चीनको मेलामा जब नेपालको झण्डा फहरायो



रमेश श्रेष्ठ
नेपाल र अन्य देशको कला र संस्कृतिको आदान–प्रदानका लागि देश विदेशमा विभिन्न कार्यक्रम भइरहन्छन्। कहिले कुन देश त कहिले कुन देशमा यस्ता कार्यक्रम भइरहन्छन्। त्यस्ता धेरै कार्यक्रममा यो पंक्तिकारले अनेकन तीतामीठा अनुभव सँगालेको छ। कुनै देशमा हुने यस्ता कार्यक्रम केवल औपचारिकतामा सकिन्छन् भने कपितय कार्यक्रम नेपाललाई चिनाउने सुनौलो अवसर सावित हुने गर्छ र त्यसले विदेशी पर्यटकलाई नेपालसम्म ल्याउने काम गर्छ। यसै क्रममा हालै चीनमा एक भव्य नेपाली कार्यक्रम सम्पन्न भयो। जो यो पंक्तिकार र सहभागी नेपाली टोलीसँगै नेपालकै लागि एउटा गर्विलो क्षण सावित भएको छ।

चिनियाँ जानी–नजानी नेपाली सँगसँगै गाउने र त्यसकै तालमा नाच्ने प्रयास गर्थे। भाषा नबुझे पनि उनीहरू नेपाली गीत–संगीत र नृत्यमा रमाउँथे। तामाङ सेलो, नेवारी, झ्याउरे, टप्पा, मारुनी, सोरसीदेखि राष्ट्रिय गीतसम्मको नृत्यमा चिनियाँ रमाउँथे।

नेपाल र चीनबीचको कला तथा संस्कृति आदान–प्रदानका लागि चीनको स्छुवानको फ्लावर समुद्रमा नेपाल चिनाउने गरी नेपाल सांस्कृतिक तथा पर्यटन मेला–२०१९ भएको हो। मेलामा नेपाली कलात्मक मूर्ति, थान्का, नेपाली परिकार, परिहण, वाद्यवादन, नृत्य, संगीत जस्ता नेपाललाई नजिकबाट पहिचान दिलाउने सामग्री र पक्षहरू थिए। जहाँ नेपालका विभिन्न सामग्री तथा कला, संस्कृति झल्काउने ५० स्टल राखिएका थिए।

स्टलहरू बुद्ध, मञ्जुश्री, चन्द्र तारा जस्ता विभिन्न देवीदेवता तथा अन्य विशाल नेपाली मौलिक मूर्ति, विभिन्न मूल्य र स्तरका सुपथदेखि महँगा पस्मिनाका सामग्री, ढाकादेखि भादगाउँले टोपीसम्म, चाँदी, रत्नलगायतका विभिन्न सामग्रीका नेपाली गरगहना, नेपाली कपडाका टिसर्ट, ढाकाको सललगायतका नेपाली पहिरण, चरेशका थाल, ग्लाँस, कचौरा, सारंगी, मादल, बाँसुरी जस्ता मौलिक बाजाले सजिएका थिए भने दाल, भात, तरकारी, अचार जस्ता नेपाली जनजीवनका खानाको स्टल आकर्षण बन्न पुगेका थिए। चिनियाँ नेपाली परिकार चाख्थे र मुख मिठ्याउँथे अनि जिब्रो पड्काउँदै तारिफ गर्थे। चीनका तर्फबाट पनि विभिन्न सामग्रीका स्टल थिए।

