माथिल्लो साञ्जेनको निर्माण अन्तिम चरणमा



?

नेपाल समाचारपत्र
रसुवा
जिल्लाको अमाछोदिङमो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको सन् २०१९ को डिसेम्बरभित्र काम सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको अहिले आयोजनाको ८० प्रतिशतभन्दा बढी काम सकिएको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख सुदनसिंह महतका अनुसार अहिलेसम्म पावर हाउसको फाउन्डेसनमा ढलान गर्नुपर्ने काम भइरहेको र सुरुङ निर्माण तथा पेनस्टक निर्माणका काम सकिएसँगै पावर हाउसको काम शुरू भएको बताउनुभयो। उहाँका अनुसार अहिले हाइड्रो मेकानिकलको काम भइरहेको छ, चैत मसान्तसम्म हेडवर्कसको काम सकिन्छ।

१४ दशमलव ८ मेगावाट क्षमताको आयोजनामा ४ सय ५० मिटर लामो पेनस्टक पाइप बिच्छाउनुपर्नेेमा हाल ४० मिटर पाइप बिच्छाइएको छ। आयोजनाको भूमिगत सुरुङ १ हजार ३ सय मिटर रहेको छ।

२०७२ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि आयोजना निर्माणका लागि हालसम्म तीनपटक म्याद थप गरिएको छ।

सिभिल कार्यमा ईसीआई बज्रगुरु जेभी, इलेक्टो मेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसन कर्पाेरेसन र हाइड्रो मेकानिकल नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडले जिम्मा पाएको छ। आयोजना प्रमुख महतका अनुसार तथा प्रसारणलाइन निर्माणतर्फ ८० , इलेक्ट्रो मेकानिकलतर्फ ६० र हाइड्रो मेकानिकलतर्फ ६० प्रतिशत काम सम्पन्न भएको छ।

इलेक्ट्रोमेकानिकलतर्फ सामग्री ल्याउने काम भइरहेको र स्लोप प्रोटेक्सन, हेडवक्र्स निर्माण तथा पिकिङ पण्ड निर्माणको काम सम्पन्न हुन लागेको छ। पावर हाउसदेखि चिलिमे हबसम्म ७ किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्छ। १ सय ३२ केभी क्षमताको प्रसारणलाइन निर्माणका लागि मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएर कार्य अगाडि बढेको छ।

प्रतिक्रिया दिनुहोस्