क्रिकेटको भौतिक संरचनामा जोड देऊ



निरासा नै निरासाले मुलुक ग्रस्त भएको बेला क्रिकेट खेलाडीहरूले नेपालीहरूलाई केही समयका लागि भए पनि आशाको दियो बालिदिएका छन । हालै युएईमा सम्पन्न एकदिवसीय र टी २० अन्तर्राष्ट्रिय क्रिकेटको सिरिज जितेर नेपालीलाई एकपटक खुशी हुने मौका दिएका छन् । खेल पदाधिकारी र राजनीतिले ग्रस्त बनाएको नेपाली क्रिकेटलाई खेलाडीहरूले भने अभाव र पीडामा पनि मुलुकको प्रतिष्ठालाई भने कायम गर्दै आएका छन् ।

नेपालका लागि ऐतिहासिक मानिएको उक्त सिरिजमा सहभागी खेलाडीहरूलाई नेपालमा भव्य स्वागत मात्र गरिएन, खेलाडीको हौसला बढाउन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले व्यक्तिगतरूपमा प्रतिखेलाडी १० हजार इनामको रूपमा प्रदान गर्नुभएको थियो । सरकारले उक्त सिरिज विजेता खेलाडीलाई ५ लाख दिने तयारी गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले उक्त प्रतियोगितामा सहभागी भएर फर्केका खेलाडीलाई प्रतिव्यक्ति ५ लाख दिन सिफारिस गर्नुले तत्कालका लागि खेलाडीलाई हौसला मिल्नु राम्रो पक्ष हो । तर हाम्रो खेल संरचना हेर्ने हो भने कहाली लाग्दो अवस्था छ ।

खेल संरचनामा राज्यले ध्यान दिन नसक्दा अहिले खेलाडीहरूको अवस्था दयनीय छ । राज्यले खेल संस्थामाथि गिद्धे दृष्टि लगाउने अनि खेलाडी र खेलको संरक्षणमा उदासीन रहने प्रवृत्ति छ । यसले नेपालको खेलक्षेत्रको अवस्थालाई प्रस्ट्याएको छ । सरकारले रंगशाला निर्माणमा लगानी नगर्ने अनि खेलाडीलाई व्यक्तिगतरूपमा नगद दिएर आफ्नो बनाउन खोज्ने प्रवृत्तिको अन्त्य नभएसम्म दीर्घकालीनरूपमा मुलुकको खेलक्षेत्रको विकास हुन सक्दैन । विश्वबजारमा नेपाललाई क्रिकेटले चिनाउँदै लगेको अवस्था छ । अभाव र पीडामा पनि आफ्नो प्रतिभा देखाउँदै आएका खेलाडीको सम्मानका लागि भने पनि सरकारले भौतिक संरचनामा ध्यान दिन सके क्रिकेट खेलमाथि न्याय हुनेथियो ।

प्रधानमन्त्री केपी ओलीले घोषणा गर्नुभएको समृद्धिमा खेलक्षेत्र पनि समेटिएको थियो तर आजसम्म उहाँले खेलक्षेत्रको विकासमा कहीँ–कतै केही उल्लेख गरेको देखिँदैन । मुलुकको समृद्धिका लागि खेलक्षेत्रको भूमिका उल्लेख्य हुने भएकाले यसलाई ध्यान दिन जरुरी छ । क्रिकेटमात्र होइन, अन्य खेलको विकासका लागि पनि सरकारले ध्यान दिनुपर्छ । अहिले पनि नेपालका अन्य खेलको अवस्था सुसुप्त नै छ । सरकारले खेल संघहरूलाई आफ्नो मान्छे भर्तीकेन्द्र बनाउने तर मूलपानीको क्रिकेट रंगशालाको अवस्थामा ध्यान नपु¥याउने कस्तो विडम्बना ⁄ धुर्मुस–सुन्तलीले बनाउने घोषणा गरेको क्रिकेट रंगशालाको घोषणा गर्न प्रधानमन्त्री तत्पर हुनु तर राज्यको तर्फबाट क्रिकेट मैदान बनाउन नसक्नुले मुलुकमा राज्यभन्दा व्यक्ति ठूलो हुँदै गएको आभास हुन थालेको छ । त्यस कारण राज्यले यसतर्फ समयमा नै ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्