जहाँ परिहणदेखि खानपिनसम्म थिए। जनवरी ३१ देखि फेब्रुअरी २० तारिखसम्म चलेको मेला हेर्न चिनियाँको हरेक दिन भीड लाग्थ्यो। हरेक स्टल चिनियाँको जिज्ञासा र रुचिको स्टल बन्न पुगेको थियो। उनीहरू नेपाली सामग्री देखेर मोहित हुन्थे र खरिद पनि गर्थे। कतिपय चिनियाँ दोहोर्याइतेहेर्याई पनि आउँथे। नयाँ अनुहार र दोहोर्याइतेहेर्याई आउने चिनियाँका कारण मेलामा हरेक दिन भीडभाड नै हुने गथ्र्यो। सबैभन्दा धेरै बिक्रीचाहिँ सिंगिङ बल भएको थियो। बुद्धचित्त माला, सारंगी, मादल, मुर्चुङ्गा र नेपाली पहिरणको बिक्री उस्तै उत्साहजनक थियो। सिंगिङ बल थेरापी लिनेहरू त्यतिकै थिए। एक हिसाबले नेपाली स्टलको आकर्षण बन्न पुगेको थियो यो।

चिनियाँ पर्यटकलाई नेपाल भियाउने नेपाली कला संस्कृतिबारे चिनियाँलाई नजिकबाट जानकारी उद्देश्यका साथ आयोजित मेला बिहान सबेरैदेखि मध्यरातसम्म चल्थ्यो। मेलामा बिहानैदेखि चिनियाँको आगमन शुरू हुन्थ्यो। बढीभन्दा बढी चिनियाँ साँझ परेपछि मेलामा ओइरिन्थे र मध्यरातसम्म रमाउँथे। नेपालको साइनो नेपाल कल्चर एन्ड टुरिजम प्रमोसन सोसाइटी र चीनको छन्तु वेस्याङ पर्यावरणीय कृषि कम्पनी लिमिटेडद्वारा चिनको पूर्वमुख्य शहरमा भएको मेलामा हरेक दिन स्टलमा रहेका सामग्री त आकर्षण थिए नै, दैनिकरूपमा हुने सांस्कृतिक कार्यक्रम सबैका लागि रुचि र चासोको विषय बन्न पुगेको थियो। मेला ३ चरणमा चल्थ्यो।

स्टल भने बिहानै लाग्थ्यो। ११ बजेदेखि सांस्कृतिक कार्यक्रम चल्थ्यो। १ डेढ घण्टा चल्ने सांस्कृतिक कार्यक्रम रेशम फिरिरी, त्यो पारिबाट को आयो, डाँडैमा मेला लागेछ जस्ता नेपाल चिनाउने गीतको प्रत्यक्ष वाद्यवादन धुनबाट शुरू हुन्थ्यो र मौलिक नृत्य चल्थ्यो। चिनियाँ जानी–नजानी सँगसँगै गाउने र त्यसकै तालमा नाच्ने प्रयास गर्थे। भाषा नबुझे पनि उनीहरू नेपाली गीत–संगीत र नृत्यमा रमाउँथे। साथ दिने प्रयास गर्थे। तामाङ सेलो, नेवारी, झ्याउरे, टप्पा, मारुनी, सोरसीदेखि राष्ट्रिय गीतसम्मको नृत्यमा चिनियाँ रमाउँथे। राष्ट्रिय गीतमा नेपालको झण्डा फहराउँदा नेपाली त रमाउँथे नै, चिनियाँले खुसीका साथ ताली पिटेर स्वागत गर्थे र नेपाल नेपाल भन्थे। उनीहरू मादल बोकेर बजाउने कोशिस गर्थे। कतिपय चिनियाँ मादल, सारंगी, बाँसुरी जस्ता नेपाली बाजा बजाउन सिक्नकै लागि मेला भरिरहेका थिए। सोही कार्यक्रममा चिनियाँ कलाकारहरू पनि आएर गीत गाउँथे। जादु देखाउँथे। अफ्रिकनहरू आएर, चिनियाँ, हिन्दी र अंग्रेजी गीतमा नृत्य देखाउँथे। नृत्य गर्नेहरूमा अरबियन पनि थिए।

कार्यक्रमस्थल कृत्रिम सेटमा तयार भएको थियो। जहाँ सबै सेट विद्युत्बाट तयार पारिएको थियो। जसमा घरदेखि, विभिन्न जनावर, मानिसको आकृति, फूल, बोट–विरुवा, बगैंचा जस्ता सबै सामग्री विद्युतबाट तयार पारिएको थियो। विज्ञानको यो वरदान हेरेर जो–कोही रमाउँथे। नेपाली टोलीका लागि यो नौलो विषय थियो। नेपालको स्टलका लागि बौद्ध स्तुपदेखि अन्य स्टलसम्म विद्युत्बाटै तयार पारिएको थियो।

