शेर्पाको विषय अझै भएन निर्णय



नेपाल समाचारपत्र
काठमाडौं । मानव तस्करको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई राजदूतको जिम्मेवारीमा निरन्तरता दिने वा पदमुक्त गर्नेबारे सरकारले अझै ठोस निर्णय गर्न सकेको छैन ।

शेर्पाबारेको छानविन अघि बढाएको परराष्ट्र मन्त्रालयले यस बारेमा अझै ठोस निर्णय लिन बाँकी रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनु भएको छ । ‘उहाँ (शेर्पा)को विषयमा छानविन समितिले आन्तरिक छानबिन गरिरहेको छ, हामी अध्ययनकै क्रममा छौ, मंगलबार अपरान्ह्र मन्त्री ज्ञवालीले सञ्चारकर्मीहरुसँग भन्नुभयो–‘सबै सत्य तथ्य बुझेर आवश्यक निर्णयमा पुग्छौ ।’

राजदूत शेर्पाकै सवारी चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि उहाँ विवादमा तानिएपछि परराष्ट्रले छानविन अघि बढाएको छ । परराष्ट्रका प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको नेतृत्वमा सोही मन्त्रालयका सहसचिवद्धय तापास अधिकारी र दीपक अधिकारी संलग्न समितिले शेर्पाबारे छानबिन गरिएको छ ।

नेपाल–अस्टे«लिया सम्बन्धमा असहज परिस्थिती सिर्जना नहोस भनेर शेर्पालाई काठमाडौं बोलाएर छानविन अघि बढाइएको परराष्ट्रका अधिकारीले बताए ।
आइतबार काठमाडौं आए लगत्तै मन्त्रालयमा हाजिर भएकी शेर्पाले सोही दिन समितिलाई बयान दिदै आफूमाथि लागेको आरोपको खण्डन गर्नुभएको थियो । सवारी चालक शेर्पाको आचरण खराब रहेको, दूवातासका महत्वर्पूण सामग्री चोरी र हिनामिना गरेको, अस्टे«लियाको स्थायी बसोबासका लागि अनियमित ढंगबाट प्रकृया अघि बढाएको दूतावासको तर्क छ ।

यसै वीच हालै काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक सम्मेलन नेपालकै हितमा भएको, सञ्चारमाध्यममा समाचार सम्प्रेषण भए अनुसार गलत नभएको मन्त्री ज्ञवालीले दावी गर्नु भएको छ । आर्थिक वर्ष सन् २०१७–१८ को वार्षिक गतिविधि समेटिएर परराष्ट्रले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरेको सञ्चारकर्मीसँगको जमघटमा उहाँले भन्नुभयो–‘सम्बन्ध, सम्पर्क बढाउन नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सम्मेलन सफल भएको छ ।’

वैदेशिक लगानी भित्र्याउन, पर्यटन प्रवद्र्धन गर्न, र सन् २०२०को नेपाल भ्रमणवर्ष सफल बनाउन सम्मेलन उपयोगी भएको उहाँको भनाई थियो । ‘कसैलाई कुनै व्यक्ति, संस्था वा सरकार मन परेन भन्दैमा सम्मेलन खराब हो भन्न मिल्दैन, सबै धर्म मान्ने राजनेताहरुको महत्वर्पूण उपस्थिती सम्मेलनमा रहेको प्रष्ट छ’–ज्ञवालीले भन्नुभयो ।

मंगलबार सार्वजनिक गरिएको प्रतिवेदनमा २०७४ साउन १ गतेदेखि २०७५ असार मसान्तसम्मको गतिविधि समेटिएको छ । सो अवसरमा बोल्दै परराष्ट्र सचिव शंकरदास वैरागीले प्रतिवेदनमा बर्षभरिका परराष्ट्र मामिला सम्बन्धी गतिविधि समेटिएको बताउँदै भन्नुभयो–‘ प्रतिवेदन परराष्ट्रको महत्वर्पूण संस्थागत अभिलेख बनेको छ, अहिलेको प्रतिवेदन गत वर्षको भन्दा परिस्कृत छ ।’ प्रतिवदेनमा छिमेकी र अन्य मुलुकसँगको सम्बन्ध, अहिलेसम्म प्राप्त उपलब्धी, क्षेत्रिय तथा बहुपक्षिय फोरममा नेपालको उपस्थिती, आर्थिक कूटनीति, श्रमगन्तव्य मुलुकसँगको सम्बन्ध र सुधारका लागि भइरहेका प्रयासलाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्