बलेफी कपः आयोजकले नै उचाल्यो उपाधी



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
प्रथम बलेफी गाउँपालिका फुटबल प्रतियोगिता २०७५ को उपाधी आयोजक बलेफी गाउँपालिकाले जितेको छ । बसन्तपुर खेलमैदानमा आइतबार सम्पन्न फाईनल खेलमा सुनकोसी गाउँपालिकालाई हराउँदै आयोजक बलेफी गाउँपालिकाले उपाधी चुमेको हो ।

बलेफी गाउँपालिकाका लागि पहिलो हाफको २१ मिनेटमा राजकुमार घिसिङले गोल गर्दै अग्रता दिलाएपछि खेलको अन्त्यसम्म बलेफीले अग्रता कायम राखेको थियो । खेलको दोस्रो हाफमा बलेफीका लागि लक्ष्मण बिक र आकाश तामाङले गोल गरे । सुनकोसी गाउँपालिकाका लागि पहिलो हाफमा कुनै गोल हुन सकेन । दोस्रो हाफको २० मिनेटका अन्तरमा सुनकोसीका तर्फबाट आवास योञ्जन र कृजल खड्काले एक एक गोल गर्दै गोलअन्तर घटाएका थिए ।

प्रथम बलेफी कप जितेसँगै बलेफी गाउँपालिकाको टीमलाई नगद एक लाख सहित शिल्ड र ट्रफी प्रदान गरियो । खेलको समापन समारोहका प्रमुख अतिथी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले विजेता र उपविजेतालाई नगद , शिल्ड , ट्रफी र प्रमाणपत्र प्रदान गरे । खेलमा सहभागिता जनाउने दश वटै स्थानीय तहको टीमलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

खेलको समापन समारोहमा बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्री, सुनकोसीका अध्यक्ष श्रवणकुमार जिसी लगायतले सम्बोधन गरेका थिए । साताअघि प्रदेश सांसद शरेस नेपालले खेलको उद्घाटन गरेका थिए । बलेफी गाउँपालिकाको आयोजना तथा जिल्ला फुटबल संघको सहआयोजनामा आइतबारदेखि खेल सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्