धौलागिरीका ५२ वटा वडा सुन्तला उत्पादनको सुपर जोन



नेपाल समाचारपत्र, पर्वत
पश्चिमाञ्चलमै सबैभन्दा स्वादिलो सुन्तला फल्ने पर्वतको बाँसखर्क सहित तीन जिल्लाका ५२ वडा समेटेर सुन्तला उत्पादनको पकेट क्षेत्र(सुन्तला सुपर जोन) बनाइएको छ ।

पर्वतको जलजला गाउँपालिका, म्याग्दीको बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मालिका गाउँपालिका, बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेटेर सुन्तला जोन बनाउन लागिएको हो ।

पर्वतको जलजलाबाट वार्षिक ४ करोडको सुन्तला उत्पादन हुन्छ । म्याग्दीको बेनी, मालिका, रघुगंगा, अन्नपूर्ण र मंगलाबाट वार्षिक १२ करोडको सुन्तला उत्पादन र बिक्री हुन्छ । बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाबाट ८ करोडको सुन्तला बिक्री हुनेगरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वत, म्याग्दी र बागलुङका सातवटा स्थानीय तहका ५२ वडा समेटेर जोन कार्यान्वयन हुन लागेको कृषि ज्ञानकेन्द्र पर्वतले जनाएको छ । कार्यक्रमअन्तर्गत जोन कार्यान्वयन हुनका लागि कम्तीमा ५ सय हेक्टर जमिनमा खेती गरिएको हुनुपर्छ । तीन जिल्लाका ५२ वडामा करिब १ हजार ५ सय हेक्टरमा खेती गरिएको अनुमान छ ।

जोन कार्यान्वयन गर्न हालै म्याग्दीको बेनीमा सुन्तला जोन कार्यान्वयन इकाइ कार्यालय सञ्चालनमा ल्याइएको छ । इकाइ प्रमुख वरिष्ठ कृषि अधिकृत बमबहादुर थापाका अनुसार सुन्तला जोन ८ वर्षसम्म सञ्चालन हुनेछ । ‘भर्खरै कार्यक्रम सुरु भएकाले तथ्यांक लिने काम गरिरहेका छौं,’ उनले भने, ‘आगामी वर्षदेखि क्षेत्र विस्तारका काम गर्नेछौं ।’

जोनमा म्याग्दीको बेनी नगरपालिका, रघुगंगा, मंगला, अन्नपूर्ण र मालिका गाउँपालिका, बागलुङ जिल्लाका बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका तथा पर्वतको जलजला गाउँपालिकाका ५२ वटा वडालाई समेटिएको छ । कार्यक्रममार्फत नर्सरी स्थापना, बिरुवा उत्पादन, प्राविधिक सहयोग, कृषि बजार केन्द्र स्थापना, प्रशोधन केन्द्र, संकलन तथा ग्रेडिङ गर्ने गोदाम, सिँचाइ, कृषि औजार, यन्त्र उपकरण, प्रदर्शनी र बजारीकरणलगायतका क्षेत्रमा सहयोगका कार्यक्रम छन् ।

सुन्तलाको व्यावसायिक खेतीमा लागेका यस क्षेत्रका कृषकहरु सुपर जोन बनाउने प्रयास भएकोमा उत्साहित छन् । जलजला–१ बाँसखर्कका भक्तबहादुर पाइजाले सरकारले अनुदान, बजारीकरणको व्यवस्थासँगै कोल्ड स्टोरको व्यवस्था गर्ने हो भने सुन्तलाले प्रदेशको अर्थतन्त्रमा सहयोग पुग्ने दाबी गरे । ‘यहाँका सुन्तला ३ र ५ नम्बर प्रदेशमा पनि बिक्ने गरेका छन्,’ उनले भने, ‘उत्पादन बढाउन सके अरु प्रदेशमा पनि पठाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्