ढोरपाटन महिला भलिबल: आर्मी, एपिएफ र पश्चिमाञ्चल विजयी



काठमाडौँ,  चौधौँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गत आज भएका खेलमा विभागीय नेपाल पुलिस क्लबको अपराजित यात्रामा पुर्णविराम लागेको छ ।

साविकको विजेता एपिएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएपछि पुलिसको अपराजित यात्रामा पुर्णविराम लागेको हो । एपीएफसँगको हारसँगै पुलिस दोस्रो स्थानमा झरेको छ । समान २१ अङ्क भए पनि पुलिस हेड टु हेडमा एपीएफसँग पछि परेको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको खेलमा एपिएफले पहिलो सेट २५–२० ले सहजै आफ्नो पक्षमा पारेको थियो । तर, रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एपीएफले पुलिसलाई पराजित गर्न निकै संघर्ष गर्नुपर्दा ३३–३१ को कठिन जित निकाल्यो ।

तेस्रो सेट भने एपीएफले सहजै २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो । यससँगै पहिलो राउन्डको खेल सकिन लाग्दा एपिएफ लिगमा अपराजित रहने एक्लो टोली बनेको छ । यसैगरी आजै भएको अर्काे खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान बलियो बनाएको छ ।

आर्मीले पश्चिमाञ्चलमाथि २५–१२, २५–१५ र २५–२१ को सहज जित निकाल्यो । आर्मीसँग पराजित भएको पश्चिमाञ्चलले चितवन टाइगर्समाथि २५–२२, २५–५ र २५–१५ को जित निकाल्दै चौथो स्थानमा उक्लन सफल भयो । पश्चिमाञ्चलले ७ खेलबाट १३ अङ्क जोड्यो । प्रतियोगिता अन्तर्गत मङ्गलबार पहिलो चरणको एक खेलसँगै पाँच खेल हुने आयोजकले जनाएको छ । पहिलो राउण्डको अन्तिम खेलमा एपिएफ र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि आर्मी र सेव, पुलिस र चितवन टाइगर्स पश्चिमाञ्चल र श्रीगाँउ तथा एपीएफ र चितवन टाइगर्सबीच खेल हुनेछ ।

प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले रु तीन लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले रु एक लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानी दर्शकले एक÷एक स्कुटर पाउने छन् । उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान रु छ÷छ हजार प्रप्त गर्ने आयोजकले जानकारी दिए ।
रासस

प्रतिक्रिया दिनुहोस्