चार बक्सर सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल बक्सिङ संघले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल चार बक्सरलाई सोमबार नगदसहित सम्मानित गरेको छ। एक्स बक्सर समूहको आर्थिक सहयोगमा संघले सोमबार पदक जित्न सफल चार खेलाडीलाई जनही २५–२५ हजार रुपियाँ नगदसहित सम्मानित गरेको हो। सम्मानित हुनेमा त्रिभुवन आर्मी क्लबकी विमला श्रेष्ठ, पुनम रावल, नेपाल पुलिस क्लबकी दिवाना शेर्मा र आर्मीका सुशील थापा छन्।

विमला श्रेष्ठले २०१८ फेब्रुअरी १ देखि ७ सम्म भएको प्रथम इन्डिया इन्टरनेसनल मेन्स एन्ड वुमन्स च्याम्पियनसिपमा ५४ केजी तौल समूहमा कांस्यपदक जित्न सफल भएका थिए। यस्तै पुनम रावलले सोही प्रतियोगिताको ६० केजी तौल समूहमा कांस्यपदक हात पारेकी थिइन्।

यस्तै दिवाना शेर्मा र सुशील श्रेष्ठले यसै साता काठमाडौंमा सम्पन्न वीर गणेशमान सिंह बक्सिङमा महिला तथा पुरुष राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका थिए। उनीहरू दुवै जना प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसमेत चुनिएका थिए। खेलाडीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, एक्स मकाउ समूहका प्रतिनिधिलगायतले पुरस्कृत गरे।

 

प्रतिक्रिया दिनुहोस्