थाइल्यान्डमा नेपाल निरास



काठमाडौं, (नेस)
उपाधिकै दावेदारी नेपाललाई थाइल्यान्डमा भएको थाइल्यान्ड महिला टी २० स्मास क्रिकेट प्रतियोगितामा निरासा हात परेको छ ।

लगातार ५ खेल जितेर फाइनल पुगेको नेपाललाई आयोजक थाइल्यान्डले नै निरास बनाएको हो । शनिबार भएको फाइनल खेलमा थाइल्यान्डले अपत्यारिलो ब्याटिङ गर्दा नेपाल ७० रनले पराजित भयो । थाइल्यान्डले १ सय २२ रन लक्ष्य दिएको थियो । जबकी यही टोलीलाई नेपालले समूह चरणमा १९ रनको योगफलमा अलआउट गरेको थियो । फाइनलमा भने थाइल्यान्डका बलरले नेपाली टोलीलाई ५१ रनमा समेटेका थिए । समूह चरणमा नेपालले चीन, मलेसिया, युएई र थाइल्यान्ड तथा सेमिफाइनलमा इन्डोनेसियालाई हराएको थियो ।

नेपाली खेलाडीमा पूर्व कप्तान नेरी थापाले सर्वाधिक १७ रन जोडिन् । त्यस्तै सीता रानामगरले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि छुन सकेनन् । अन्यमा कप्तान रुबीना क्षेत्री बेलबासे र सरिता मगरले ५–५ रन जोडे । त्यस्तै करुणा भण्डारीले ४ रन, रोमा थापाले २ रन र काजल श्रेष्ठले १ रनको योगदान दिएका थिए । थाइल्यान्डका बलरमा सुलीपर्न लाओमीले ३ विकेट र सर्नारिन टीप्पोचले २ विकेट हासिल गरेका थिए ।

यसअघि टस जितेर नेपालले थाइल्यान्डलाई ब्याटिङको निम्तो गरेको थियो । टोलीले पहिलो ब्याटिङको भरपुर फाइदा उठाउँदै २० ओभरमा मात्र १ विकेटको क्षेतिमा १ सय २१ रन जोड्यो । नेपाली बलरमा ७ जनाले बलिङ गरे पनि विकेट हासिल गर्न सकेनन् । एक विकेट पतन भएको पनि रनआउटमा थियो । ओपनर नरुइमोल चवाईले ४२ रन जोडेर रनआउट भएकी थिइन् ।

अर्की ओपनर नात्थकन चान्थम भने ६९ रनमा नटआउट रहिन् । उनले ६७ बलमा ४ चौका प्रहार गरेकी थिइन् । थाइ ओपनरले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । त्यस्तै चानिदा सुथिरुआङ १९ रनमा नटआउट भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्