प्रधानन्यायाधीश छान्न बनेको बैठक निष्कर्षविहीन, अर्को बैठक २२ गते



काठमाडौं । भावी प्रधानन्यायाधीश सिफारिसका लागि आज (सोमबार) बसेको बैठकमा चोलेन्द्र शमशेर राणा वा दीपकराज जोशी कसलाई सिफारिस गर्ने भन्ने विषयमा सहमति हुन नसकेपछि संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ । अर्को बैठक मंसिर २२ गते बस्ने भएको छ । न्याय परिषद्ले जोशीलाई पहिलो नम्बर र राणालाई २ नम्बरमा राखेर परिषद्मा पठाएको थियो ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एक घन्टा चलेको थियो। तिमिल्सिनाले पार्टीको केन्द्रीय समिति बैठकलाई देखाएर प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले हतारो व्यक्त गरेका कारण बैठक टुंगोमा नपुगेको बताए। ‘अर्को बैठकबाट हामी टुंगो लगाउनेछौं’, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने।

न्यायपरिषद्ले प्रधानन्यायाधीश नियुक्ती सिफारिस गर्न २ जनाको नाम संवैधानिक परिषदमा पठाएको थियो। केही समयअघि न्यायपरिषद् सचिवालयले दीपकराज जोशी र अर्का न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम र अभिलेख पठाएको हो। पुस १६ देखि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकास पाउँदैछन्।

उनले अवकास पाउनुभन्दा १ महिनाअघि नै संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संविधानमा उल्लेख छ। संविधानले परिकल्पना गरेका मधेसी, थारू, समावेशी आयोगसम्बन्धी कानुन निर्माण भएको लामो समय भए पनि नियुक्ती हुन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्