रिया मार्फत प्रसुति गराइएको डाक्टर महतोले बताउनुभयो । यसका साथै एपेन्डीसाइटिस, हर्निया तथा हाइड्रोसिलको शल्यक्रिया समेत यहीँबाट हुने उहाँको भनाई छ । यसअघि जटिल समस्याका विरामीलाई बाहिर रिफर गर्दै आएकोमा अबदेखि त्यो समस्या नहुने अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालमा एनेस्थेसिया सहायक आएपछि शल्यक्रिया गर्न चिकित्सकलाई समेत सहज हुने भएको छ । यसअघि एकजना डाक्टरको भरमा चलेको अस्पतालले थप डाक्टर पाउँदा त्यसको भार आधाले घटेको बताइएको छ । विरामीको चाप अनुसार डाक्टरको संख्या अझै थप हुनुपर्ने अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्