शिक्षामा अनियमितता: एक वर्षमै १३ करोड बेरुजु



मोतीराम तिमल्सिना, काभ्रे
शिक्षा कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा आर्थिक वर्ष २०७४÷७५ मा १३ करोड बेरुजु देखिएको छ ।

अघिल्लो वर्षमा भएको बेरुजु फछ्र्याैट हुनुको साटो करोडौै रकम बेरुजु थपिएको छ । तत्कालीन शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले शिक्षा कार्यालयमा बसेर भन्दा होटल तथा रेस्टुराँ बसेर गरेको निर्णय गरी वितरण गरेको सबै रकम बेरुजुमा देखिएको हो ।

माध्यमिक शिक्षातर्फको छात्रवृत्ति कक्षा ९ र १० मा अध्ययन गर्ने गैरआवासीय विद्यार्थीको वार्षिक १ हजार ७ सयका दरले वितरण गरिएको २६ लाख ८२ हजार ६ सय रुपियाँको बेरुजु देखिएको छ । उक्त रकम कुन–कुन विद्यालयका कति विद्यार्थीलाई वितरण गरिएको हो खुलेको छैन ।

लोपोन्मुख जातिका बालबालिकालाई दिवा खाजावापत प्राप्त हुने ६५ विद्यालयका १३ सय २७ विद्यार्थीको दैनिक १५ रुपियाँको दरले ३५ लाख ८२ हजार ९ सय रकम पनि बेरुजु देखिएको छ । कुन विद्यालयका कति विद्यार्थीका लागि उक्त रकम वितरण गरियो ? दिवा खाजा खान पाउने विद्यार्थीहरु को–को हुन् ? शिक्षा कार्यालयमा कुनै तथ्यांक छैन । कुल बजेट २५ करोड ९२ लाख २३ हजार २ सय ६ रुपियाँमा डा. गुरुङको ७ करोड ७९ लाख २७ हजार ५ सय बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७४÷७५ मा गुरुङ शिक्षा अधिकारी थिए भने नानिबाबु केसी लेखा प्रमुख थिए ।

शिक्षा कार्यालय र परिवर्तित शिक्षा विकास तथा समन्वय इकाई कार्यालय समेत गरी आर्थिक वर्ष २०७४÷७५ मा ४१ करोड ६ लाख ३५ हजार ८ सय ४३ रुपियाँ २१ पैसाको कुल बजेटमा १२ करोड ९९ लाख ८ हजार ८५ रुपियाँ बेरुजु देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको जिम्मेवारीमा रहेका फटिकबहादुर केसी, डिकबहादुर राई र लेखा प्रमुख नानिबाबु केसीले खर्च गर्न पाउने कुल बजेट १५ करोड १४ लाख १३ हजार ६ सय ३७ रुपियाँ थियो ।

उक्त बजेटमध्ये २५ विद्यालयको ४ कोठे भवन, ३७ वटा विद्यालयको २ कोठे भवन, ८१ वटा विद्यालयको मर्मत, ६० वटा विद्यालयको शौचालय मर्मत गरेको ६ करोड १५ लाख ७५ हजार निकासा गरेको मध्ये पहिलो र तेस्रो किस्ताको बेरुजु देखिएको छ । ५ करोड १८ लाख ७५ हजार बेरुजु रहेको उक्त शीर्षकमा कुन विद्यालयको काम भयो कि भएन ? के आधारमा भुक्तानी गरियो ? कागजात कुनै छैन । स्रोत व्यक्तिमार्फत ४४ हजार कार्यक्रम सञ्चालनका नाममा ८० हजार ६ सय जस्ता थुप्रै शीर्षकमा बेरुजु उल्लेख गरिएको छ ।
त्यस्तै महालेखा परीक्षकको कार्यालयबाट खटिएको लेखापरीक्षण गर्ने टोलीले जिल्लाका सबै कार्यालयहरुको लेखा परिक्षण सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्