कार्यक्रस्थल चीनको भित्री गाउँमा थियो। तर पनि मानिसको त्यहाँ ओइरो लाग्थ्यो। त्यस्तै रमाइलो माहौलमा हरेक दिन दोस्रो चरणको कार्यक्रम अपरान २ बजे शुरू हुन्थ्यो। त्यसमा पनि पहिलो चरणमा जस्तै सांस्कृतिक कार्यक्रम नै चल्थ्यो। बीच–बीचमा ब्रेक लिँदै अगाडि बढ्ने मेलाको तेस्रो चरण ७ बजेदेखि शुरू हुन्थ्यो। बिहान र दिउँसोको तुलनामा यो चरणको सांस्कृतिक कार्यक्रमका सहभागी धेरै हुन्थे। मेलाप्रतिको आकर्षण कति थियो भने मेला अवधिभर केवल ३ दिनमात्र मौसम सफा थियो, घमाइलो वातावरण थियो।

अरू दिन या त वर्षा हुन्थ्यो, या त मौसम धुमिलिन्थ्यो। तैपनि चिनियाँ नेपाली कार्यक्रम भनेपछि हुरुक्कै हुन्थे। जसका कारण वर्षात्का बेलासमेत छाता ओढेर भए पनि कार्यक्रममा सहभागी हुन्थे। धुमिलिएको मौसम पनि नेपाली स्टल र सांस्कृतिक कार्यक्रमका कारण उज्यालिएको महशुस चिनियाँ गरिरहेका थिए। धुमिलिएको मौसममा पनि उनीहरू रमाइलो मानेर नेपाली सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थे। नेपाली कार्यक्रम चलिरहँदा यहाँबाट सहभागी कलाकारहरूसँग तस्वीर खिच्न त्यत्तिकै झुमिन्थे। जसलाई हेरेर चीनका लागि नेपाली राजदूत लीलामणि पोखरेलले भने– ‘चीनमा अहिलेसम्म धेरै नेपाली प्रोग्राम भएको छ। तर, यतिको प्रोग्राम कहिल्यै भएको थिएन। यो कार्यक्रम हेरेर गर्व लाग्यो।’

पोखरेल नेपालको स्टल र कार्यक्रम हेरेर जति गदगद थिए, त्यति प्रफुल्लित नेपालको टोली थियो। किनभने यो मेलाले चिनियाँ र अन्य मुलुकका नागरिकका बीच नेपाललाई चिनाउन अर्को एउटा इँटा थप्ने कार्य गरेको महसुस टोलीले गरिरहेको थियो। मेलामा नेपालबाट ७५ जनाभन्दा बढीको सहभागिता थियो। जसमा यो पंक्तिकार अध्यक्ष रहेको निर्भाना कला केन्द्रको नृत्य, समुद्र ब्यान्डको गायन र वाद्यवादन, पाटन सिंगिङ बल एन्ड थेरापी सेन्टर र नेपाल सिंगिङ बल्स एन्ड हेलिङ सेन्टरको सिंगिङ थेरापी, नेपाल हस्तकला महासंघको मूर्ति, ढाकाका सामग्री, नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी संघको स्टल व्यवस्थापन रहेको थियो भने नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो।

मेलामा अर्जुन खड्का, शशिकला राई, गोपाल थापा, डोल्मा थापा मगर, आयुषा राई, अनिल गन्धर्व, रामकृष्ण गन्धर्व, बुद्ध गन्धर्व, शर्मिला बीसी, गोपाल थापा मगर, यो पंक्तिकारलगायतले गीत–संगीत र नृत्य प्रस्तुत गरेको थियो। मेला विनोद ओझा र युटर्नका रवि सिटौलाको संयोजनमा भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्