अफिस होस् वा राजनीति आदर्श गाइडका रूपमा प्राचीन नीति



रोहिणी घिमिरे
पालमा यतिखेर न सच्चा राज्य सञ्चालक छन्, न त सच्चा सल्लाहकार नै ? प्रायः सबै व्यक्तिगत लाभ र दलगत स्वार्थमा डुबुल्की मार्ने गरेका देखिन्छन्। त्यसैले यतिखेर अधिकांश जनता राज्य सञ्चालकहरूप्रति रुष्ट देखिएका छन्। जनतालाई दबाएर भन्दा उनीहरूलाई खुशी पारेर राज्य सत्ता लामो अवधिसम्म टिकाउन सकिन्छ भन्ने प्राचीन नीतिलाई खोई आत्मसात् गरेको राज्य सञ्चालकहरूले ?

प्राचीनकालका ऋषि–महर्षि, आचार्य एवम् सल्लाहकारहरूले राज्य सञ्चालनमा राजालाई हृदयदेखि नै सल्लाह–सुझाव दिन्थे। राजा–महाराजाहरूले पनि उनीहरूका सुझावलाई आत्मसात् गर्थे। यस्ता सुझाव जनताका हितका खातिर हुने गर्थे। त्यसैले त्यस बेलाका राज्य समृद्धशाली हुन्थे। जनता पनि राजाप्रति नकारात्मक भावना राख्दैनथे। नेपालको परिप्रेक्षमा हेर्दा यो अवस्था लिच्छविकालसम्म थियो। तर अहिले यसको उल्टो देखिएको छ। सल्लाह–सुझाव दिनेहरू जनताका खातिर नभएर आफ्नो स्वार्थ अनुकूल राष्ट्र सञ्चालकलाई सल्लाह दिने गर्छन्। राष्ट्र हाँक्नेहरू पनि त्यस्तैका कुरालाई प्रश्रय दिने गर्छन्।

राजालाई राज्य सञ्चालनमा सहयोग पुगोस् भनेर हज्जारौं वर्षपहिले आचार्य शुक्रले शुक्र नीति र आचार्य चाणक्यले चाणक्य नीतिको रचना गरेका थिए। हज्जारौं वर्षअघि प्रतिपादित यी नीतिहरू अहिले पनि राज्य सञ्चालकहरूका लागि आदर्श गाइडका रूपमा चिनिएका छन्। अहिले खै यी राज्य सञ्चालकहरूले मुलुक हाँक्न सहयोगी भूमिका निभाउने प्राचीन नीतिहरू पढेर त्यसको अनुशरण गरेको ? खाली कसरी सत्ता हत्याउने भन्ने कुरा मात्र पढे, सिके तर हात लागेको सत्ता कसरी सञ्चालन गर्ने भन्ने कुरा पढ्न, जान्न र सुन्न किन नचाहेनन् ?
राजकुमारलाई सपार्ने हितोपदेश ः

प्राचीन ग्रन्थ हितोपदेशमा उल्लेख भएअनुसार कुनै बेला एक राजाका छोरा कुसंगतले बिग्रिएका थिए। उनी भविष्यमा राज्य सञ्चालन गर्न सक्ने योग्य भएनन्। एक विद्वान्ले अनेक भूमिका, कथा, उपकथा र नीतिका कुरा सिकाएर ती राजकुमारलाई ६ महिनामै सत्पात्र र कुशल राज्य उत्तराधिकारी बनाउन सफल भए। ती राजकुमारलाई पढाउने क्रममा हितोपदेश नामको नीतिशास्त्र नै प्रतिपादन भयो।

बिग्रिएका मूर्ख राजकुमारलाई पनि विद्वान् र कुशल राज्य सञ्चालक बनाउन सक्ने हितोपदेशको अध्ययन अहिले किन गरिँदैन ? प्राचीनकालमा प्रतिपादित यस्ता नीति एवम् शास्त्रहरूले कर्मचारी हुन् वा राजनीतिज्ञ सबैलाई कुशल प्रशासक बन्न धेरै मद्दत पुर्याउने हुन्छ।

समृद्ध नेपाल बनाउनु छ भने आदर्श गाइडका रूपमा रहेका प्राचीन नीतिशास्त्रहरूमा उल्लिखित कुराहरूको पनि अवलम्बन गर्न सिकौं।

शासकलाई गाइड गर्ने चाणक्य नीति ः
हज्जारौं वर्षअघि महर्षि चाणक्य तक्षशिला गुरुकुलमा अर्थशास्त्रका आचार्य थिए। उनी राजनीति र कूटनीतिमा प्रखर विद्वान् थिए। उनीद्वारा रचित चाणक्य नीतिको अनुशरण राज्य सञ्चालनमा होस् वा अफिस सञ्चालनमा, सधैँ उपयोगी देखिन्छ। अहिले पनि उनका कतिपय नीतिले जिन्दगी नै बदल्न सक्ने बताइन्छ। यदि कोही राजनीतिमा अगाडि आउन चाहन्छ अथवा कुनै पनि अफिसमा कार्य गर्छ भने उसका लागि चाणक्य नीतिको अध्ययनले ठूलो सफलता मिल्नेछ।

चाणक्य नीतिमा उल्लिखित एक अंश यस्तो छ– ‘कुनै काम शुरू गर्नुअघि तीन कुरा सोच्नुस्– म यो किन गरिरहेको छु ? यसको परिणाम के हुन्छ ? के यो काम सफल हुन्छ ? यी प्रश्नको जवाफ मनले सन्तोषजनकरूपमा दियो भने मात्र काम शुरू गर्नुस्।’

