दुर्घटनाका घाइते नेता पौडेललाई तरुण दलको सहयोग



भक्तपुर, (नेस)
सवारी दुर्घटनामा परी गम्भीर घाइते भएर लामो समयदेखि थला परेका नेपाली कांग्रेसका जिल्ला नेता रोशन पौडेललाई नेपाल तरुण दलले आर्थिक सहयोग गरेको छ। आइतबार पौडेलको चाँगुनारायण नगरपालिका–५ स्थित घरमै पुगेर तरुण दल भक्तपुरले नगद १५ हजार तथा चामल, बिस्कुट, हर्लिक्सलगायत १५ हजार रुपियाँबराबरको खाद्य सामग्री हस्तान्तरण गरेको हो।

तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले एक कार्यक्रमका बीच सो सहयोग सामग्री पौडेललाई हस्तान्तरण गर्नुभएको थियो। पाँच वर्षअघि सवारी दुर्घटनामा परेर घाइते भएका पौडेल अझै घाइते अवस्थामै हुनुहुन्छ। एउटा साथीलाई परेको अफ्ठ्यारोमा तरुण दलले सहयोग गरेर मलमपट्टी लगाउने काम गरेको तरुण दलका अध्यक्ष राजु थापाले बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, पूर्वसभापति महेश श्रेष्ठ, वर्तमान सचिव निशान ढुंगेल, पूर्वसचिव विष्णुराज कार्की, क्षेत्रीय सभापति जीवन खत्रीलगायतका पार्टी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

कार्यक्रममा तरुण दलका जिल्ला स्तरीय नेता कार्यकर्ताको समेत उल्लेख्य उपस्थिति रहेको तरुण नेता सन्तोष ढुंगेलले बताउनुभयो। नेपाली कांग्रेसका जिल्ला सभापति थापाका अनुसार पौडेलको घर भूकम्पले क्षति पु¥याएपछि रोटरी इन्टरनेसनलले बनाइदिएको थियो।

वसन्त पञ्चमीको अवसर पारेर नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल भक्तपुरले नेपाली कांग्रेस भक्तपुरका पूर्वजिल्ला सदस्य युवा नेता पौडेललाई स्वास्थ्य लाभको कामना व्यक्त गर्दै सहयोगको हात बढाएको छ। दुर्घटनामा परी हालसम्म पनि अर्धचेतमा रहनुभएका पौडेल आफूले आफैंलाई चिन्न सक्ने अवस्थामा हुनुहुन्न। उहाँको यो अवस्थाले गर्दा उनको परिवारको आर्थिक अवस्था दिनानुदिन कमजोर बन्दै छ।

पौडेलको स्वास्थ्य कामना तथा सहयोग गर्न नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा सहयोगी टोली पौडेल निवास चाँगुनारायण नगरपालिका वडा नम्बर ४ निवासमा पुगेको थियो।

युवा नेता रोशन पौडेल भक्तपुरका सक्रिय नेता हुनुहुन्थ्यो। उहाँ विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा भक्तपुरमा उत्रनुभएको थियो। निकै मिजासिला एवं लोकप्रिय नेताका रुपमा उहाँ भक्तपुरका चिर परिचित हुनुहुन्थ्यो। उहाँ भक्तपुरबाट निजी निवास चाँगुनारायण जाने क्रममा सवारी दुर्घटनामा परी सख्त घाइते हुनुभएको थियो।
दुर्घटनाबाट बाँच्ने भने सफल हुनुभएका उहाँ हाल अर्ध कोमा जस्तै अवस्थामा रहनुभएको छ। उहाँ कसैलाई पनि चिन्नुहुँदैन र हिँड्डुल पनि गर्न सक्नुहुन्न। राम्रोसँग बोल्न पनि नसक्ने उहाँका एक छोरी र एक छोरा रहेका छन्। उहाँको दुर्घटनापछि उपचारमा नै परिवारको निकै खर्च भएको तथा आम्दानीको स्रोत भने नहुँदा अवस्था हाल निकै खस्केको छ।

प्रतिक्रिया दिनुहोस्