ग्रीनविचको साँझमा छविरमण



शरद श्रेष्ठ
व्यापार–व्यवसायमा संलग्न रहेर पनि निरन्तर साहित्यिक सेवा तथा सिर्जनामा आफूलाई समर्पित तुल्याउन जानेका छविरमण सिलवालले कवितामा आफ्नो स्थापित नाम बनाएर साहित्यिक टिप्पणीमा, लेख–रचना र कथा लेखनमा समेत आफूलाई देखाउन सफल युवा साहित्यकारका रूपमा सुपरिचित छन्। यिनका हालैमात्र शाब्दिक बुक्सबाट प्रकाशित नियात्रा कृति ‘ग्रीनविचको साँझ’ ले यिनलाई नियात्राकारका रूपमा पनि चिनाएका छन्। यिनै छविरमणले नियात्रामा आफ्नो छुट्टै खालको अनुहार देखाएका छन्।

नियात्रा लेख्नु धेरै गाह्रो सिर्जनशील लेखन कार्य हो। विवरण मात्र लेखेर, डायरीमा कथेर नियात्रा हुँदैन। नियात्रा कृति बन्न त धेरैथोकको संयोग मिल्नुपर्छ। निबन्धको भावभूमिमा टेकेर नियात्रा लेख्न सक्दा मात्र नियात्राकारको सफलताको आंकलन हुने गर्छ। छविले यस्तै भावभूमि आफ्नो कृतिमा लेखेर नियात्रा बनाएका छन्। मुख्यतया यिनले बेलायत घुमेका प्रसङ्गहरू मनोरम ढङ्गले प्रस्तुत गरेका छन्। १० शीर्षकमा बेलायत घुम्दाका कुराहरू यस पुस्तकमा समेटिएका छन्।

हतारको बेलायत यात्रामा कृष्णजीले कारबाट विजय सापकोटाको घर पुर्याइदिएको र आज त्यतै बस्ने भन्दै ‘यहाँ रोबोटजस्तो जिन्दगी हुन्छ छविजी, त्यसैले सबै कुरा मिलाउनुपर्छ’ भनी उनले बेलायतमा आफूलाई थन्क्याइदिँदाका कुराहरू यस कृतिमा पोखिएका छन्। ‘लन्डनको पहिलो यिनको रमाइलो घुमघाम’ मा यिनले लन्डनको परिवेश नियालेर दङ्ग पर्दै लेखे– ‘मान्छेहरूको भीड उत्तिकै भए पनि फोहोर कतै देखिँदैन। मैले सम्झेँ, नेपालमा भएको भए के दशा हुन्थ्यो होला ? हाम्रो बानी नै खराब छ।’ लन्डन घुमेर यिनले आफ्नो नेपाली मन दुखाएका छन्। नेपाली हुनुको पीडा अरूबाट हेपिनु हो। बेलायतमा पनि भारतीयहरूले हेप्ने गरेका सन्दर्भहरू ‘वेम्ली स्टेडियममा एक फन्को’ मा उनले लेखेका छन्– ‘विशेष गरी भारतीय मूलका अलिकति सम्पन्नहरूले नेपालीलाई हेप्ने गर्छन् भन्ने कुराहरू त्यहाँ भए।’ यसै गरी नेपालीहरू हेपिनुमा नेपाली आफैंले गर्दा नै हो, उनी सन्दर्भमा उल्लेख गर्दै लेख्छन्– ‘नेपालीलाई सबैभन्दा बढी हेप्ने त नेपालीले नै हो।’ ‘ग्रीनविचको साँझमा’ यिनी टेम्स नदी घुम्छन्। त्यहाँको फराकिलो, सफा नदीमा ठूला–ठूला जहाज र ठूला डुङ्गा पनि चलेको हेरेर यिनी दङ्गमात्र छैनन्, आफ्नो देशको वाग्मती नदीलाई सम्झेर खिन्न छन्।

दिनभर घुमेका दृश्य–विम्बहरूलाई यिनले क्यामडेन टाउन र रेजेन्ट पार्कमा, सेक्सपियरको जन्मस्थलमा पुगेका कुराहरू मात्र छैनन् यस नियात्रा कृतिमा, नेपालीहरूले मनाउने तीजका कुराहरू, गणेश चौथीमा काँक्रा खाँदाका झल्को दिने सम्झनाहरूका साथै विजय सापकोटा र कृष्ण बजगाईंसँग घुम्दाका यात्रा–प्रसङ्गहरूमा आत्मीयता साटेका र बेलायत घुमेका आठ दिनका चर्चा–परिचर्चाहरू छन्। यस नियात्रा पुस्तक लेखेर छविले आफूलाई नियात्राकारका रूपमा चिनाएका छन्– पुस्तक लेखनका लागि बधाई छ।

प्रतिक्रिया दिनुहोस्