एउटा सानो उदाहरण हेरौं, माथि बताइएका तीन कुरा नसोची बलपूर्वक पशुपतिनाथका भट्ट र मुलुकका प्रधानसेनापतिलाई चलाउँदा तत्कालीन प्रधानमन्त्री प्रचण्ड सफल हुन सकेनन्। प्रधानमन्त्री प्रचण्डले म यो किन गरिरहेको छु, यसको परिणाम के आउला, सफल हुन सकौंला र ? भन्ने कुरा मनन नै नगरी आफ्नो प्रभुत्व दर्शाउन जबरजस्ती गर्न खोजेकाले यसपटक उनी असफल नै भए। सफल नहुने देखेर पछि पुनः यस कार्यमा हात नै हालेनन्।

‘एकपटक असफल भइयो भन्दैमा कुनै पनि कार्य गर्न नरोक, असफलतादेखि नडराई दोस्रोपटक सो कार्य गर।’ यो चाणक्य नीतिको अर्को एक अंश हो। यसमा पनि तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डकै उदाहरण दिन सकिन्छ। माओवादी जनयुद्ध शुरू गरेपछि कतिपटक सरकारी पक्षले दमन गरेर माओवादीलाई सिध्याउनै खोज्यो। तर कतै–कतै हार खाए पनि प्रचण्डको नेतृत्वले आफ्नो कार्य छोडेन। फलस्वरूप ऊ सत्तामा आउन सफल भयो। एकपटक असफल हुँदैमा हरेस खानुहुँदैन भन्ने कुरा चाणक्य नीतिले राम्रोसँग दर्शाएको छ। तर अहिले यहाँ यो नीति लागू भएको देखिँदैन। एकपटक गरेको कार्य असफल भएमा पुनः पहल नगरेको र निर्णयहरू आफैंले उल्ट्याएको पनि देखियो। यसो हुनु भनेको राज्य कमजोर हुनु हो।

‘कसैलाई पनि आफ्नो गुप्त कुरा नबताउनुस्, यो ठूलो गुरुमन्त्र हो। यदि बताइयो भने यसले आफ्नो विनाश गर्न सक्छ।’ चाणक्यको यो नीतिको वास्ता नहुँदा राज्यको अवस्था दयनीय बन्न पुग्यो। आफू ठूलो बन्नका लागि राज्यका गोप्य कुरा बाहिर पुग्नाले नै बाहिरी मुलुकबाट यहाँ फुट ल्याउने षड्यन्त्र भयो। चाणक्य नीतिबाट यस्ता धेरै कुरा शिक्षा लिन सकिन्छ। जस्तै– ‘कुनै पनि मित्रतामा कुनै न कुनै स्वार्थ लुकेको हुन्छ, स्वार्थहीन मित्रता हुन सक्दैन। अर्काले गरेको गल्तीबाट पाठ सिक्नुस्, तपाईं पूरा जीवनभर आफ्नो गल्तीबाट सिक्न सक्नुहुन्न। अत्यधिक इमानदार हुनु पनि ठीक होइन, याद गर्नुस् कि सीधा ठडिएको रुख सबभन्दा पहिले काटिन्छ।’

चाणक्यले आर्थिक नीतिसम्बन्धी पनि थुप्रै कुरा उल्लेख गरेका छन्। उनको आफ्नै कुरा गर्दा, उनी आफ्नो कार्यकक्षमा बसेर सरकारी काम गरिरहेका थिए। त्यही समय एक व्यक्ति नितान्त व्यक्तिगत भेटघाटका लागि आयो। चाणक्यले सरकारी तेलको बत्ती निभाएर आफ्नै परिश्रमले जुटाएको तेलको अर्को बत्ती बाले। किनकि सरकारी खर्च सरकारी कामका लागि मात्रै गर्नुपर्छ भन्ने उनको नीति थियो। तर हाम्रा राज्य हाँक्नेहरूले गर्ने सरकारी खर्च के–केमा हुने गर्छ भनेर हेर्ने हो भने जिब्रो काढ्नुपर्ने हुन्छ।
राज्य सञ्चालन गर्न सिकाउने शुक्र नीति ः

यस्तै शुक्र नीतिमा वर्णित राज्य सञ्चालनसम्बन्धी अनेक विषयहरू आज पनि प्रासंगिक र सान्दर्भिक छन्। यसमा राजा अर्थात् राज्य सञ्चालकलाई राज्य गर्न सिकाइएको छ। राज्यको प्रयोजन, राज्यसत्तामा नियन्त्रण आदि सैद्धान्तिक पक्षका साथ दण्ड वा न्यायिक प्रक्रिया, राज्यको प्रशासन, राज्यको सुरक्षा, अन्तर्राज्य सम्बन्ध आदि राज्यका व्यावहारिक पक्षको समेत यसमा विवेचना गरिएको छ।

राजा अर्थात् राज्य सञ्चालकलाई प्रजाका सेवक मानिएको छ। प्रजा–पालनको दायित्व राजामा हुने बताइएको छ। शुक्रनीतिमा अपराध र दण्डलाई निकै महत्वका साथ चर्चा गरिएको छ। तर अहिले यहाँ दण्डहीनताले प्रश्रय पाएको छ। जब दण्डहीनता हुन्छ, तब अपराध बढ्छ। जब अपराध बढ्छ, त्यहाँ धनसम्पत्ति र नागरिकको असुरक्षा हुन्छ। साथै जनता गरिब तर राजनेताहरू धनी हुन्छन्। राजनेता धनी तर जनता गरिब हुनु भनेको राज्य कमजोर हुनु हो।

अहिले मुलुकमा यही भइरहेको देखिन्छ। त्यसैले प्राचीन नीतिका कतिपय कुरालाई राज्य सञ्चालकहरूले अहिले पनि ग्रहण गर्न सक्नुपर्दछ। आफूभन्दा जनतालाई बलियो बनाउन सक्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्