रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सफल परीक्षण



बेइजिङ (एजेन्सी)
चीनले रुसबाट प्राप्त गरेको एस–४०० क्षेप्यास्त्र हवाई रक्षा प्रणालीको सफल परीक्षण गरेको छ । अमेरिकाको तर्फबाट प्रतिबन्ध लगाउने आसंकाका बावजुद हालै मात्र भारतले पनि उक्त क्षेप्यास्त्र रक्षा प्रणालीका लागि रुससँग सम्झौता गरेको छ ।

चिनियाँ सेनाले सन् २०१५ मा भएको ३ अर्ब डलरको खरिद सम्झौतापछि रुसबाट गत जुलाइमा उक्त प्रणालीको अन्तिम खेप प्राप्त गरेको थियो । त्यसपछि चीनद्वारा गरिएको उक्त प्रणालीको यो पहिलो परीक्षण हो ।

चीनको पिपल्स लिबरेसन आर्मीले गत महिना एस–४०० हवाई रक्षा क्षेप्यास्त्र प्रणलीको सफल परीक्षण गरेको हो । यसले ३ किलोमिटर प्रतिसेकेन्डको सुुपरसोनिक बेगमा करिब २ सय ५० किलोमिटरको दुरीमा रहेको एक ‘नक्कली ब्यालिस्टिक क्षेप्यास्त्रलाई निसाना बनाएको रुसी सन्चार माध्यमलाई उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

भारतले पनि उक्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिदका लागि गत अक्टोबरमा रुससँग ५ अर्बको खरिद सम्झौतामा हस्ताक्षर गरेको थियो ।

अमेरिकाको संसदद्वारा पारित नाकाबन्दी सम्बन्धि एक कानुनले रुससँग हतियार किन्ने देशमािथ प्रतिबन्ध लगाउने उल्लेख गरेको छ । भारतले विशेष गरि चीनसँगको आफनो ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमामा आफनो हवाई रक्षा तन्त्रलाई बलियो पार्न रुस निर्मित लामो दुरीको जमिनबाट आकासमा प्रहार गर्ने अत्याधुनिक एस–४०० प्रणाली हासिल गर्न चाहेको छ ।

यो प्रणाली जमिनबाट आकासमा प्रहार गर्ने ७२ क्षेप्यास्त्रसँगै ४ हजार ८ सय मिटर प्रतिसेकेन्डको बेगले समानान्तर रुपमा सँग सँगै ३६ लक्ष्यलाई निसाना बनाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्