भगौडाहरूको निजी सूचना चुहियो



सोल, (एजेन्सी)
उत्तर कोरियाबाट भागेका करिब एक हजार जनाको कम्प्युटरका निजी डाटा चुहावट भएको छ। दक्षिण कोरियाली एकीकरण मन्त्रालयले शुक्रबार सोलको एउटा पुनर्वास केन्द्रमा एउटा कम्प्युटर ह्याक भएपछि ती तथ्यांक सार्वजनिक भएको जनाएको छ।

उत्तर सरकारी केन्द्रमा राखिएको एउटा निजी कम्प्युटरमा एक खतरनाक कोड संक्रमित भएको देखिएको बताइएको छ। एकीकरण मन्त्रालयले यति ठूलो परिमाणमा उत्तर कोरियाली भगौडाहरूसम्बन्धी सूचना चुहावट भएको सम्भवतः यो पहिलो घटना भएको पनि जनाएको छ। ह्याकरको परिचय र साइबर आक्रमण गरिएको स्थानको अझै पहिचान भइनसकेको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

दक्षिणकोरियामा अहिलेसम्म करिब ३२ हजार उत्तर कोरियाली भागेर आइपुगेका छन्। यस्ता भगौडाहरूलाई मदत गर्ने उद्देश्यले खोलिएका २५ वटा संघसंस्थामध्ये यो घटना घटेको नर्थ ग्येओङसाङ पुनर्वास केन्द्र पनि एक हो।

प्रतिक्रिया दिनुहोस्